पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०८१
pcci

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ ।

शुक्रबार पोखराका मेयर धनराज आचार्यले अधिवेशने उद्घाटन गरेका हुन् । उनले महानगरपालिका उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताए । ‘पोखराको व्यवसाय प्रवद्र्धन गर्न र बजारलाई चलायमान बनाउन महानगरपालिका तपाईंहरुको साथमै छ,’ उनले भने, ‘अहिले जुन समस्या छ, यसलाई निराकरण गर्नका लागि नयाँ टिमले प्रस्ताव लिएर आयो भने सहकार्यका लागि तयार छ । संघले गर्ने हरेक गतिविधिमा महानगरले साथ दिन्छ ।’ उनले संघको भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने वचन पनि दिए । देशमा भएको बेरोजगारी समस्या हल गर्नका लागि महानगरले रोजगार प्रवद्र्धन केन्द्र नै सञ्चालनमा ल्याएको र त्यसमा पोखरा र लेखनाथ उद्योग वाणिज्य संघको अपनत्व हुने गरी निर्देशक समितिमा सदस्य बनाइएको उनको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले देशको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेको बताए । ‘उद्योगी व्यवसायीले काम गर्न नसक्दा राजस्व समेत खस्किएको छ । त्यसका लागि सरकारले आवश्यक नीति सुधारमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘निजी क्षेत्र चलायमान नहुँदासम्म देशको अर्थतन्त्र सुधारिँदैन । सरकारको ध्यान बेलैमा जाओस् ।’ उनले बिमाको प्रिमियम शुल्क बढी भएको गुनासो व्यवसायीले गरेकाले सरकारसँग समन्वय गर्ने सुनाए । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यावसायिक संघ संस्था कमजोर हँुदा सरकारले निजी क्षेत्रमाथि दबाब सिर्जना गर्ने बताए । उनले पछिल्ला वर्षहरुमा करको भार थप्दै लगेकोमा ध्यानाकर्षण गराए । ‘जबजब उद्योगी व्यवसायीका संस्था कमजोर हुन्छन्, सरकारले करको भार थप्न थाल्छ,’ उनले भने, ‘हामी हाम्रो अधिकारका लागि पनि एकजुट हुन जरुरी छ ।’ आम्दानी बढाउन सरकारले निजी क्षेत्रमाथि थप कर लगाएको उनले बताए ।

करिब २९ सय सदस्य हरेको संघमा शनिबार बिहान ८ देखि मतदान हुने

शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको छ । संघको नेतृत्वको लागि अर्जुन पोखरेल र गोकर्ण कार्की प्रतिस्पर्धामा छन् । पूर्व महासचिव समेत रहेका पोखरेल यसअघि ३४ औं महाधिवेशनमा अध्यक्षमै पराजित भएका हुन् । कार्की वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत् छन् ।

चुनावमा पोखरेल आफ्नो प्यानलसहित होमिएका छन् । अघिल्लो कार्यसमितिका पदाधिकारीलाई सम्हाल्न नसक्दा कार्की भने एक्लै चुनावमा छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध निर्वाचित भैसकेका छन् । अब पदाधिकारीतर्फ अध्यक्षसहित उपमहासचिवमा मात्रै मतदान हुनेछ । उपमहासचिवमा पोखरेल प्यानलबाट बालकृष्ण कोइराला प्रतिस्पर्धामा छन् भने हालका सदस्य सुदीप प्रधानाङ्गले उनलाई चुनौती दिएका छन् ।

पोखराको सबैभन्दा जेठो संस्था पोखरा उद्योग वाणिज्य संघमा कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । कार्यसमितिको पदाधिकारीमा अध्यक्षसहित ७ जना, सदस्यतर्फ खुला १०, वस्तुगत ४, एसोसियट २ र उद्योगतर्फ १ सदस्य निर्वाचित हुने व्यवस्था रहेको अध्यक्ष पवन प्रजापतिले बताए । उनका अनुसार संघमा हाल करिब २ हजार ९ सय ७ सदस्य छन् । गैह्रापाटनस्थित उद्योग वाणिज्य संघ परिसरमा शनिबार बिहान ८ देखि साँझ ५ बजेसम्म मतदानको समय तालिका निर्धारण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै