‘रमाउन नसक्नेले राजनीति नगर्नू’

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०८१
bp chintan

पोखरा । नेपाली कांग्रेसका नेता डा. सशांक कोइरालाले राजनीति रमाउनेहरुको लागि मात्रै उचित हुने बताएका छन् । उनले रमाउन नसक्ने मान्छेले राजनीति नगर्न सुझाए । ‘जो रमाउन सक्दैन, त्यसले राजनीति नगरे हुन्छ,’ अघि भने, ‘म चाहिँ आजकल रमाइरहेको छु किनभने सोच्छु एउटा कुरा हुन्छ अर्कै कुरा ।’

उनले राजनीति कहिलै आफ्नो वशमा नहुने बताएका छन् । डाक्टरी पढेर पनि राजनीतिमा आएका उनले मेडिकल क्षेत्र आफ्नो कन्ट्रोलमा भएजस्तो राजनीति कन्ट्रोलबाहिर हुने बताएका हुन् । ‘मेडिकल आफ्नो कन्ट्रोलमा हुन्छ । तपाईंले बिरामीको पीडा हरण गरिदिनुहुन्छ,’ उनले भने ‘तर राजनीति कहिलै तपाईंको हातमा हुँदैन । सोचेको हुन्छ एउटा कुरा, भैदिन्छ अर्कै ।’

बिपी चिन्तन प्रतिष्ठान, गण्डकीले पोखरामा आयोजना गरेको ‘नेपालमा कृषि क्रान्तिः सम्भावना र चुनौती’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालमा कृषिको राम्रो सम्भावना भए पनि उचित उपयोग गर्न नसकिएको बताए । ‘नेपालको पहिलो सम्भावना हो पर्यटन, कोभिड–१९ का कारण घट्यो । दोस्रो हो, हाइड्रो, त्यसमा काम भैरहेको छ । तेस्रो कृषि नै हो । नेपालमा कृषिको धेरै सम्भावना छ,’ उनले भने । १७ लाख हेक्टर खेतीयोग्य जमिन नेपालमा भएको भन्दै उनले उन्नत उत्पादन गर्न सके ३० करोड जनतालाई खाद्यान्न पुग्ने बताए ।

कार्यक्रममा कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले सरकारतर्फबाट किसान केन्द्रित काम नभएको बताए । ‘मल बिउ, यन्त्र उपकरण लगायत आवश्यक पर्ने वस्तुहरु सरकारले उपलब्ध गराउनुपर्छ ।

उत्पादनलाई मार्केटमा पुर्‍याउने काम सरकारले गरोस्,’ उनले भने, ‘उत्पादन किसानले अनि गर्छन् ।’ सरकारले जनताका पक्षमा काम गर्न नसकेको उनको गुनासो छ । ‘समुदायले सरकारलाई प्रभाव पार्छन् । सरकारले कम भन्दा कम शासन गर्छ । प्रजातन्त्रको उच्चतम् प्रयोग त्यो हो । अहिले हामी गुनासो मात्रै बढी गर्छौं । समस्याको समाधान छैन,’ उनले भने ।

पूर्व मुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता खगराज अधिकारीले सबै क्षेत्रमा पछिल्ला वर्षहरुमा व्यापक परिवर्तन भए पनि प्रयोगशाला नहुँदा उत्पादन निर्यात गर्न नसकिएको बताए । ‘०४६ सालयता धेरै परिवर्तन भएका छन् । त्यो किसानकै लागि भएका छन् । प्रांगारिक मल प्रयोग गरियो भने मार्केट यहाँ हुन्छ,’ उनले भने, ‘कृषि मन्त्रालयले अहिलेसम्म गर्न नसकेको कृषि प्रयोगशाला, खाद्य प्रयोगशाला नबनाएको हो । प्रयोगशाला बन्यो भने हाम्रो उत्पादन बाहिर जान सक्छ ।’ उनले विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति वेरोजगार नहुने गरी काम गर्नुपर्ने बताए । ‘विशेषज्ञ पढ्न बाहिर जान पाउन् । तर प्लस टू पढ्नेबित्तिकै बाहिर जाने परम्परा रोक्नुपर्छ,’ उनले भने, ‘किसानका छोराछोरीले कृषिलाई कसरी वैज्ञानिकीकरण गर्ने भनेर अध्ययन गर्नुप¥यो । विश्वविद्यालयको उत्पादन वेरोजगार नहुने गरी जानुप¥यो ।’

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले कृषिलाई उद्योगले नेतृत्व गर्नुपर्ने बताए । ‘नेपाल कृषिमा आत्मनिर्भर कहिल्यै पनि हुन सक्दैन । विज्ञ र राजनीतिक नेताहरुले यसमा ध्यान दिनु जरुरी छ,’ उनले भने ‘आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा सही हो त्यति मात्रै भनेर हुँदैन । कृषिलाई उद्योगले नेतृत्व गर्नुप¥यो ।’ उनले कृषिमा निजी क्षेत्रको प्रवेश नभएका कारण अझै व्यावसायिक हुन समय लाग्ने बताए । कार्यक्रममा विज्ञहरुले नेपालमा कृषि उत्पादनका चुनौती र सम्भावनाबारे प्रस्तुति राखेका थिए ।

बिपी चिन्तन प्रतिष्ठान अध्यक्ष ऋषि काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शंकर ढुंगानाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width