सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०८१
prakash prize

पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् ।

पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त पुरस्कारबाट बुधबार कम्पनीको छैटौं वार्षिक साधारणसभा अवसरमा नगद २५ हजार र सम्मानपत्रसहित पत्रकार सापकोटा सम्मानित भएका हुन् ।

पत्रकारिता माध्यमबाट सडक यातायातबारे सचेतता दिनेखालका समाचार सम्प्रेषण गरेकोमा प्रतिभा छनोट समितिको बैठकले उनको नाम सिफारिस गरेको थियो । छनोट समिति संयोजकमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी थिइन् ।

समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रालि अध्यक्ष देउप्रसाद गुरुङले नगदसहित सम्मानपत्र र दोसल्ला ओढाइ उनलाई सम्मान गरे ।

आदर्श समाज राष्ट्रिय दैनिकका पूर्व सहायक सम्पादक सापकोटा झण्डै २ दशकदेखि निरन्तर पत्रकारितामा क्रियाशील छन् । हाल उनी राष्ट्र न्यूज डटकमका सम्पादक छन् । रेडियो हेमजामा समेत आबद्ध उनको रासस, टिटिभी, समाधान लगायत मिडियामा पत्रकारिता गरेको अनुभव छ ।

सम्मानपछि सापकोटाले पुरस्कारले कर्म क्षेत्रमा थप ऊर्जा मिलेको बताए ।

सो अवसरमा असल चालकतर्फ ग१ख ३८८७ का सूर्य रानाभाट, असल सहचालक ग१ख ६९७१ का कमल गुरुङ, पुराना व्यवसायी ग१ख ५२५३ र ग१ख ३९८९ नं.का सवारीधनी भेषबहादुर कुँवर, कर्मचारीमा ध्रुव पुलामी मगर सम्मानित भए ।

शेयर सदस्यका छोराछोरीमध्ये प्लस टुमा उत्कृष्ट हुने सोनिया विक, कर्मचारीका छोराछोरीमध्ये प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव सम्मानित भए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष स्वाँरले निजी क्षेत्रले गरेको लगानीलाई सरकारले नजरअन्दाज गर्न नहुने बताए । वरिष्ठ उपाध्यक्ष सिटौलाले व्यवसायीलाई बिनायोजना कम्पनीमा जान बाध्य बनाएको गुनसाो गरे ।

कम्पनी अध्यक्ष देउप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पोखरा यातायातका सल्लाहकार वसन्तकुमार प्रधान, यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी सचिव तथा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसी, यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्की अध्यक्ष कृष्णप्रसाद ढुंगाना, यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायातका प्रबन्ध निर्देशक देवीप्रसाद कुइँकेल, कम्पनीसचिव जीवनप्रसाद पौडेललगायत बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width