पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको बताएका छन् । उनले आफूहरुको कुनै गल्ती नभएकोले कसैले एउटा लेखे बदलामा ५ वटा काण्ड लेखिदिन अह्राएका छन् ।
‘हामीले केही भन्यो भने सहकारी ठग रै’छ भनेर डराउँछौँ । हामीलाई एउटा लेख्छन्, यिनीहरूको पाँच वटा लेख्नुहोस् न,’ उनले भने, ‘एमालेले भन्यो भने, एमालेको पाँच वटा काण्ड थाहा छैन र ? एकको बदला पाँच हाल्नुहोस् । कांंग्रेसले भन्छ, एकको बदला पाँच हाल्दिनुहोस्, पचास लेख्न मिल्छ, पाँच लेख्नुहोस् ।’
पोखरामा मंगलबार आयोजित पार्टीको गण्डकी प्रदेशस्तरको विस्तारित बैठकलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेस नेता धनराज गुरुङले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको आरोप पनि लगाए । कांग्रेस महामन्त्री गगन थापाले संसद्मा लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रमाण आफूसँग भएको बताएपछि त्यसविरुद्ध लामिछानेले उनीहरु नक्कली अनुहार भएको टिप्पणी गरे । ‘कति सजिलै सदनमा उभिएर प्रमाण छ भन्नुभएको छ । नक्कली भुटानी पनि तपाईं नै हो । नक्कली डिभोर्स गरेर सहकारी ठग्ने पनि तपाईं नै हो,’ उनले भने, ‘यी नक्कली मान्छेहरु हुन् । सहकारीको पैसा पचाउन नक्कली डिभोर्स गर्ने, नक्कली नागरिक बनाएर विदेशमा बेच्ने नक्कली मान्छेहरु हुन् ।’
उनले आफूलाई अनुसन्धानका लागि कुनै समिति आवश्यक नपर्ने बताए । ‘मलाई अनुसन्धान गर्न कुनै समिति चाहिँदैन । मैले आजसम्म कुनै प्रमाण भेटाएको छैन । राजनीति छोड्छु, प्रमाण दिनुस् भनेकै छु,’ गगनलक्षित गर्दै उनले भने, ‘तपाईंले राजनीति छोड्नुपर्दैन । राजनीतिबाट गलहत्याउने काम हामी चुनावबाट गर्छौं ।’
उनले आगामी ०८४ सालमा मतपेटिकामार्फत सबै दलहरुसँग युद्ध लड्ने बताए । ‘साथी हो, युद्ध लडेकै छैन, कसैले तपाईंलाई हार्यो भन्दैमा हारेको भनेर टाउको झुकाउने हो र ? युद्ध लडेकै छैन, युद्ध अब लड्ने हो । हाम्रो स्नायुको युद्ध,’ अघि थपे, ‘यस्तो युद्ध, जहाँ कसैको सिँउदो पुछिने छैन । कोही टुहरा हुने छैनन् । कसैको अंगभंग हुने छैन । न कसैको छातीमा गोली लाग्छ । सबैलाई सम्मान दिएर ब्यालेट बक्स माध्यमबाट, मतपत्रमार्फत देशको भाग्य फेर्ने आन्दोलन हामीले गर्ने हो ।’ पुराना दलहरुसँग अहिले सत्ता र शक्ति भएकोले रास्वपालाई सिध्याउने षड्यन्त्र रचिएको उनको आरोप छ ।
पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरको विस्तारित बैठक
‘उनीहरु यसलाई सिध्याउन सकिन्छ भनेर सोचिरहेका छन् । होला, दुइतिहाईको सरकार छ । सबै उनीहरुको छ,’ भने, ‘जहाँ–जहाँ हामीले अनुसन्धान गरेका थियौं, त्यहाँ मन्त्रीको उपहार दिएका छन् । उनीहरुको बल छ, शक्ति छ । कसैले रविलाई, स्वर्णिमलाई, मनीषलाई सक्ने वित्तिकै रास्वपा सकिन्छ भन्ने भ्रम भएको छ भने कान खोलेर सुन्न अनुरोध गर्दछु कि नेपालको मतपत्रमा ‘घण्टी’ चिन्ह दर्ज भएको छ । सक्छौ भने घण्टी हटाएर देखाऊ ।’ छोटो समय सरकारमा भए पनि भ्रष्टाचारमा मुछिएका नेताहरुलाई जेल कोचेको उनले दाबी गरे । ‘५ महिना अगाडि पार्टी खोलेर चुनावमा जाँदा २१ जना होनाहार सांसदहरु सदनमा गएका छन् । मन्त्रालय जाँदा पावरफूल मन्त्रालयमा हामीले विधिको शासन स्थापित गरेका हौं । ४ महिनामा हामीले एकसेएक मान्छेहरुलाई घोक्रेठ्याक लगाएर जेलमा कोचेका हौं ।
उनीहरुले समाचारमा नलेखेर हुन्छ र ? कृष्णबहादुर महरा के हो ? दीपेश पुन के हो ? मैले नामै लिन नहुने मान्छेको के नाम लिनु ?’ उनले भने ।
टिभीमा लगानी भएको पैसाबारे आफूलाई जानकारी नभएको उनले दोहो¥याए । ‘आफू एमडी हुँदा पैसा आएको थाहा हुनुपर्दैन भन्ने कुरा आएको छ, पर्छ । तर जानकारी हुने आधारहरु के हुन् ?,’ अघि भने, ‘लगानीकर्ताले सहकारीबाट पैसा ल्यायो कि खल्तीबाट हाल्यो कि, चेक हाल्यो कि । जतिबेला तपाईंहरुलाई थाहा भयो, मलाई त्यतिबेला थाहा भयो ।’ सहकारीपीडित नाममा भएको आन्दोलनमा कसैले फाइदा लुटिरहेको उनले बताए । ‘कस्तो संघर्ष समिति हो ? आँखा खोल्नुस् न । अपराध गर्दै हुनुहुन्छ साथीहरु संघर्ष समितिका नाममा,’ उनी भन्छन्, ‘लाखौं सहकारी पीडितमाथि अन्याय गर्दै हुनुहुन्छ तपाईं, गलत मान्छेलाई टार्गेट गरेर । सहकारी ठग को हो भन्ने कुरा छ्यापछ्याप्ती देखिएको छ । नउचालिनुस् ।’
पार्टीका कावा प्रवक्ता एवं सांसद मनीष झाले कार्यकर्ताहरु राजनीतिमा अवश्य पनि परिवर्तनका लागि लागेको उल्लेख गर्दै तर किन निरासा र द्विविधाका कुरा गर्नु हुन्छ भने । उनले भने, ‘भाषणले देश बन्ने भए ३४ वर्षमा कति भाषण सु्ुन्नुभयो किन देश बनेन ?’ उनले अब त्यो ऐतिहासिक जिम्मेवारी रास्वपाले लिने गरी तयारी हुन आह्वान गरे ।
रास्वपाका गण्डकी प्रदेश सभापति राजन गौतमको अध्यक्षतामा भएको उक्त बैठकमा सांसद तथा केन्द्रीय सदस्य शिव नेपालीले पनि शुभकामना मन्तव्य राखेका थिए । सो दलका प्रदेश उपसभापति मीना शर्मा आचार्यले स्वागत र महामन्त्री नवीन त्रिपाठीले सञ्चालन गरेका थिए ।
भित्र बैठक, बाहिर प्रदर्शन
पूर्व गृहमन्त्री लामिछानेविरुद्ध पोखराका सहकारी पीडितले कालोझण्डा देखाउँदै विरोध प्रदर्शन गरे । मंगलबार दिउँसो १ बजे कार्यक्रमस्थल पोखरा १७, बिरौटास्थित ग्यालेक्सी बैंक्युट पुगेका लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबासहित विरोध प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनका कारण लामिछानेलाई कार्यक्रमस्थल पु¥याउन सुरक्षा निकायलाई समेत हम्मेहम्मे परेको थियो । भित्र बैठक चलिरहँदा बाहिर पीडितले करिब १ घण्टासम्म विरोध गरे ।
उनीहरु विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए । ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण’, लगायतका नारा लेखेको प्ले कार्ड लिएर पीडित उपस्थित थिए ।
सहकारी पीडित संयुक्त संघर्ष समिति संयोजक किरण श्रेष्ठले भने, ‘हामीहरुको पैसा खाएर यिनीहरु खुल्लमखुला हिंडिरहने ? हामीहरुले जबसम्म न्याय पाउँदैनौं, तबसम्म बहालवाला सरकारमा रहेका हाम्रो सहकारीसँग सम्बन्धित कुनै मन्त्री, उच्चपदस्थ व्यक्तिलाई पनि छोड्दैनौं ।’ यसैगरी कालो झण्डा देखाउने र विरोध प्रदर्शन गर्ने हामीहरुको नियमित कार्यक्रम भएको उनले स्पष्ट पारे ।
श्रेष्ठले रोश प्रकट गर्दै भने, ‘दुई दुईपटक गृहमन्त्री बन्नु भो, हामीलाई झुठा आश्वासन दिनु भो । यही पोखराका सहकारीका करोडौं रुपैयाँ ठगिने तर केही न्यायको अनुभूति नहुने ?’
पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनीरूपमा पैसा लगेको र तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक रहेका रवि लामिछानेविरुद्ध कारबाही हुनुपर्नेे पीडित पक्षको माग छ ।
सुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।
Related News
सम्बन्धित समाचार
लिटिल पोखरा ट्राभल एण्ड ट्रेकिङको वार्षिकोत्सव
फूलपातिमा सराङकोटमा सरुन खेल हुने
रास्वपा गण्डकी पर्यटन तथा संस्कृति विभाग प्रमुखमा भण्डारी
लायन्स पोखरा आदर्श चौतारीको सहयोग
बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१