बिपीले परिकल्पना गरेको समाज निर्माणमा लाग्न जोड

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०८१
Congress Member

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले महामानव बिपी कोइराला राष्ट्रवादी सिद्धान्तका हिमायती तथा राजनीति र साहित्यको संगम भएको बताएका छन् ।

१११ औं बिपी जयन्ती अवसरमा पोखरा–२९ मा आयोजित पार्टी सदस्यता क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण तथा प्रशिक्षण कार्यक्रममा नेता बरालले बिपीले परिकल्पना गरेको समाज निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिए । मुलुकमा व्याप्त निराशाकालाई चिर्न ठूला दल कांग्रेस र एमालेले सहकार्य गरेको उनले स्पष्ट पारे ।

अब गुनासोका पहाड फोडेर मुलुकमै सम्भावनाको ढोका खोल्न नेतृत्वलाई उनले आग्रह गरे । बिपी जयन्ती देशभर मनाउँदै गर्दा अनुशासन र पार्टीभित्र त्याग समर्पणको उच्च मूल्यांकन र सम्मान भएमात्रै कांग्रेस बलियो हुने उनको तर्क थियो ।

नेपाली कांग्रेस कास्की १ क्षेत्रीय सचिव एवं प्रतिनिधि संयोजक सरोज केसीले बिपी राजनीति र साहित्यको अजरअमर व्यक्तित्व भएको चर्चा गरे । उनले बिपी कांग्रेसको मात्रै नभई मुलुक कै भाग्य रेखा बदल्ने एक महामानव रहेको स्पष्ट पारे । उनले निरंकुश जहाँनीय राणा शासन फालेर राजा र प्रजा मिलाउने बिपी पुनः राजाबाट लखेटिँदासमेत विचलित नभई राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको प्रसंग सुनाए । कांग्रेसभित्र त्याग र योगदानको कदर गरेर नेतृत्वले युवा पुस्ता र अग्रज पुस्तालाई माया र अवसर प्रदान गर्दा मात्रै आगामी संगठन बलियो हुने नेता केसीको तर्क थियो ।

व्यक्तिको पार्टी नभै कांग्रेस र सामूहिक नेतृत्वको प्रतिबद्धता नरही नेताको समूह र खल्तीबाट अवसर दिने प्रचलनलाई क्रियाशील सदस्यबाट हस्तक्षेप गर्न जरुरी रहेको बताए ।

कांग्रेस पोखरा–२९ का सभापति दीपकमणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सोमलाल सुवेदी, विन्दुकुमारी भण्डारी, सुरेन्द्रप्रसाद शर्मा, चिनु गुरुङलगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव पदम गुरुङ र सहजीकरण सचिव निशान्त ढकालले गरेका थिए ।

कांग्रेस कास्कीको निर्णयअनुसार जिल्लाका ५ पालिकाका ७२ वटै इकाइ समितिमा प्रशिक्षण सहित क्रियाशील सदस्यता वितरण गरिएको हो ।

कास्की कांग्रेसका नेता, पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा विभिन्न तहका नेतालाई ७२ वटै इकाइमा खटाइएको थियो ।

जिल्ला सभापति स्वयम् पोखरा २६ मा गएर प्रशिक्षणसहित सदस्यताको प्रमाणपत्र वितरण गरेको पार्टीका जिल्ला प्रवक्ता युवक लामिछानेले बताए । ९७ वर्षीय प्रजातन्त्रका सेनानी लीलाभक्त आचार्यले समेत क्रियाशील सदस्यताको प्रमाणपत्र लिएको पोखरा १७ का सभापति देवराज आचार्यले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै