पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०८१
Pokhara-Mugling

पोखरा । स्तरोन्नति चरणमा रहेको पोखरा–मुग्लिन सडकको काम पूरा हुन अझै १५ महिना लाग्ने भएको छ । निर्माण कम्पनी र सरकारबीच आइतबार बैठकमा निर्माण कम्पनीले १५ महिनाभित्र काम सिध्याएर हस्तान्तरण गर्ने जानकारी गराएको हो ।

सडक निर्माणमा ढिलाइ भएको र यात्रु तथा सर्वसाधारण नागरिकले सास्ती व्यहोर्नुपरेको गुनासो बढेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरोकारवालाको संयुक्त बैठक डाकेका हुन् । पोखरा–मुग्लिन सडकको आँबुखैरेनीदेखि पोखरासम्म पहिलो चरणमा काम भैरहेको छ । आँबुखैरेनी जामुने र जामुनेदेखि पोखरासम्म दुई खण्डमा काम भएको हो । आँबुखैरेनीदेखि मुग्लिनसम्मको काम भने अझै सुरु भएको छैन ।

पृथ्वीराजमार्ग अन्तर्गत यो सडकखण्ड सहरी क्षेत्रमा ६ लेन र अन्य क्षेत्रमा ४ लेनमा बिस्तार हुँदैछ । पूर्वी खण्डको काम आधाभन्दा बढी सकिएको छ भने पश्चिम खण्डमा ३० प्रतिशत मात्रै काम भएको छ ।

सँगसँगै ठेक्का सम्झौता भए पनि पश्चिम खण्डको काम केही ढिला गरी सुरु भएको हो । सडक निर्माणको काम छिटो सिध्याउन मुख्यमन्त्री पाण्डेले दबाब दिएका छन् । प्रदेशको लाइफलाइन रहेको स्तरोन्नति कार्य सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सरोकारवाला निकायलाई राखेर सवारी आउजाउ सहज बनाउँदै छिटो काम सिध्याउन ताकेता गरेका हुन् । ‘पूर्वतिर केही सजिलो भएको छ । पश्चिम खण्डमा काम ढिलो भयो । यात्रुलाई साह्रै सास्ती भयो,’ उनले भने, ‘कुनै समस्या भए प्रदेश सरकारले सहजीकरण गर्छ । कामको गति चाहिँ बढाइदिनुपर्‍ यो ।’

निर्माणमा ढिलाइले सास्ती व्यहोर्नुपरेको गुनासो बढेपछि मुख्यमन्त्री पाण्डेले सरोकारवालाको संयुक्त बैठक डाकेका हुन्

आबुखैरेनी–जामुने सडकखण्ड चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ठेक्का पाएको छ । जसमा ६ अर्ब २१ करोडमा निर्माण सम्झौता भएको हो । पश्चिम खण्डको करिब ३९ किलोमिटरको काम चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । ७ अर्ब ४० करोडमा २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएकोमा कामको प्रगति निकै कमजोर छ । पश्चिम खण्डको म्याद यही भदौ १२ सम्म रहेकोमा काम पूरा नभएपछि १ सय दिन म्याद थपिएको छ । हालसम्म पश्चिम खण्डमा २० किलोमिटर दूरीमा दुई लेन सडक कालोपत्र सकिएको छ भने ५ वटा पुल निर्माण भएको छ । ९५ प्रतिशत ब्याक कटिङ सकिएको इन्जिनियर नारायण पौडेलले जानकारी दिए । पूर्वी खण्डमा भने १ सय ५५ दिन म्याद थप भएको छ ।

आइतबार बसेको सरोकारवालाको बैठकले पाँचबुँदे निर्णय पनि गरेको छ । सडक निर्माणको काममा बाधा नहुने गरी विद्युत् प्राधिकरणले बिजुलीका पोलहरु रिलोकेट गर्ने, चाडपर्व तथा पर्यटकको आवागमनका कारण सडकमा चाप बढ्ने भएकोले पश्चिम खण्डमा वर्षातले पारेको खाल्डाखुल्डी पुर्ने, पोखरा विमानस्थलदेखि सेतीपुलसम्म बिजुलीका तार भूमिगत गर्ने काम भदौ मसान्तसम्म सम्पन्न गर्ने र लगत्तै २ लेन सडक निर्माणको काम सम्पन्न गर्ने तथा निर्माण सामग्रीको सम्बन्धमा पालिकाले स्रोत बुझ्न चाहेको बखत सामग्रीको स्रोत सम्बन्धित पक्षले प्रमाणित गर्नुपर्ने निर्णय भएको छ । यस्तै, स्थानीय उत्पादन तथा निर्माण सामग्रीको स्थानीय तहले फरक शीर्षकमा थप शुल्क लिने गरेकोमा एकमुष्ठ रुपमा कानूनबमोजिम मात्रै शुल्क संकलनको व्यवस्था मिलाउने निर्णय भएको छ ।

निर्माण कम्पनीतर्फबाट दोहोर कर लगाएकोमा गुनासो बैठकमा गरिएको थियो । त्यसलाई हटाएर प्रदेश सरकारले निर्धारण गरेको रोयल्टी रकम नघट्ने गरी रोयल्टी लिने निर्णय गरिएको हो । निर्माण कम्पनीले सडक क्षेत्रमा पर्ने बिजुलीका पोलहरु विद्युत प्राधिकरणले तत्काल स्थानान्तरण गर्नुपर्ने माग पनि राखेको थियो । चाडपर्वको समय नजिकिएकाले सडक क्षेत्रमा खाल्डाखुल्डी पुरेर आयोजना कार्यालयले सवारी आउजाउ सहज बनाउने निर्णय बैठकले गरेको हो । पर्यटन व्यवसायीहरुले पृथ्वी राजमार्ग असहज भएका कारण पर्यटन क्षेत्रमै असर परेको गुनासो गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै