चैतन्यको ‘जुद्ध शमशेरका नाममा’ लोकार्पण

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०८१
juddha samsher kaa nam

पोखरा । कवि चैतन्य अधिकारीले कविता संग्रह ‘जुद्ध शमशेरका नाममा’ प्रकाशनमा ल्याएका छन् । उक्त संग्रहको शनिबार पोखरामा लोकार्पण भयो । साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले उक्त कृति विमोचन गरे ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले पचासकै दशकदेखि कविका रुपमा चैतन्य सुनेको स्मरण गरे । साहित्यकार सरुभक्तले कवि अधिकारी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभासम्पन्न कवि भएको बताए । गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यसहित अभिव्यक्त हुनु उनको खुबी भएको बताए । समग्रमा उज्यालो अँध्यारोको दार्शनिक दोछायामा कविताले चैतन्यको यात्रा थालेको र यो कवितायात्रा आफ्नै निजत्वले अगाडि बढेको बताए ।

तीर्थ श्रेष्ठले कविता लेखनमा कथ्य र तथ्यको मिश्रणमा ध्यान दिएर लेखिनुपर्ने बताए । कवितामा तान र बान मिलेको हुनुपर्ने बताए । कविताको कुनै आकार नहुने भन्दै कवि चैतन्यका कवितामा पनि आकारको बन्देज नभएको बताए । सर्वप्रिय साहित्यिक विधा कविता कविकर्म हो । तथापि सहजकर्म भने हुँदै होइन । कविता लेख्नु सहज प्रतीत हुने असहज यात्रा हो । कविताको प्रभावकारिता कुनै मापन प्रणालीले मापन गर्न सक्दैन । साना मसिना कथ्य टपक्क टिपेर कविताको बान्कीमा पस्कन सक्ने कविका रुपमा कवि अधिकारीलाई तुलना गरे ।

स्रष्टा चैतन्य अधिकारीले एक दशक पछि आफ्नो कविताको दोस्रो कृति ल्याएका हुन् । यसभन्दा अघि उनको ‘झरीको किनार’ कविता संग्रह प्रकाशित छ ।

शेखर पराजुलीले स्रष्टा चिनारी राख्दै कवि चैतन्यलाई एकै पटक तीन वटा डुंगामा खुट्टा राख्नसक्ने खुबी भएको जिकिर गरे । कृति समीक्षा गर्दै कवि समालोचक सन्जीव पौडेलले चैतन्यलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कवितानै पढ्न उक्साउने स्रष्टाका रुपमा पाएको बताए ।

कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्व अध्यक्ष कवि एवं उपन्यासकार सरस्वती प्रतीक्षा, कौशल चन्द्र जिसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठी लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width