कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटसल

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८१
Futsal

लमजुङ । २१ औं निजामती सेवा दिवस अवसरमा आयोजित निजामती कर्मचारी र पत्रकार महासंघबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । मस्र्याङ्दी बहुमुखी क्याम्पससँगै रहेको फुटसल खेल मैदानमा भएको प्रतियोगितामा निजामती कर्मचारीको टिम १०–२ गोलअन्तरले विजयी भयो । टिमको नेतृत्व प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले गरेका थिए भने पत्रकार महासंघको नेतृत्व जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी गुरुङले रेफ्री अनिल अधिकारीलाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए । प्रतियोगितामा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख अनिल अधिकारीले ह्याट्रिक गरे ।

प्रमुख जिल्ला अधिकारी गुरुङले निजामती सेवाको मुख्य दिन २२ गते भए तापनि दिवसको सन्दर्भमा यो खेल खेलाउने काम भएको बताए । यो खेल प्रतिस्पर्धाका लागि भन्दा पनि आपसमा सद्भाव बढाउन सन्देशमूलक होस् भन्ने उद्देश्यले सञ्चालन गरेको उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारीले आपसमा सद्भाव बढाउन आयोजित खेलले मैदानमा पुगेपछि खेल्नु पर्ने रहेछ भन्ने भावना विकास गरेको उल्लेख गरे । मैत्रीपूर्ण खेल आउँदा वर्षमा थप व्यवस्थित होस् उनले कामना गरे ।

सहायक प्रजिअ एवं निजामती कर्मचारी सेवा दिवस मूल आयोजक समितिका कावा अध्यक्ष समेत रहेका गोकर्णराज सुयलको अध्यक्षतामा सो कार्यक्रम भएको हो । उनले यस वर्षको नारालाई सार्थक बनाउन सबैले पहल गर्नुपर्ने बताए ।

यस वर्षको नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ लाई निरन्तरता दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै