पोखरा । नेपालको क्लब भलिबल (पुरुष) मा विभागीय ३ टिमलाई कडा चुनौती दिने मोफसलका टोलीमध्ये एउटा टिम हो–गण्डकी प्रदेश । हरेक क्षेत्रमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा गण्डकीले केही न केही उपाधि भेटाएकै हुन्छ । त्यसैले पनि टिमले राम्रो साथ र समर्थन पाएको हुन्छ ।
तर, लामाचौर कपमा गण्डकी भलिबल टिम कमजोर देखियो । अघिल्लो संस्करणको विजेता टिम यो वर्ष पुछारमा रहेर प्रतियोगिता टुंगायो । गत वर्ष उही मैदानमा नेपाल पुलिस क्लबलाई हराएर च्याम्पियन बनेकोमा यसपालि लिग चरणको सुरुकै खेलमा पुलिससँग सोझो सेटमा हार्यो । अर्को खेलमा एपिएफ सँग ३–१ को सेटमा पराजित भयो ।
अन्तिम खेलमा पनि गलकोटलाई जित्न पाँचौं सेट कुर्नुपर्यो । तर, शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा गलकोटसँग नै सोझो सेटमा पराजित भयो । चार टिम सहभागी भएको प्रतियोगितामा गण्डकी अन्तिम स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
कुनै बेला मोफसलको ‘बाघ’ उपमा पाएको गण्डकीले खस्कदो प्रदर्शनले दर्शक हैरानीमा थिए । हुटिङ गर्न हौसिएर प्यारापिट पुगेका दर्शक अधिकांश समय मौन नै बस्न बाध्य बने । केहीले गण्डकीको खेल खस्कियो भन्ने आकलन गरे भने धेरैले ‘हारले सिकाउँछ, अर्को पटक राम्रो गर्छ’ भनी सान्त्वना दिए ।
गण्डकीका खेलाडी राजन दर्लामीमगर पनि हारले पाठ सिकाएको बताउँछन् । यो हारले आगामी दिनमा अझ राम्रो गर्न हौसला प्रदान भएको उनले बताए । ‘खेलाडीहरु बटुलेर बनाएको टिम थियो । ट्रेनिङका लागि समय पनि कम नै थियो,’ उनले भने, ‘लगातार खेल्नुपर्दा थकान थियो तर हारेका हौं । हारेश नै खाएका छैनौं । यसले हामीलाई ठूलो पाठ सिकाएको छ ।’
आगामी दिनमा गतिलो ट्रेनिङ पाए राम्रो खेल्ने क्षमता भएको खेलाडी गण्डकी प्रदेशमा कमी नभएको उनी सुनाउँछन् । यसका लागि भलिबल संघ र प्रदेश खेलकुद परिषद्ले ध्यान दिनुपर्ने उनले बताए ।
यसपालि लामाचौर कपमा महिला तथा पुरुष दुवै टिमतर्फ गण्डकी पुछारमा रह्यो
‘गण्डकी खेलाडी उत्पादनको खानी हो । एकसेएक खेलाडी छन् । त्यही हो सुविधा र ट्रेनिङमा सम्बन्धित पक्षले ध्यान दिनुपर्छ,’ उनले भने, ‘यहाँ आएर जतिले हामीलाई सपोर्ट गर्नुभएको छ । उहाँहरुलाई धन्यवाद् । आगामी दिनमा दर्शक निराश पार्ने छैनौं ।’
उनका अनुसार यो पटक प्रतियोगिता खेल्न खेलाडीहरुलाई एक हप्ता अघि मात्र प्रशिक्षणमा राखिएको थियो । टिमका नियमित खेलाडी पनि टोलीमा सामेल थिएनन् । रवि केसी, घनश्याम चौधरी विदेश छन् । सरोज बर्देवा एपिएफमा अनुबन्ध भएर खेलिरहेका छन् । किरण गुरौं गलकोटबाट खेले भने यहाँका उदीयमान खेलाडीहरु विश्वास अधिकारी, सूर्य विक, युक्सन थापालगायत यू–२० राष्ट्रिय टोलीको क्लोज क्याम्पमा छन् । यू–२० राष्ट्रिय टोलीलाई गण्डकी प्रदेशका मुख्य प्रशिक्षक रमेश केसीले प्रशिक्षण गराइरहेका छन् । लामाचौरमा गण्डकीको टिम केही प्रमुख खेलाडी र मुख्य प्रशिक्षकबिनै पर्वत मगर र उमेश सेन्चुरीलगायत नयाँ खेलाडी लिएर मैदान ओर्लिएको थियो ।
भलिबलका पुराना अन्तर्राष्ट्रिय खेलाडी हरि पराजुलीले एउटा प्रतियोगिताको हारले खेल स्तर सस्केको भन्न नमिल्ने बताए । भलिबलको उर्वरभूमि गण्डकीमा धेरै राम्रो खेलाडी रहेकाले अब आउने दशौं राष्ट्रिय खेलकुदमा केन्द्रित हुन उनको सुझाव छ । ‘२०३८ सालमा प्रथम राष्ट्रिय खेल काठमाडौंमा भएको थियो । त्यसमा हामी राम्रो खेल्दा खेल्दै पनि हार्यौं । त्यसलाई हामीले सिकाइका रुपमा लियौं,’ उनले भने, ‘२०३९ मा राष्ट्रिय भलिबल भयो त्यसमा हामी सेकेण्ड भयौं । तर, हामी निरन्तर लागिरह्यौं । २०४० मा भएको राष्ट्रिय खेलकुदमा हामी प्रथम भयौं । यसरी एउटा हारलाई पाठका रुपमा लिने हो भने सफल भइन्छ ।’
यसका लागि खेलाडीको लगाव र इच्छाशक्ति हुनुपर्ने उनले बताए । खेलाडी सबथोक छाडेर खेल्न तयार भइसकेको अवस्थामा व्यवस्थापन पक्ष र सरकारले त्यसमा साथ दिनुपर्ने उनको भनाइ थियो ।
‘सबैभन्दा पहिला खेलाडीले आफूले आफैँलाई तयार गर्नुपर्छ । त्यसपछि व्यवस्थापन पक्षले उनीहरुका लागि आवश्यक ट्रेनिङ, डाइटलगायत अन्य सुविधा दिनुपर्छ,’ उनले भने, ‘अहिले गण्डकीमा निरन्तर प्रशिक्षणसँगै अन्य सुविधा छैन । खेलाडीलाई कमसेकम एक महिनाभन्दा बढि ट्रेनिङ दिनुपर्छ । आउ खेल जाउँ भनेर हुँदैन ।’
गण्डकी प्रदेश भलिबल संघ महासचिव टहलसिंह थापामगर एक प्रतियोगिताको हारले खेल खस्किएको आकलन गर्न नहुने बताउँछन् । ‘हाम्रोमा रेगुलर ट्रेनिङ त छँदै छैन, यो अवस्थामा विभागीयसँग खेल्नु भनेको चुनौतीको कुरा हो,’ उनले भने, ‘कहिले को चल्छ, कहिले को । हामीसँग केही महत्वपूर्ण खेलाडीहरु पनि छैनन् । त्यसैले भनेजस्तो गेम भएन ।’
प्रदेश भलिबल संघ अब १० औं राष्ट्रिय खेलकुदमा केन्द्रित भएर अघि बढ्ने थापामगरले बताए । ‘संघले प्रदेश खेलकुद परिषद्सँग सहकार्य गरेर नयाँ खेलाडी उत्पादनमा ध्यान दिएको छ । १÷२ स्थानमा खेल हारियोस् तर, राम्रो गर्ने हो भनेर लागिरहेका छौं,’ उनले भने, ‘जिल्लाबाट एसइई दिएर बसेका गण्डकीका ११ खेलाडी खोजेर पोखराका विभिन्न कलेजमा सहुलियत दस्तुरमा राखेर पढाइसँगै खेललाई अगाडि बढाउने योजना छ ।’
Related News
सम्बन्धित समाचार
विपदबाट क्षतिग्रस्त संरचना निर्माण गर्न २ अर्ब ८८ करोड लाग्ने
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम
साहित्य सम्राट देशभक्त सिंह कुँवर वाङ्मय प्रतिष्ठानद्वारा सम्मान
नयाँ नोट मुद्रण नहुँदा डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
१६६ वर्ष पुरानो चण्डीमाईलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने
hero news full width
मुख्य समाचार
दशैँमा पोखरामा सार्वजनिक यातायातमा निःशुल्क यात्रा
हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ, १ करोड बढीको बिक्री
असाेज २३, २०८१पोखरामा क्रस कन्ट्री दौड तयारी
असाेज २२, २०८१दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
असाेज २२, २०८१दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१