हर्षोल्लासका साथ मनाइयो तीज

आदर्श समाज सम्वाददाता
भाद्र २२, २०८१
Teej fest

पोखरा । यसपालिको हरितालिका तीज हर्षोल्लासका साथ मनाइएको छ । देशभरका शिव मन्दिरमा व्रतालु महिलाको ठूलो भीड लागेको थियो । जसमा केही व्रतालु पुरुषहरु पनि सहभागी थिए ।

रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला दिदीबहिनीहरु विभिन्न ठाउँमा तीजेभाखामा नाचगान गरी रमाए । त्यसो त एकदुई महिनादेखि नै तीजका तीज युट्युबमा छाइरहँदा तीजको छुट्टै रौनक थियो । त्यसैले यसपालि तीज झन् रंगीन बनेको सर्वसाधारणले जनाएका छन् ।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व अवसरमा काठमाडौं पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको हो ।

पोखराको फेवाताल किनारको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यवासिनी मन्दिरलगायतमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो ।

केदारेश्वरमा बिहान ४ बजेदेखि नै भक्तजन आएको मन्दिरका पीठाधीश डा.चिद्घन चैतन्यले बताए । भक्तजनले मन्दिर परिसरमा रहेको १०८ शिवलिंगमा जल चढाउनुका साथै दिनभर तीजेभाखामा नाचगान गरी रमाइलो गरे । सो अवसरमा जयन्ती मेमोरियल ट्रस्टले निःशुल्क शिविर आयोजना गरेको थियो । शिविरमा मधुमेह, उचाइ, तौल नापजाँचको व्यवस्था गरिएको शिविरको सहयोगी संस्था फिस्टेल हस्पिटलका कार्यकारी प्रबन्धक अनिलकुमार श्रेष्ठले बताए ।

तीज अवसरमा पोखराका विभिन्न ठाउँमा तीज मेला तथा महोत्सव पनि आयोजना गरिएको थियो । महिला पर्यटन व्यवसायी मञ्च (टेवान) आयोजनामा वाराहीघाटस्थित नेपाल ट्रस्टको चौरमा शुक्रबारदेखि ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ सुरु गरेको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गरिएको टेवान अध्यक्ष कमला गिरीले बताइन् । पर्यटन मन्त्रीले उद्घाटन गरेको महोत्सवमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम आयोजना गरिएको छ ।

नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको अध्यक्ष गिरीले बताइन् । २ दिनसम्म चल्ने महोत्सवमा तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ । संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी, एनआरएनए उपमहासचिव सोम सापकोटा वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारी र दीपेन्द्र पहारीले गर्ने छिन् ।

तीज अवसरमा ठाउँ ठाउँमा तीज महोत्सव तथा मेला आयोजना

उता, पोखरा ५, मालेपाटनमा सूर्यचन्द्र विकास समाजको आयोजनामा खुला तीज गीज तथा महिला खेलकुद प्रतियोगिता भएको छ । वाराही माविको खेल मैदानमा गत १७ भदौदेखि सो महोत्सव आयोजना गरिएकोमा विभिन्न भाखामा तीज गीज गाएर रमाइलो गरिएको थियो । मानिसको भीडका कारण मालेपाटन चौरमा खुट्टा टेक्ने ठाउँ थिएन ।

नवआदर्श सामुदायिक विकास समाज आयोजनामा लामाचौरमा गत १९ भदौदेखि सुरु २६ औं तीज महोत्सव भव्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको महोत्सवमा आयोजकले दैनिकजसो राष्ट्रिय कलाकार स्टेज उतारेर तीजको रौनक थपेको आयोजक संस्थाका अध्यक्ष स्वागत सिंह भण्डारीले बताए । उनले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए । २० टिमले भाग लिएको अन्तरमहिला समूहगत खुला तीज गीत प्रतियोगितामा सक्षम अभियान नेपाल प्रथम भयो । लामाचौरको शिवालय तमु समाज दोस्रो, महिला स्वास्थ्य स्वयंसेविका समाज तेस्रो र महिला समाज कल्याण आमा समूह सान्त्वना भए । प्रथमलाई ५० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई २० हजार र सान्त्वनालाई १० हजार प्रदान गरिएको संस्थाका पूर्व अध्यक्ष बुद्धिबहादुर खत्री क्षत्रीले जानकारी दिए ।

शुक्रबार राष्ट्रिय कलाकार सम्झना भण्डारी, दुर्गेश थापा र एलिना रायमाझीले विभिन्न प्रस्तुतिमा स्टेज तताए । दुर्गेश थापाले ‘हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा’ गाउँदा होस् वा सम्झना ‘बत्ती बाल्नै पर्दैन यो गाउँमा’ गाउँदा दर्शक छमछमी नाचेर साथ दिएको प्रचार प्रयोजक दिनेश भण्डारीले बताए ।

उता, पोखरा १६, बाटुलेचौरमा सधैँ झैं यसपालि पनि ऐतिहासिक बाटुलेचौर तीज महोत्सव सम्पन्न भएको छ । चार दिनसम्म संचालित मेलाको अन्तिम दिन शुक्रबार समूहगत तीज गीत प्रस्तुति रहेको थियो । वडा १६ भित्रका २२ टोलीले तीज गीत प्रस्तुतिमा सहभागिता जनाएको प्रचारप्रसार उपसमिति संयोजक सञ्जय थापाले बताए ।

पोखरा ३२, स्थित दुर्गा मन्दिरमा आयोजित छैटौं खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पोखरा, ३२, राधाकृष्ण टोल महिला समूह प्रथम भयो । लोकसंस्कृतिको जर्गेना गर्ने उद्देश्यले गरिएको प्रतियोगित आयोजना गरिएको आयोजकले जनाएको छ । रामबजारमा राममन्दिर माछापुच्छ्रे महिला समूह आयोजनामा ३३ औं तीज गीत प्रतियोगिता भयो । नेपालमै पहिलोपल्ट उक्त संस्थाले तीज गीत प्रतियोगिता गरेको प्रतियोगिताका परिकल्पनाकार मनवीर गुरुङको दाबी छ ।

पोखरा १७, बिरौटास्थित राममन्दिर पनि महिला दिदीबहिनीहरु दिनभरजसो पूजाअर्चना तथा नाचगानमा रमाएका थिए ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्व अघिल्लो दिन दर खाएसँगै तीज पर्व सुरु हुन्छ । तीजमा महिलाहरु निराहार व्रत बस्ने प्रचलन छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । तर, पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

पछिल्लो समय तीज भने विकृतिमा रुपान्तरित हुँदै गएको चिन्ता व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै