पोखरेलीलाई सफा पानी कहिले ?

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८१
water

पाखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाइका समस्या समाधानमा जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन् ।

फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा) सहकार्यमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा हालै आयोजित नीति बहस कार्यक्रममा उनले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनका समस्या रहेको उल्लेख गरे ।

उनले महानगरले खानेपानी समस्या समाधानमा दीर्घकालीन कार्ययोजना बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘जाइकासँग मिलेर ठूलो प्रोजेक्टमा पनि हामीले काम सुरु गरिसकेका छौं । त्यो प्रोजेक्टमा हामीले प्रत्यक्ष रूपमा जनतासँग सहभागी भएर काम गर्ने योजनामा छौं ।’ पानीको गुणस्तर सुधारका लागि धाराबाट सिधैँ पाउने पिउने व्यवस्थामा महानगर लागिपरेको दाबी गरे ।

फेडवासन केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले संघको भूमिका र महŒवबारे प्रकाश पारेका थिए । फेडवासन देशभरिका उपभोक्ताको हित संरक्षण गर्ने, उनीहरूको आवाज उठाउने र नीति निर्माणमा योगदान गर्ने एक राष्ट्रिय संस्था भएको उल्लेख गर्दै उनले उपभोक्ताको समस्यालाई सम्बोधन गर्न र खानेपानी तथा सरसफाई सेवाको सुधारमा काम गरिरहेको बताए ।

फेडवासन कास्की अध्यक्ष दाताराम आचार्यले पोखराका उपभोक्ताले भोगिरहेका प्रमुख समस्या र तिनको समाधानका उपायबारे सुझाए । पोखराका धेरै वडामा खानेपानीको पहुँच सीमित रहेको र उपभोक्ताले सधैं सफा पिउनेपानी प्राप्त गर्न कठिनाइ भोगिरहेको उनको भनाइ थियो ।

पोखरा महानगरपालिकामा खानेपानी तथा सरसफाइका समस्या दीर्घकालीन समाधानमा जनताको सहभागिता, संघसंस्थाको सक्रियता र महानगरको जवाफदेहीतामा आधारित हुनुपर्नेमा नीति बहसमा सहभागी सबैले सहमति जनाए । बहसले महानगरको खानेपानी तथा सरसफाइमा सुधारका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई पुनः जोड दिएको छ । कार्यक्रमको सहजीकरण पत्रकार दीपा रेग्मीले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै