विद्यावारिधि हासिल गर्नेलाई सामूहिक सम्मान

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८१
batulechaur mela 2

पोखरा । विद्यावारिधि हासिल गरेका वडाका शिक्षासेवीलाई पोखरामा सामूहिक सम्मान गरिएको छ । उक्त उपाधि हासिल गरेका २५ जना विषयविज्ञ र २ वटा सामुदायिक विद्यालयलाई ऐतिहासिक बाटुलेचौर तीज मेला अवसरमा पोखरा महानगरपालिका वडा १६ ले बिहीबार सम्मान गरेको हो ।

सम्मानित हुनेमा प्राडा टंकनाथ शर्मा, डा. गेहेन्द्रमान उदास, डा. दीर्घमान गुरुङ, डा. गोपाल घिमिरे, डा. महेन्द्रबहादुर बानियाँ, डा. अर्जुन बानियाँ, प्राडा ध्रुवबहादुर कार्की, डा. श्रीराम आचार्य, डा. निशा बराल, डा. सुरेश पौडेल छन् । यस्तै, डा. प्रज्ञा गौतम, डा. उत्तम थापा, डा. विदुर देवकोटा, डा. गौतम गुरुङ, डा. सुनिल भट्टराई, डा. श्रीकृष्ण आचार्य, डा. कुशल शर्मा, डा. पुष्पराज आचार्य, डा. अनुप बस्नेत, डा. सञ्जय शर्मा तिमिल्सिना, डा. सुखबहादुर गुरुङ, डा. चन्द्र गुरुङ, डा. पूनम गौचन छन् ।

उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरेलीरत्न जर्ज जोन, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले सम्मानपत्र, माला र सल ओढाएर सम्मान गरे ।

सो अवसरमा सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट विन्ध्यवासिनी मावि र कास्कीमा उत्कृष्ट ५ मा पर्न सफल इन्द्रराज्य लक्ष्मी माविलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा मेयर आचार्यले विशेषज्ञता हासिल गरेका विज्ञहरुको सम्मानले समाज नै सम्मानित भएको बताए । उनले वडाको विकासमा यस्ता विज्ञबाट सुझाव लिई समग्र योजना बनाउनुपर्नेमा जोड दिए ।

उनले आफ्नो विषयगत दक्षता समाज विकास र मानव सेवामा लगाउन आग्रह समेत गरे । मेला व्यवस्थापन समिति संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्ची, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, पृथ्वीनारायण क्याम्पसका संस्थापक एवं पोखरेलीरत्न जोर्ज जोन, सम्मानित व्यक्तित्व डा. महेन्द्र बानियाँ, वडा शिक्षा समितिका जयराम पौडेललगायतले यस क्षेत्रको विकासमा सम्मानित व्यक्तिको भूमिका महत्वपूर्ण हुने बताए ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले स्वागत र मूल समारोह समितिका सदस्य भीमबहादुर गायक र सुनिता देवकोटाले संचालन गरेका थिए ।

मेलाअन्तर्गत अन्तरविद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १७ वटा विद्यालयले सहभागिता जनाएका छन् । मेलाको अन्तिम दिन शुक्रबार समूहगत तीज गीत प्रस्तुति हुनेछ । मेलामा दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै