बिएसस्सी नर्सिङ इन्ट्रान्समा प्रतिभाकी आयुषा टप

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०८१
Prativa Aayusha Dhakal (1)

पोखरा । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षामा बिएसस्सी नर्सिङतर्फ पोखराको प्रतिभा माविकी आयुषा ढकाल नेपालमै उत्कृष्ट ठहरिएकी छिन् । प्रवेश परीक्षामा करिब १४ हजार प्रतिस्पर्धीलाई उछिन्दै ढकालले पहिलो नम्बरमा आफूलाई उभ्याएकी हुन् । ढकालले सर्वाधिक १६४ अंक ल्याएकी छिन् ।

नेपालमै उत्कृष्ट भएको भन्दै प्रतिभा माविले बुधबार उनलाई विद्यालयमै सम्मान पनि गरेको छ । प्राचार्य किरण सापकोटाका अनुसार ढकाल पहिलेदेखि नै पढाइमा अब्बल थिइन् । त्यसकै परिणामस्वरुप यो वर्ष नेपाल टप गर्न सफल भएको सापकोटाले बताए ।

‘प्रतिभाको उत्कृष्टतामा आयुषाको परिणामले अर्काे इँट्टा थपिएको छ । गुणस्तीय शिक्षा र सबैको मेहनतले यो सफलता हात परेको हो,’ उनले भने, ‘प्रतिभाले यसअघि पनि यस्तै प्रतिभावान् विद्यार्थी उत्पादन गरेको थियो । आगामी दिनमा थप प्रतिभावान विद्यार्थी उत्पादनमा हामीले जोड दिएका छौ ।’ ढकालले अब सरकारी पूर्ण छात्रवृत्तिमा चारवर्षे बिएसस्सी नर्सिङ अध्ययन गर्न पाउने छिन् ।

आमा मीनादेवीले सानैदेखि मेहनती भएकै कारणले आयुषाले आफूलाई सावित गर्न सफल भएको बताइन् । पुख्र्याैली घर स्याङ्जाका ढकाल परिवार हाल पोखरा बिरौटामा बस्दै आएको छ । तीन सन्तानमध्येकी जेठी छोरी आयुषाको रिजल्टले अरुलाई पनि अध्ययनमा बल पुगेको उनले बताइन् ।

आयुषाले अब स्वदेशमै स्वास्थ्य क्षेत्रमा अध्ययन गर्ने आफ्नो चाहना पूरा भएको बताइन् । ‘सरकारी छात्रवृत्तिमा स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने अवसर जुटेको छ । मेहनत गरेर अध्ययन गरेमा सफलता मिल्ने रहेछ भन्ने प्रमाणित भएको छ,’ उनले भनिन् ।

आयुषालाई बुधबार अरु विद्यार्थीमाझ पनि परिचित गराएको थियो । आयुषाको अध्ययन र मेहनत अरु विद्यार्थीका लागि पनि प्रेरणा बन्ने भएकोले विद्यार्थीमाझ परिचित गराएको प्राचार्य सापकोटाले बताए । सरकारले यो वर्ष १७ सय २० जनाका लागि बिएसस्सी नर्सिङतर्फ कोटा छुट्याएको छ । तीमध्ये ५ सय ३५ जना छात्रवृत्तिको कोटा अध्ययन गर्न पाउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width