गण्डकी सरकारमा एमाले इन, मनाङे आउट

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०८१
cabinet.

नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण ।

पोखरा । गण्डकी सरकारमा नेकपा (एमाले) प्रवेश गरेको छ । सोमबार ४ जना मन्त्री एमालेबाट नियुक्त भएका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । पार्टी केन्द्रीय लेखा आयोग सदस्य पद्मा जिसी श्रेष्ठ नेतृत्वमा एमाले सरकारमा सामेल भएको हो । जिसीलाई कृषि, भूमि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको छ । बागलुङका कृष्णप्रसाद पाठक स्वास्थ्यमन्त्री बनेका छन् । पर्वतका मित्रलाल बस्याल उद्योग तथा पर्यटन र कास्कीका प्रकाशबहादुर केसी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भए । एमाले संसदीय दलका नेता खगराज अधिकारीले केन्द्रीय नेतृत्वसँगको समन्वयमा मन्त्रीहरुको छिनोफानो लगाएका हुन् ।

जिसीलाई यसअघि नै सरकारमा सहभागी गराउने तयारी थियो । तर सरकारले पूर्णता नपाउँदै ढल्यो र उनी मन्त्री बन्नबाट वञ्चित भइन् । त्यसबेला मुख्यमन्त्री खगराज अधिकारीले पुरानै अनुहारलाई मौका दिएका थिए । उनी नवलपुर २ (१) बाट निर्वाचित भएकी हुन् । २०४८ सालदेखि राजनीतिमा लागेकी जिसीको संसदीय भूमिका प्रभावकारी छ । पर्वत (२) बाट निर्वाचित बस्याल एमालेका पुराना नेता हुन् । उनी प्रदेशमा पृथ्वी सुब्बा गुरुङनिकट मानिन्छन् । अरु खगराज अधिकारीनिकटका हुन् । दोस्रो कार्यकालमा निर्वाचित सांसदहरुमध्ये उनी सबैभन्दा ज्येष्ठ हुन् । त्यसैले ज्येष्ठ सदस्यको हैसियतले पहिलो प्रदेशसभा बैठक उनैले चलाएका थिए । उनलाई अधिकारी पहिलो कार्यकाल मुख्यमन्त्री हुँदा नै मन्त्री बनाउने चर्चा थियो ।

अधिकारीनिकट बागलुङका पाठक समानुपातिकबाट निर्वाचित भएका थिए । सुरुमा मसालको राजनीति गरेका पाठक २०४१ पछि माले हुँदै एमालेको राजनीतिमा सक्रिय भएका हुन् । अर्का समानुपातिक सांसद प्रकाश केसी पनि अधिकारी निकटकै हुन् । सांसद बनाउने बेलामा पनि अधिकारीले जोडबल गरेका थिए भने उनै अधिकारी दाहिना हुँदा केसी भौतिक पूर्वाधार विकास मन्त्री बने । उनी लामो समय राप्रपाको राजनीतिबाट २०७४ मा एमाले प्रवेश गरेका हुन् ।

एमालेमा चरम असन्तुष्टि

मन्त्री छनोटमा एमालेकै नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन् । एमाले अन्नपूर्णका पूर्व अध्यक्ष विवेक देवकोटाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ‘आस्था र विश्वासको धरोहर डगमगाएको’ टिप्पणी गरे । धेरैले उनको टिप्पणीलाई समर्थन गरेका छन् भने मन्त्री छनोटमा असन्तुष्टि पोखेका छन् । संसदीय दलका नेता अधिकारी पहिलो पटक मुख्यमन्त्री हुँदा स्वकीय सचिव बनेका एमाले पोखरा महानगरका पूर्व अध्यक्ष दिलीप न्यौपानेले व्यांग्यात्मक रुपमा ‘मास्क’ लगाएर निस्किन सुझाएका छन् । उनको स्टाटसमा पनि धेरैले मन्त्रिमण्डल बिस्तारलाई लिएर आलोचना र टिप्पणी थपेका छन् ।

मन्त्री नियुक्तिमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै एमाले सांसद लिलाबहादुर थापाले संसदीय दलको बैठकमा प्रश्न गर्ने बताए । ‘कार्य जिम्मेवारी वैज्ञानिक ढंगले गर्नुपर्ने हो त्यो हुन सकेन । भोलिका दिनमा विधि, पद्दतिमा कसरी चलाउने ? तलका नागरिकलाई कसरी विश्वास दिलाउने ? यस्ता कुरा अनुत्तरित बनेका छन्,’ उनले भने, ‘किन बनाइयो, कसरी बनाइयो भन्ने मापदण्ड हुनुपर्छ । केन्द्रलाई देखाएर जोगिन खोज्ने प्रयास हुन सक्छ । तर कहाँ के भयो भन्ने ऐना झैं स्पष्ट छ ।’ उनले नागरिक तहमा पुष्टि हुने काम गर्नुपर्ने बताए ।

अर्का सांसद भीम कार्की शपथ समारोहमै उपस्थित भएनन् । उनी पनि अहिलेको मन्त्री छनोटमा असन्तुष्ट छन् । ‘दलले निर्णय गरेको कुरा, निर्णय मान्नैप¥यो,’ उनले भने, ‘तर कति कुरा चित्त बुझेका छैनन् । यसबारे उचित ठाउँमा प्रश्न उठ्छ । जवाफ खोजिन्छ ।’ यसअघि, थापा र कार्कीसहित सुधीरकुमार पौडेल, श्यामराजा महत लगायतको पनि मन्त्री बन्ने चर्चा थियो । विशेषगरी प्रकाश केसीलाई मन्त्री बनाइएकोमा धेरैको आलोचना छ ।

खगराज दाहिना भएपछि प्रकाशलाई मन्त्री उपहार

भर्खरै पार्टी प्रवेश गरेको व्यक्तिलाई समानुपातिक सांसद बनाइएकोमा तत्कालीन समयमै पार्टीपंक्तिमा प्रकाश केसीको आलोचना नभएको होइन । झन् मन्त्री त्यो पनि प्रभावशाली र पुँजीगततर्फ झण्डै आधा बजेट भएको भौतिक मन्त्रालयको जिम्मा दिँदा आलोचना नहुने कुरै भएन । एमाले संसदीय दलका नेता अधिकारीनिकट रहेका केसीलाई यसपालि केन्द्रीय महासचिव शंकर पोखरेलले पनि राम्रैसँग काखा राखे । उनलाई मन्त्री बनाउन पूर्व सांसद तथा एमाले कास्कीका पूर्व अध्यक्ष कृष्ण थापा पनि राम्रैसँग चलेका थिए । थापा अघिल्लो कार्यकालमा मन्त्रीको लागि लामै दौडमा थिए तर तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फरक गुटबाट हेरेर उनलाई मन्त्रीको अवसर दिएनन् । त्यसको बदला थापाले अहिले लिएका हुन् भन्ने एमालेभित्र चर्चा चल्छ ।

भौतिक पूर्वाधारबाट वन मन्त्रालयको जिम्मा दिइएपछि असन्तुष्ट मनाङेले दिए राजीनामा

‘मन्त्री नै बनाउन हुँदैनथ्यो । पार्टीमा लामो समयदेखि संघर्ष गरेका र रिजल्ट निकाल्न सक्ने सांसदहरु हुनुहुन्छ,’ एमालेका एक नेताले भने, ‘भौतिकको जिम्मेवारी उहाँलाई दिनु त झनै अस्वभाविक हो ।’ केसी राप्रपा पृष्ठभूमिबाट एमालेको राजनीतिमा आएका हुन् । ‘हामीले दलका नेताले राम्रो गर्नुहोला भनेर जिम्मेवारी दिएका हौं । यो अवस्था बन्ला भन्ने सोचेनौं । पार्टीमा योगदान दिएका साथीहरुलाई मन्त्री बनाउनुहोला भन्ने लागेको थियो,’ एक सांसदले भने, ‘तर त्यस्तो भएन । दलका नेताले जवाफ त दिनैपर्छ ।’ केसीलाई समानुपातिक सांसद बनाउन पनि उनै अधिकारीले जोडबल गरेका थिए ।
एमाले पसेपछि मनाङे बाहिरिए

केन्द्रको सत्ता समीकरण प्रभाव गण्डकीमा आइपुग्यो । कांग्रेस र एमालेको संयुक्त सरकार सोमबार मात्रै गठन भयो । सुरुदेखि नै चर्चा र चासो रहेको नेसपा सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लक्षित थियो । एमालेले सुरुमा दुवै जनालाई हटाउनैपर्ने अडान लिएको थियो । मुख्यमन्त्री पाण्डेले उनीहरुलाई नहटाउने बताएपछि एमाले उनीहरुलाई कांग्रेसको कोटामा राखेर सरकारमा जान सहमत भयो । कांग्रेसले पनि दुवैलाई आफूले पाएको मन्त्रालयमा राख्न तयार भयो । ९ सदस्यीय मन्त्रिमण्लमा कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाएको छ । कांग्रेसले आफ्ना ३ जना मात्रै मन्त्री राखेर बाँकी २ मन्त्रालय देवकोटा र मनाङेलाई दिएको हो । कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । अर्थमन्त्री डा. टकराज गुरुङ र सामाजिक विकास मन्त्री विन्दुकुमार थापा छन् ।

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी र मनाङेलाई भौतिकबाट निकालेर वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको थियो ।

तर मनाङेले मन्त्रालयमा चित्त नबुझेको भन्दै राजीनामा दिए । ‘वन प्रदेशले हेर्नै पाउँदैन । प्रदेशमा वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ । के कामका लागि यहाँ वनमन्त्री ?’ उनले वनको अधिकार प्रदेशमा आएपछि र आवश्यक बजेटको प्रबन्ध भएपछि मात्रै मन्त्रालय सम्हाल्ने प्रतिक्रिया दिएका थिए । उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’, मनाङेको भनाइ छ ।

उनले अहिले दलहरूले वन मन्त्रालय छ भनेर बेवकुफ बनाएको भन्दै मिलेमा मन्त्रालय बेचिदिने प्रतिक्रिया दिएका थिए । ‘मन्त्रालय नै बेचिदिउँ भन्ने लागेको छ । ६ महिनाका लागि जसले पनि किन्न मिल्छ । पत्रकारले पनि पैसा दियो भने ६ महिना मन्त्री बनाउन मिल्छ मैले,’ उनले भने, ‘त्योभन्दा बढी मैले पनि बेच्न मिल्दैन । राम्रो भाउ पायो भने बेचिदिने नि । के काम छ त यो मन्त्रालयको ?’ उनले मुख्यमन्त्री बाहेक जुनसुकै मन्त्रालय पाए पनि अब सरकारमा नजाने बताएका छन् ।

उनको ठाउँमा कांग्रेसबाटै नयाँ मन्त्री नियुक्त हुनेछन् । कांग्रेसमा शेखर समूहबाट मन्त्री बनाउने तयारी रहेको बुझिएको छ । तर पात्रका विषयमा छलफल नै अघि बढेको छैन । कास्कीका प्रकाश बराल, बागलुङका डिल्लीराम सुवेदी, स्याङ्जाकी कल्पना तिवारीलगायतको चर्चामा छ । कांग्रेस कोटाबाट सरकारमा महिलाको सहभागिता नरहेकोले तिवारी मन्त्री बन्न सक्ने सम्भावना प्रवल देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै