पोखरा, १४ भदौ ।
‘यो गावैको देवदेउता शनिसरी माई,
रक्षामा गरिदेऊ हामी सबैलाई ।
पहिलो चरण देवदेउतालाई, दोस्रो चरण नानीलाई,
तेस्रो चरण हामी सबैलाई ।
झन हे¥यो झन् राम्रो यो चित्रे गाम छ,
पाहुनालाई हाम्रो राम राम छ ।’
हरिनास गाउँपालिका–४, चित्रेभञ्ज्याङका खिमबहादुर थापा खैजडी र मुजुराको तालसँगै यसरी भाका हाल्न सुरु गरिहाल्छन् । अनि, अरुले साथ दिन्छन् । युवतीहरु पनि खुट्टाको झर्राको ताल मिलाउँदै नृत्य गर्छन् । यसरी सुरु भएको कौराहा कति बेला सकिने हो थाहा हुँदैन । गाउँदै नाच्दै बिहान छर्लङ्ग पारेको विगत उनी अझै सम्झन्छन् ।
खिमबहादुर उमेरले ६० वर्ष पुगे । चित्रे गाउँमा कौराहा भित्रिएको पनि ६० कै हाराहारी पुगेको छ । उनका बाबुबाजेले धानेको कौराहा पछिल्लो पुस्ताले पनि जोगाएका छन् । चित्रे पूर्ण रुपमा मगर वस्ती भए पनि विसं २०२० छेकोमा गाउँमा कौराहा भित्रिएको मातृभूमि मावि, चित्रेका शिक्षक रिमबाबु राना बताउँछन् ।
कौराहाको जननी तनहुँलाई मानिन्छ । छिमेकी जिल्ला स्याङ्जा भएकाले केही सहज भएको संस्कृति संरक्षण मञ्च चित्रेका अध्यक्ष समेत रहेका शिक्षक राना सुनाउँछन् । ‘हाम्रो गाउँ स्याङ्जामा भए पनि तनहुँसँगै जोडिएकाले त्यहाँको रहनसहन रीतिरिवाज अनि संस्कृति सर्दै आएको हो,’ उनले भने, ‘तनहुँले जस्तै दुरुस्तै गर्न नसके पनि मूलभूत विषय समेटेर अहिलेसम्म नाच्दै आइरहेका छौं ।’
विशेषगरी, गण्डकी प्रदेशका मगर समुदायमा प्रचलित लोकगीतको एक प्रकारलाई ‘कौराहा’ र यसै गीतमा नाचिने नाचलाई ‘कौराहा नाच’ भनिन्छ । यो नाच सयौं वर्षअघि ऋषिङमा उत्पत्ति भएको मानिन्छ ।
देवीदेवताको प्रार्थनाबाट आरम्भ गरिने गीतमा प्रायः मायाप्रितीका भाव पोखिन्छ ।
चित्रे गाउँमा पनि देवीदेवताबाट कौराहा सुरु गरेका खिमबहादुरको समूह यसरी मायाप्रितीका भावना पोख्छन् ।
‘यो नानीको जोवान झलल भैछ र,
हेरीरहुँ लाग्ने रैछ र ।
एकछिन टाढा हँुदा पनि भित्र मन जलाउने,
माया रहेछ संसार चलाउने’
यसरी गीत गाउँदै नाचिने कौराहा चित्रे भित्रिनुको छुट्टै कथा छ । मग्याम चिसापानीमा लाग्ने चैतेदशैँ मेलामा गएका तनहुँको कौराहा टोलीका कारण आफ्नो गाउँमा यो संस्कृति भित्रिएको शिक्षक राना सम्झन्छन् । ‘लगभग ६० वर्षअघि होला, तनहुँ गोडडाँडाको कौराहा टिम चिसापानीमा लाग्ने चैतेदशैँ मेलामा नचाउन आएको थियो । त्यो मेलामा आएकाहरु चित्रेहँुदै फर्किन्थे,’ उनले भने, ‘त्यही मौका छोपेर गाउँका भूपू लाहुरले यहाँ पनि रमाइलो गरौं न भनेर सुरु भएछ । पछि गाउँलेहरुले पनि खैजडी बनाएर/किनेर सुरु गरेको भन्ने सुनिन्छ ।’
६ दशकदेखि सुरु भएको संस्कृति जोगाउन पूरै चित्रेली तल्लीन छन् । युवायुवतीको पनि उत्तिकै चासो छ । स्थानीय सोनु राना आफ्नो संस्कृति बचाउन दाजुभाइ, बा, बाजेहरुसँगै नाच्न अघि सर्ने बताउँछिन् । भर्खरै १६ टेकेकी उनी पहिलेभन्दा अचेल अलि कम नाच्ने गरिएको गुनासो गर्छिन् । आफ्नो संस्कृति हराउनेमा उनलाई चिन्ता छ । उनीसँगै नृत्य गर्ने १७ वर्षीया आकृति थापा पनि चित्रेको कौराहा हराउन नदिने बताउँछिन् । ‘मेरो मामाघर जिलाङ हो, त्यही बसेर पढ्दा नै कौराहा नाच्न सिकेको हुँ । पछि चित्रेमा आएर नाच्न थालेको पनि ६/७ वर्ष भयो,’ उनले भनिन्, ‘मलाई अरु गीतमा नाच्नभन्दा यो राम्रो लाग्छ । खैजडीको ताल सुन्नेबित्तिकै खुट्टा आफैँ उचालिन्छ । यति राम्रो मगर संस्कृति जसरी भए पनि जोगाउनुपर्छ भनेर आफू पनि नाच्छु अरुलाई पनि सिकाउँछु ।’
समुदायको संस्कार संस्कृतिसँग कौराहा नृत्य मगर जोडिएकाले चित्रेमा चाडपर्व, विवाह, छेवर, पाहुना सत्कारलगायतमा नचाइने गरिएको शिक्षक रिमबाबु रानाले बताए । प्रविधिको दू्रत विकास भइरहेको युगमा हरेक उमेरका मानिसले विभिन्न विकसित प्रविधिमार्फत सहजै मनोरञ्जन प्राप्त गरिरहेका छन् । जसले गर्दा गाउँघरको संस्कार संस्कृति ओझेलमा पर्दै गइरहेको छ । तर, ६ दशकदेखि चित्रे कौराहा संस्कृति जोगाउन तल्लीन छ ।
कौराहामा प्रयोग हुने मूल, खुरखुरे र थुन्के ३ वटै भाखामा नाच्नेगाउने गरिएको रानाले बताए । ‘मूल भाखा भनेको जतासुकै चल्ने ‘मै लुरे नि भए तन्नेरी’ जस्तो भाखा हो । अर्को हुन्छ–खुरखुरे । यो चाँही मूलभाखामा नाच्दानाच्दै विरक्त भएको बेला चट्नीरुपमा नचाइन्छ,’ उनले भने, ‘खुरखुरेलाई बिट मार्न थुन्के भाकामा गाउने नाच्ने गरिन्छ । यहाँ सबै भाका प्रयोग गरिन्छ ।’ चित्रेले यो नृत्य जोगाउन अरु ठाउँमा सिकाउँदै आएको छ । ‘हाम्रोमा सिक्ने भनेर त आउनुभएको छैन तर हेर्न र बुझ्न आउँछन् । कुनै कुनै ठाउँमा बोलाउँदा गएका छौं,’ उनले भने, ‘स्याङ्जामा कौराहा बढी नाच्ने भनिएको हरिनासमा मात्रै हो । त्यसैले सिकाउन आउनुस् भनेर नवलपुरको रकुवासम्म पुगेका छौं ।’
पछिल्लो समय चित्रेको कौराहामा केही चुनौती देखिएको उनी बताउँछन् । बसाइँसराइसँगै युवापुस्तामा विदेशी संस्कृतिको मोह बढ्दा लोप हुने हो कि भन्ने उनलाई चिन्ता छ । ‘हाम्रो गाउँमा प्रत्येक घरमा लाहुरे र पेन्सनर थिए । उनीहरुकोमा कौराहा नाच्ने गाउने हुन्थ्यो तर अहिले दर्जन घरमा लाहुरे र त्यत्ति नै घरमा पेन्सनर हुँदा कौराहा नाच्नेगाउने निकै कम भएको छ,’ उनले भने, ‘बसाइँसराइ त भइ नै हाल्यो सँगै केही युवापुस्ता अन्य संस्कृतिप्रति आकर्षित हुने गरेकाले पहिलेको जस्तो त छैन तर हामी जोगाइराख्ने पक्षमा छौं ।’
राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका अध्यक्ष हर्क आलेले धेरै मगर गाउँहरुमा कौराहा लोप भइसकेको अवस्थामा चित्रेले जोगाएर राखेको बताए । मौलिक कौराहा संरक्षणका लागि संस्थाबाट पनि साथ दिन तयार रहेको उनको भनाइ थियो । ‘कौराहाका विभिन्न प्रकार हुन्छन् । हामीले ऋषिङकोलाई मानक मानेका छौं,’ उनले भने, ‘चित्रेमा पनि एकखालको छ । उहाँहरुले अहिलेसम्म पनि जोगाएर राख्नुभएको छ । समितिबाट के गर्न सकिन्छ हामी साथ दिन तयार छौं ।’
हरिनास गाउँपालिका उपाध्यक्ष ईन्द्रकुमारी थापा रानाले संस्कृति संरक्षणका लागि सजग रहेको बताइन् । योसँगै संस्कृति पुस्तान्तरणमा सहयोग गरिरहेको उनले सुनाइन् । ‘हामी पालिकाभित्रको भाषा, कला, साहित्य, भेषभूषा, संस्कृति जगेर्नाका लागि सजग छौं,’ उनले भनिन्, ‘हरिनासभित्रका सबै जातजातिलाई जातीय पोशाक वितरण गरिएको छ । वाद्यवादनका सामग्री पनि सहयोग गरिरहेका छौं ।’
Related News
सम्बन्धित समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१