मादी गाउँपालिकालाई प्रश्न–पालिका केन्द्रको टुंगो कहिले लाग्छ ?

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०८१
madi mun

पोखरा । स्थानीय तहका रुपमा मादी गाउँपालिका बनेको ८ वर्ष पुगिसकेको छ । सुरुमा ‘थुमाकोडाँडा गाविसको केन्द्र’ लाई पालिका केन्द्र मानेको मादीले पहिलै कार्यकालमा नयाँ केन्द्र तोक्नुपर्ने हो । पालिकाले केन्द्रका रुपमा ४ वटा विकल्पमा २०७५ भदौ २६ मा प्रदेशमा सिफारिस ग¥यो । प्रदेश सरकारले २०८८ कात्तिक २१ मा पालिकालाई पत्राचार गरी केन्द्र सार्न प्रस्तावित ठाउँको मापदण्ड माग्यो । पालिकाले त्यसपछि मादी ४, बेतेनीलाई प्राथमिकतासाथ सिफारिस पठायो । त्यही ठाउँलाई प्रदेश सरकारले २०७७ माघ ५ मा बसेको बैठकबाट केन्द्रमा सिफारिस ग¥यो । उक्त निर्णयसहितको सिफारिस केन्द्रमा नपुग्दै केन्द्र सार्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट प¥यो । २०७७ माघ २२ मा परेको रिटमा २ वर्षपछि सुनुवाइ गर्दै २०७९ माघ १६ मा न्यायाधीश प्रकाशमान सिंह र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले खारेज गरिदियो ।

त्यतिबेलासम्म पहिलो कार्यकालका जनप्रतिनिधिको जिम्मेवारी सकिएर दोस्रो कार्यकालको निर्वाचन भएको थियो । केन्द्रबाट नै नयाँ जनप्रतिनिधि पालिका केन्द्रको टुंगो नयाँ ढंगबाट गर्ने गरी सुझाव पठायो । नयाँ कार्यकालको निर्वाचन भएको पनि साढे २ वर्ष भैसक्यो । तर, पालिका केन्द्रबाट कुनै निर्णय लिन सकेको छैन ।

मंगलबार यही विषय पुनः बल्झिएको छ । पालिकाको सार्वजनिक सुनुवाइका सहभागीहरुले पालिका केन्द्र टुंग्याउन दबाब दिएका हुन् । मादी ५ का चिरञ्जीवी पौडेलले पालिका अध्यक्षलाई सोधे, ‘केन्द्रको टुंगो कहिले लाग्छ ? याङ्जाकोटमै कार्यालय राख्ने हो भने ‘मादी’ नाम फेरेर थुमाकोडाँडा राखे हुन्छ ।’ केन्द्रको टुंगो नलागेकै कारण पालिकाका १२ वटै वडा कार्यालय भवन बनिसक्दा पालिकाको प्रशासनिक भवन अहिलेसम्म निर्माण प्रक्रियामा अघि बढेको छैन । कार्यक्रमका धेरै सहभागीको चासो नै पालिका केन्द्रसँग केन्द्रित थियो ।

पालिका अध्यक्ष देवीजंग गुरुङले हिउँदे अधिवेशनबाट टुंग्याएर जाने जवाफ दिए । ‘यसअघि पनि सामान्य छलफल नभएको होइन तर निणयार्थ अघि बढेको छैन,’ उनी भन्छन्, ‘अब आउने हिउँदे सभाबाट टुंग्याउने योजना छ । सकेसम्म सर्वसम्मत् टुंगो लगाउँछौं, भएन भने मतदानबाट भए पनि निकास निकाल्छौं ।’ केही वडाबाहेक अधिकांशले पालिका केन्द्र भैंसे आसपास मध्यपहाडी लोकमार्गको नजिक सार्नुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा धेरैले कृषि अनुदान दुरुपयोग भएको विषयमा पनि प्रश्न उठाए । रामचन्द्र सापकोटाले अनुदान व्यक्तिका अनुहार र पहुँच हेरेर वितरण गरिएको भन्दै विरोध जनाए । ‘अनुदान दिँदा गोठ र बारी हेरेर पो दिनुपर्छ । यहाँ उल्टो भयो, मान्छेका अनुहार र पार्टी हेरेर दिइयो,’ उनले भने, ‘अनुदानको व्यापक दुरुपयोग भएको छ । पालिकाले अनुसन्धान गरेर कारबाही गरोस् ।’

जवाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले अनुदान पाएका व्यक्ति गलत भए बेलैमा सूचना दिन आग्रह गरे । ‘हामीले सबैतिर हेरेर सक्दैनौं । तपाईंहरुले पनि गलत हुँदा तत्कालै सूचना दिनुपर्छ,’ उनले भने, ‘हामीलाई पनि वितरण भैसकेपछि कमजोरी भयो कि भन्ने लागेको छ । अब तत्कालै अनुगमन गर्छौं । गलत मान्छेले लगेको रहेछ भने आवश्यक प्रक्रिया अघि बढाउछौं ।’

सहभागीहरुले यातायातमा भाडा सहुलियत नपाएको, कृषिका कर्मचारी किसानसम्म नपुगेका, सडकहरु बर्खाले ध्वस्त बनाएर बिगारेको, १५ शैय्या अस्पताल निर्माण गलत ठाउँमा भएको, स्वास्थ्य संस्थामा तोकिएबमोजिम औषधी नपाएको लगायत गुनासो गरे ।

पालिका अध्यक्ष गुरुङले किसानले बोलाएको बेला फिल्डमा जान कृषि र पशुका कर्मचारीलाई निर्देशन दिए । यस्तै, बर्खामा बिग्रिएका सडक पानी रोकिनेबित्तिकै मर्मत सम्भार गर्ने, आवश्यकताअनुसार औषधी स्वास्थ्य संस्थामा उपलब्ध गराउने प्रतिबद्धता जनाए । पालिकास्तरीय अस्पताल निर्माण सुरु भैसकेकोले समयमा सिध्याउन सबैले दबाब दिनुपर्ने र प्रयोगमा ल्याउन चासो दिनुको विकल्प नरहेको बताए ।

यस्तै, योजनाहरुको अनुगमन नभएकोमा पनि पालिकावासीले गुनासो गरेका थिए । हुमनाथ कुइँकेलले काम सकिएर बोलाउँदा पनि प्राविधिक र अनुगमन टोली नआएको बताए । ‘योजनाको अनुगमन हुँदैन । काम सकिएपछि बोलाउँदा पनि प्राविधिकहरु आउँदैनन्,’ उनले भने, ‘नपढेका मान्छे उपभोक्ता समितिमा छन् । अंग्रेजीको लगत स्टिमेट कसरी पढेर काम गर्ने ? प्राविधिकले सहजीकरण गरिदिनुप¥यो ।’ जवाफमा पालिका उपाध्यक्ष कल्पना गुरुङले भूगोल ठूलो भएकोले सबै ठाउँमा जान नसकिएको स्वीकार गरिन् ।

केन्द्र सार्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले २०७९ माघमा खारेज गरिदिएको थियो

‘मादीको भूगोल एउटा जिल्ला बराबर छ । अनुगमनमा म मात्रै गएर पनि हुँदैन । प्राविधिकलाई कुर्दा समयमा जान सकिएन,’ उनले भनिन्, ‘आगामी दिनमा सकेसम्म सबै योजनाको अनुगमन गर्छौं । लगत स्टिमेट पनि सहज बनाउन प्राविधिकलाई आग्रह गरौंला ।’ कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका विष्णुमाया तिवारीले आफूहरुको भत्ता बढाइदिन माग गरिन् । २० वर्षदेखि दैनिक ४ सयमा काम गरेको भन्दै उनले थपिदिन भनेकी हुन् । स्थानीय सावित्री पौडेलले पालिकाले अन्यत्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति वितरणमा पनि विभेद गरेको आरोप लगाइन् ।

‘बाहिर पढ्न जाने विद्यार्थीलाई अनुदान दिने भनेको थियो तर सिक्लेस, याङ्जाकोट तिरकाले मात्रै पाए,’ उनले भनिन्, ‘हाम्रा पनि बालबच्चा छन् । सबैलाई दिनुप¥यो ।’ अघिल्लो वर्ष पर्यटन र होटल म्यानेज्मेन्ट पढ्ने विद्यार्थीलाई पालिकाले छात्रवृत्ति वितरण गरेको थियो । गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले छात्रवृत्तिका लागि सूचना जारी गर्दा कसैले चासो नदिएको र आवेदन परेकाहरुलाई दिइएको बताए । पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले गत आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिकाबाट सम्पादन भएका काम र विकास निर्माणको प्रस्तुतीकरण राखेका थिए ।

गएको वर्ष गाउँपालिकाले ५८ करोड ७४ लाख रुपैयाँ बजेट खर्च गरेको थियो । त्यसमध्ये १८ करोड ५१ लाख पुँजीगत र ३६ करोड ८९ लाख चालू खर्च छ । वर्षभरीमा ८२ लाख ८४ हजार आन्तरिक आम्दानी गरेको विवरण पालिकासँग छ । गत वर्ष १०.९ किमी नयाँ सडकको ट्रयाक खोलिएकोमा ४.५१ किमी ढलान, १०३.०५ किमी पहिरो सफा, २.७ किमी ग्राभेल गरिएको थियो । विभिन्न ठाउँमा ३ वटा झोलुंगे पुल निर्माण गरिएको पालिकाले जनाएको छ । जम्मा ४ सय १४ वटा योजना संख्या रहेकोमा ३ सय ७४ वटा सम्पन्न भएको र बजेट अभावलगायत विभिन्न कारणले ४० योजना कार्यान्वयन गर्न नसकिएको गौतमले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा विपद्को बेला सडक मर्मतमा सहयोग गरेको भन्दै पालिकाले मादी पावर प्रालिलाई सम्मान गरेको थियो । कम्पनी प्रतिनिधि टान लिमिनलाई पालिका अध्यक्ष गुरुङले प्रशंसापत्र प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

  • साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन

    आदर्श समाज सम्वाददाता असाेज १, २०८१
    पोखरा । माछापुच्छ्रे ६ का जयलाल दवाडी गाउँपालिकाको प्रशासकीय भवन प्रयोगविहीन भएकोमा चिन्तित छन् । ‘भवन त बनेको देखिन्छ, कार्यालय…
  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…

hero news full width