व्याण्ड कम्पिटिसनमा १९ स्कुल प्रतिस्पर्धी

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०८१
inter school band Main

पोखरा । पोखरा सांगीतिक कलाकार संघ, नेपाल आयोजनामा आगामी साता ‘इन्टरस्कुल व्याण्ड कम्पिटिसन’ हुने भएको छ । यही १४–१५ भदौमा पोखरा सभागृहमा हुने प्रतियोगितामा पोखरा १९ विद्यालय सहभागी हुने पक्का भएको छ ।

धेरै विद्यालयले आवेदन दिएको भए पनि उनीहरुले पठाएको भिडियो सामग्री आधारमा १९ विद्यालय छनोट भएका संघ अध्यक्ष हर्कराज गुरुङले बताए । ‘धेरैले आवेदन दिएका थिए । उनीहरुलाई भिडियो पठाउन भन्यौं,’ उनले भने, ‘जुरी कमिटीले भिडियो हेर्‍यो, १९ वटालाई मात्रै सहभागी गराउन सकियो ।’

प्रतिस्पर्धामा १२ कक्षासम्मका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रतियोगितामा सैनिक आवासीय, मदरल्याण्ड (ए), मदरल्याण्ड (बि), न्यू डायमण्ड, कास्की मोर्डनाइज्ड, प्रतिभा, गुरुकुल विद्यासदन, पोखरा एकेडेमी, बालविद्या इङ्ग्लिस बोर्डिङ, अल्फा बोर्डिङ स्कुल छनोट भए । यस्तै, लेविन्स रेसिडेन्सियल, कालिका मावि, फिस्टेल एकेडेमी, प्रगति सेकेण्डरी, ग्लोबल कलेजियट, कुमुदिनी होम्स्, कान्तिपुर एकेडेमी, गण्डकी बोर्डिङ र सगरमाथा मावि प्रतिस्पर्धाका लागि छनोट भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

‘शिक्षासँगै संगीत’ भन्ने मूल नाराका साथ हुने प्रतियोगिताअन्तर्गत पहिलो दिन सबै विद्यालयले प्रस्तुति दिनेछन् । उक्त दिन उनीहरुले गण्डकी प्रदेशभित्रका सर्जकको गीत प्रस्तुत गर्नेछन् । त्यस आधारमा १० टोली फाइनलमा पुग्ने र दोस्रो दिन अन्तिम प्रतिस्पर्धा हुनेछ । त्यस दिन प्रस्तुत गर्ने २ गीतमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत रहनेछन् । सोही प्रस्तुति आधारमा निर्णायकले विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

तल्लो तहबाटै कला र संगीतका प्रतिभा खोज्न र निखार्न प्रतियोगिता आयोजना गर्न लागिएको संघ सचिव भाष्करध्वज श्रेष्ठले बताए । ‘नब्बेको दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिन्थ्यो । त्यो विरासत अहिले छैन,’ उनले भने, ‘त्यसैलाई फर्काउन यो प्रतियोगिता कोशेढुंगा हुन सक्छ ।’

विजेताले १ लाख, दोस्रोलाई ५० हजार र तेस्रोले २५ हजार नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट भोकल, लिड गितार, बेस गिटार, उत्कृष्ट ड्रमर, पव्लिक च्वाइस र जज च्वाइसलाई पनि जनही ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width