पोखरा । छिटको गून्यू । मखमलको चोलो । रातो घलेक । टिकिया र घाँटीमा पहेंलो पोते अनि कण्ठमाला÷मुगामाला । कम्मरमा पहेंलो पटुकी त्यसमाथि खुर्पेटो र आँसी अनि कुममा सेतो लर्फूसहित चिटिक्क सजिएका बच्चादेखि आमा । अनि शिरमा ढाकाटोपी र भांग्रा भिरेका बालकदेखि वृद्ध यसरी पाहुनाको पर्खाइमा हुन्छन् ।
जब गाउँमा पाहुना पुग्छन्, अनि एकनास बज्न थाल्छ, नौमति बाजा, खैजडी, मुजुरा अनि मादल । सुरुआतमा बाजाको तालसँगै फूलमाला र अबिरले पाहुनाको भव्य स्वागत गरिन्छ । अनि सुरु हुन्छ, कौराहा, नौमति बाजा र झ्याउरे नाचसँगै गाउँ परिक्रमा । आफू नाच्दै र पाहुना नचाउँदै गाउँ घुमेर समाजघरमा पाहुनालाई खाजा पस्किन्छ । वाक स्या (बंगुरको मासु), बारा र सेल खाँदै समाजघरमै फेरि नाचगान हुन्छ ।
स्याङ्जाको हरिनास गाउँपालिका ४, चित्रेभञ्ज्याङमा व्यावसायिकरुपमा होमस्टे त छैनन् तर पाहुनाको स्वागतमा चित्रे गाउँ नै उल्टिन्छ । ८/१० जना वा त्योभन्दा थोरै पाहुना जाँदा स्वागत नगरे पनि जानकारी दिएर ठूलो संख्यामा पुग्दा स्वागत सत्कार बिछट्टै हुन्छ ।
अघिल्लो शुक्रबार ‘मिस मगर नेपाल’ को टिम मगर गाउँ अवलोकनमा चित्रेभञ्ज्याङ पुग्यो । टोलीको स्वागतमा गाउँ नै उर्लियो । दुईदिने भ्रमणमा चित्रे पुग्नेमा टिममा ११ जना प्रतिस्पर्धीहरुसँगै मिस मगर नेपालका पूर्वविजेता र सहभागीसँगै केही अग्रज अगुवा पनि थिए । चित्रे गाउँको जीवन्त मगर भाषा, कला र संस्कृति बुझ्न पुगेका उनीहरु चित्रेलीको स्वागत देखेरै दंग थिए ।
भ्रमण टोली संयोजक तथा नेपाल मगर संघ गण्डकी प्रदेश उपाध्यक्ष पवित्रा थापामगरले होमस्टे नभएको गाउँमा चित्रेलीको स्वागत अद्भूत रहेको बताइन् । ‘व्यवस्थित तरिकाले टोल विकास संस्था, आमा समूह, युवा क्लब, बाबा समूहसँगै अग्रज एकजुट भएर गरेको स्वागत र सत्कार अद्भूत थियो,’ उनले भनिन्, ‘नौमती बाजा, कौराहा, झ्याउरे अनि बाटो हिंड्दा गाउने लाम लाम ह्वाच भाका गाएर गाउँ घुमाउनु भयो । स्वागतको बयान गरिसाध्य छैन । पूरै गाउँ उर्लिएर स्वागत गरेको पहिलोपल्ट चित्रेमै देखें ।’ चित्रे गाउँमा घरबाट १ जना अनिवार्य उपस्थित हुनुपर्ने नियमका कारण उल्लेख्य सहभागिता भएको हो ।
चित्रेलीले पाहुना स्वागत गर्न होस् वा गाउँसभामा अनिवार्य उपस्थितिको नियम नै बनाएको छ । हरिनास गाउँपालिका उपाध्यक्षसमेत रहेकी चित्रेकी ईन्द्रकुमारी थापा रानाले २०६९ सालदेखि नै नियम बनाएर अघि बढेको स्मरण गरिन् । ‘२०६९ देखि हामी फरक तरिकाबाट सिस्टममा चल्न पर्छ भनेर गाउँ सभा/टोल सभा आयोजना गर्दा तोकिएको समयमा निस्कने र छुट्टिने गरी नियम बनाएका थियौं,’ उनले भनिन्, ‘सुरुमा यति समयमा उपस्थित हुने भनेर घोक हाल्ने त्यो समयमा उपस्थित नभए २० रुपैयाँ उपस्थित नै नभए ५० रुपैयाँ जरिवाना लिन सुरु गरियो ।’ भेला हुन जानकारी दिन गाउँमा अझै पनि कटवाल (घोक हाल्ने) प्रथा संरक्षण गरेर राखिएको उनको भनाइ छ ।
हरिनास गाउँपालिका ४, चित्रेभञ्ज्याङमा व्यावसायिकरुपमा होमस्टे त छैनन् तर पाहुनाको स्वागतमा चित्रे गाउँ नै उल्टिन्छ ।
हाल जरिवाना रकम बढेर ढिला आए ५० र नगए १०० रुपैयाँ जरिवाना तोकिएकोले सबै एकजुट भएको उनले उपाध्यक्ष थापा रानाले बताइन् । जरिवाना रकम गाउँमै आपत््विपत्मा सहयोग गर्ने गरिने उनले जानकारी दिइन् ।
चित्रेमा कुल १ सय १ घरधुरी छन् । जसमा शत्प्रतिशत मगर समुदायको बसोबास छ । चित्रेभञ्ज्याङ टोल विकास समिति संयोजक पहलसिंह रानामगरले पाहुना आउने जानकारीपछि चित्रको सारुथर, रोदीखोला, खड्काथर, माथिल्लोथर, गैह्रीथर साहुथर पीपलडाँडाका सबै मगर पोशाकमा सजिएर स्वागतका लागि तयार हुने गरेको सुनाए ।
सबैभन्दा पहिले आमा समूह, बाबा समूह र युवा क्लब तत्पर हुने डाँफे मुनाल आमा समूह अध्यक्ष प्रेमकुमारी रानामगरले बताइन् । ‘पूर्व जानकारीसहित पाहुना आउनुभएमा स्वागतमा ड्रेस लगाएर निस्की हाल्छौं । पाहुना भगवान् हो भन्ने चित्रेलीलाई राम्रोसँग थाहा छ,’ उनले भनिन्, ‘हाम्रो काम स्वागत सकेर खाना पकाउने खुवाउने अनि नाचगान गर्ने हुन्छ । त्यसमा हामीले कुनै कमजोरी हुन दिन्नौं ।’ आमा समूह आवद्ध ७५ जना नै पाहुनाको स्वागत सत्कारमा जुट्ने गरेको उनले सुनाइन् ।
बाक्लो मगर वस्ती चित्रेमा होमस्टेका लागि पहल भइरहेको चित्रेभञ्ज्याङ टोल विकास समिति संयोजक पहलसिंह रानामगरले बताए । यसका लागि गाउँपालिकाले पनि साथ दिइरहेको छ । ‘म आफैँ पनि अघिल्लो कार्यकालमा वडा सदस्य थिएँ । त्यो बेला गाउँभरीकै घरको छानो नीलो बनाउने अभियान चलाएको हो,’ उनले भने, ‘त्यही बेलादेखि सबै टोलमा समाजघर पनि बनाउन सुरु गरियो । केही बनिसक्यो केही बन्दैछ ।’ गाउँलेलाई होमस्टेको महत्व बुझाउन लागिपरेको उनले बताए ।
मगर समुदायको जीवन्त भाषा, कला र संस्कृतिको अवलोकनसँगै नजिकै रहेको भैरमथान, चुलीडाँडा र त्यहाँबाट देखिने हिमालसँगै माओवादी सशस्त्र द्वन्द्वका समयमा आर्मीले छोडेर राखेको बंकर देखाउन आफूहरु होमस्टे चलाउने सोचमा रहेको उनी सुनाउँछन् । योसँगै नेवार समुदायले लाखे नाच पनि चित्रेका मगर समुदायले नाच्ने गरेको उनले बताए ।
होमस्टे नखुलीसकेको अवस्थामा पनि पाहुना स्वागत गर्न आतुर रहेको अध्यक्ष पहलसिंले बताए । पूर्वजानकारी दिई ३० देखि ३५ जना सदस्यसहित टिम चित्रे पुगेमा अहिलेको अवस्थामा व्यवस्थापन गर्न सकिने उनले जानकारी दिए । पोखरा, काठमाडौं लगायतबाट तनहुँको भिमाद किहुँहुँदै चित्रेभञ्ज्याङ पुग्न सकिन्छ । यो बाटो हालसालै कालोपत्रे गरिएको छ । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट घुम्ती–चिसापानीमार्ग हुँदै पनि चित्रे पुगिन्छ ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१