तनहुँ बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

प्रकाश ढकाल
भाद्र ७, २०८१
Bus Accident

पोखरा । तनहुँमा बस दुर्घटना हुँदा २७ जना भारतीय नागरिकको मृत्यु भएको छ । नेपाल घुम्न आएका उनीहरु शुक्रबार पोखराबाट काठमाडौं जाँदै थिए । सोही क्रममा तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिकबाट बस मस्र्याङ्दी नदीमा खसेको हो । बसमा सवार ४३ यात्रुमध्ये १६ जना गम्भिर घाइते छन् । भारतीय नम्बर प्लेट–७६२३ को बस बिहान करिब ११ बजेर २० मिनेटमा दुर्घटना भएको हो । २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

‘२६ जनाको शव आँबुखैरेनीमै राखिएको छ । एक जना भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको खवर आएको छ,’ उनले आदर्श समाजलाई भने, ‘बाँकी १६ जनाको अवस्था पनि असामान्य छ । उहाँहरुलाई उपचारका लागि सेनाको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको छ ।’ मृतकहरूको सनाखत अझै हुन सकेको छैन ।

‘मृतक कसैको पनि सनाखत भएको छैन । २ वटा गाडीमा आउनुभएको हुँदा अर्को गाडीमा रहेका आफन्तहरु मार्फत सनाखतको प्रयास गरिएको छ,’ उनले थपे, ‘अनुहार धेरैको चिनिने अवस्थामै रहेकोले सनाखतमा समस्या नहोला ।’ उनीहरु भारतबाट पोखरा हुँदै काठमाडौं गएका हुन् । भदौ ५ गते गोरखपुरबाट पोखरा आएका उनीहरु २ रात पोखरामै बिताएका थिए । दुर्घटनापछि उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । दुर्घटना भएपछि भारतीय दूतावासका प्रतिनिधि समेत तनहुँ पुगेका छन् ।

प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार दुर्घटनाको कारण खुलेको छैन । ‘सिमसिम पानी परेको थियो । स्लाइड भएको पनि हुन सक्छ । बसमा अरु प्राविधिक समस्या आएको पनि हुन सक्छ,’ उनी भन्छन्, ‘तीव्र गतिको कारण पनि दुर्घटना भएको हुन सक्छ । कारण ठ्याक्कै खुलेको छैन । अहिले उद्धारमा लागेका छौं । यो सल्टिएपछि कारण खोजी गरौंला ।’ उद्धारमा खटिएकाहरु तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने आकलन गर्छन् ।

शव पोखरामा पोष्टमार्टम गरिने

दुर्घटनामा मृत्यु भएका सबैको शव पोखरामा पोष्टमार्टमपछि आफन्तलाई बुझाइने भएको छ । भारतीय पक्षकै चाहना अनुसार शवहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने तयारी भएको हो ।

को-को थिए यात्रु ?

दुर्घटनामा परेको बसमा चालक र सहचालकसहित ४३ यात्रु थिए । प्राप्त जानकारी अनुसार अनंत ओंकर ईंगके, सिमा ईंगदे, सुहास राणे, शरण राणे, चंदना राणे, सुधाकर जावके, रोहिणी जावके, विजया कुडु जावके, भारती प्रकाश जावके, सागर जावके यात्रारत् थिए । यस्तै, तुल्सीराम तायडे, शरण तायडे, भंगरण राणे, प्रकश कोखी, रेखा कोखी, संदिप सरोडे, पसवी सरोडे, गोकर्णी सरोडे, हेमराज सरोडे, रुपाक्षी सरोडे, अनुप सरोडे, गणेश भांरबे, मिलन भांरवे, सुलभा भांरवे, बिजसा जावसे, भारती भिरुक, शारदा पाटीह पनि थिए । बसमा नित्ठोमा जावरे, कुमुदिनी झाँवर, धानेन्दधर बोड, आशा बोड, आशा बावस्कर, आशाखा पांडुरंग, सुनिस धाँडे, सरोज भिरुड, पंकज भंगादे र वर्षा भंगादेलगायत सवार रहेका तनहुँ प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width