सरस्वती टीकाले बिबिए चलाउने

आदर्श समाज सम्वाददाता
भाद्र ५, २०८१
sarswoti tika

पोखरा । पोखरा ३३ स्थित सरस्वती टीका बहुमुखी क्याम्पसको आयोजनामा शैक्षिक अन्तरक्रिया कार्यक्रम एवं रणनीतिक गोष्ठी सम्पन्न भएको छ । दक्षिण पोखराको एकमात्र सामुदायिक क्याम्पसको रूपमा स्थापित उक्त क्याम्पसले दिगो आर्थिक स्रोत व्यवस्थापन तथा स्नातक तह प्रथम वर्ष विद्यार्थीको भर्ना अभियान केन्द्रित गरी सरोकारवालाबीच गोष्ठी आयोजना गरेको क्याम्पस संचालक समिति अध्यक्ष डिल्लीराम बरालले बताए ।

वडाध्यक्ष रामचन्द्र अधिकारीले क्याम्पसको समग्र शैक्षिक आर्थिक भौतिक विकासका लागि सम्पूर्ण जनताको साथ सहयोग र समर्थन आवश्यक रहेको बताए । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदानका लागि वडा कार्यालयबाट यस वर्ष भर्ना हुने सम्पूर्ण विद्यार्थीका लागि शुल्क व्यवस्थापन गरिने घोषणा समेत गरे । पोखरा विश्वविद्यालय सामाजिक शास्त्र तथा मानविकी संकायका डीन एवं क्याम्पसका सल्लाहकार समेत रहेका डा. अजय थापाले आफूले समेत यसै क्षेत्रबाट माध्यमिक तह सम्मको शिक्षा प्राप्त गरेकोले क्याम्पसको समग्र विकासका निम्ति सामूहिक एकता र गुणस्तरीय शिक्षा प्रदानको सुनिश्चितता गर्दै अगाडि बढ्ने कुरामा जोड दिए ।

सरस्वती टीकाका त्रिवि प्रतिनिधि डा. रामजीप्रसाद पोखरेलले क्याम्पस एक शैक्षिक प्रतिष्ठानको रुपमा अगाडि बढिरहेको र यस क्षेत्रमा शिक्षा विकासका लागि महत्वपूर्ण योगदान पुर्याएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा क्याम्पसका सल्लाहकार केशरप्रसाद निर्दोषी, ऋषीराज आचार्य, यज्ञप्रसाद अधिकारी, श्रीभद्र बराल, पूर्व अध्यक्ष टुकराज भण्डारी, पिताम्बर शर्मा पौडेल, बुद्धिजीवी मोहनप्रसाद भण्डारी, क्याम्पस सञ्चालक समिति कोषाध्यक्ष दिनेश आचार्य, राष्ट्रिय कलाकार तथा द्वन्द निर्देशक राजेन्द्र खड्की क्याम्पसका वडा प्रतिनिधि प्रकाश कार्की, भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, बाघमारा बहुउश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसीमणि अधिकारीले क्याम्पसको समग्र विकासको लागि आफ्नो धारणासहित दिगो आर्थिक श्रोत को व्यवस्थापनमा जोड दिने विचार व्यक्त गरे ।

सरस्वती टीकालाई दीर्घकालसम्म जीवन्त बनाउन शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि क्याम्पसको जग्गा दर्ता प्रक्रिया, १ करोडसम्मको अक्षयकोष, आठकोठे पक्की भवनको निर्माण तथा आगामी वर्षहरुमा बिबिए लगायतका प्राविधिक विषय सञ्चालन गर्नका लागि एवं विविध विषयमा छलफल गरी निर्णय भएको थियो ।

क्याम्पस संचालक समिति अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले गरेका थिए ।

पोखरा ३३, कालिकास्थान, भरतपोखरीमा रहेको त्रिविबाट सम्बन्धनप्राप्त सरस्वती टीका बहुमुखी क्याम्पस २०६९ सालमा स्थापना भएको हो । क्याम्पसको स्थापनाका लागि झन्डै ५०० जना सेनेटर सदस्य संगठित भई विश्वविद्यालय तहको ४ वर्षे बिबिएस (व्यवस्थापनतर्फ) तथा सामाजिकी तथा मानविकीशास्त्र संकायका कक्षा सञ्चालन भैरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width