पोखरा । माघेसंक्रान्ति पर्व मानेपछि कास्कीका डाँडातिर बस्ने गोठाला खर्कतिर उक्लिन्छन् । भेडा, बाख्रा, भैँसीका बथान लिएर खर्क उक्लिने उनीहरु करिब ९ महिना उतै बस्छन् । लथालिङ्ग केही भताभुङ्ग गोठ जाडो महिनाभर स्याहारसम्भार गरी बस्नयोग्य बनाएर गुजारा धान्छन् । त्यसबीचमा उनीहरुको दैनिकी खर्क र डाँडातिर वस्तुभाउ चराउनु, स्याहार गर्नु, दूध दुहुनु, तताउनु, मोही पार्नु र घिउ निकाल्नुमै बित्छ ।
सातादश दिनमा सम्हालेर राखेको घिउ र कुराउनी बोकेर घर झर्छन् । घर खर्क उक्ँिलदा गोठमा बस्दा खानका लागि पिठो, चामल, आटो, नुनतेल लिएर जान्छन् । त्यो बेला अर्को गोठाला वा आफ्नै परिवारका सदस्यले गोठ धानिदिने चलन छ । तर, पछिल्लो समय गोठघर गर्दा गोठ सम्हाली दिने भेटिन गाह्रो छ । भैँसी र गोठ हेर्न मान्छे नपाउने मात्र होइन, रातमा डर लाग्दा साथ दिने पनि भेट्न मुस्किल पर्ने माछापुच्छ्रे गाउँपालिका ९, प्रन्धुका कुलबहादुर क्षत्री बताउँछन् ।
प्रुन्धु गाउँबाट करिब १ घण्टा दुरीमा रहेको नमर्जे खर्कमा भैँसी गोठ भएका कुलबहादुरले यो वर्ष साथी नै पाएनन् । ‘यस्तो अनकन्टार जंगलमा डर लागिहाल्छ नि, डर लागेर के गर्नु सम्पत्ति भनेकै भैँसी हो । पाल्नै परो,’ उनले भने, ‘एक्लै त आत्तिन्छु । पोहोर त तल्लो गोठमा साथी आएको थियो, अहिले ऊ पनि आएन ।’ तर, खर्कमा भैँसीको स्याहार गर्न निकै रमाइलो लाग्ने उनको कथन छ ।
उनकोमा अहिले १० वटा भैँसी छन् । एउटा दुहुनो र ४ वटा ब्याउनेवाला छन् । एउटा भैँसीको दूधले ५/६ दिनमा १२ सय जति कमाइ हुने उनले बताए । ‘अहिले एउटा दुहुनो भैँसी छ । त्यसले १ पटकमा ३ माना जति दूध दिन्छ,’ उनले भने, ‘बिहानबेलुकी ६ माना जति हुन्छ । त्योबाट ५/६ दिनमा १ माना घिउ निस्किन्छ । हामीले मानाको १२ सयले बेच्छौं ।’
बर्खामास खर्कमा राम्रो घाँस हुने भएकाले आफूलाई भैँसी चराउन रहर जागेर आउने कुलबहादुरले बताए । तर, बढ्दो आधुनिकतासँगै खर्क बस्ने परम्परा लोप हुनेमा उनको चिन्ता छ । उनकै आफ्ना छोराछोरीहरु पनि अरु पेसामा व्यस्त भइसकेको सुनाए । उमेर ६२ वर्ष लागेका उनी आफू खर्क उक्लिन नसक्ने भएपछि पनि जोगाइराख्नुपर्ने सुझाव दिन्छन् । उनका अनुसार नमर्नेभन्दा केही तल तलको मेर्कुम खर्कमा पनि भैंसीगोठ घट्दै गएका छन् । उनी भने खर्कहरु घट्न नदिने तर्क राख्छन् ।
बुढापाकाको भरमा चलेको भेडीगोठ र खर्क जोगाउन युवा जागरुक हुनुपर्छ ।
यस्तै, मादी गाउँपालिका २, ताङतिङका ९० वर्षीय रनबहादुर गुरुङ भेडीगोठ जोगाउन तल्लीन छन् । वैँशजोवान लेकमा बिताएका असली गोठाले रनबहादुरलाई भेडीगोठप्रतिको मोहले बुढ्यौलीमा पनि छाडेको छैन । २० वर्षको उमेरदेखि भेडाको पछि लागिरहेको उनले अनुभव सुनाए । ‘म २०/२५ वर्ष हुँदादेखि नै भेडा लिएर लेकतिर उक्लिन थालेको हुँ,’ उनले भने, ‘९० वर्ष लाग्यो । बुढो पनि भइयो अब त छोड्ने बेला भयो ।’
ताङतिङदेखि माथि ठूलोलेकमा उनको भेडीगोठ छ । त्यहाँ पुग्न ताङतिङबाट २ दिन लाग्छ । ‘ठूलोलेक पुग्न त २ दिन लाग्छ । बाटोमा बास बसेर जानुपर्छ,’ उनले भने, ‘अहिले त त्यहाँ गोठ धेरै छैनन् । पहिला ७/८ गोठ हुने ठाउँमा यो बेला मेरो मात्र छ ।’ पूर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुग्न थालकोमा उनी चिन्तित छन् । पुख्र्यौैली पेसा जोगाउन गोठाले राखेर पनि ३ सय हाराहारीमा भेडाबाख्रा लेकतिर लगेर पाल्ने गरेको उनले बताए ।
रनबहादुर पछिल्लो १ वर्षदेखि पोखरा माटेपानी बस्दै आएका छन् । तर, समय मिलाएर भेडीगोठ जान नछोडेको उनले बताए । उनले लेकका भेडा हेर्न गोठाले पनि राखेका छन् । उनको कर्ममा अहिले छोरा टुकबहादुर गुरुङले साथ दिएका छन् । टुकबहादुर लाहुरेको पेन्सिन आएपछि बाबुको काममा हातमाहात मिलाएका हुन् । ‘युवाहरु बाहिर जाने क्रममा यहाँ भएको भेडीगोठ सम्हाल्ने मान्छे पाइएन । हाम्रो पुख्र्यौंली पेसा जोगाउनुपर्छ भन्ने चाहना छ,’ टुकबहादुरले भने, ‘त्यसैले बाबाले गरेको काममा साथ दिएको हुँ ।’
आफूहरुले नसकेको अवस्थामा यो पेसा लोप नै भएर जाने हो कि भन्नेमा उनी पनि चिन्तित छन् । संरक्षणका लागि केही न केही योजना अघि सार्नुपर्ने उनको भनाइ थियो । ‘गर्न खोज्ने अनि सक्नेका लागि भेडीगोठमा भेडा पालन सहज नै छ,’ उनले भने, ‘यो लोप हुने अवस्थामा छ । अब बिस्तारै यसको महत्व र पुख्र्यौली पेसाका बारेमा नयाँ पिढीलाई बुझाउनु आवश्यक छ ।’ बुढापाकाको भरमा चलेको भेडीगोठ र खर्क जोगाउन युवा जागरुक हुनुपर्छ ।
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१