आठौं पोखरा स्पोर्टस् अवार्डबाट करिब २ लाख बचत

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०८१
nsjf gandaki 1

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्ड–०८० बाट १ लाख ८६ हजार बचत भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले सातौं स्थापना दिवस अवसरमा बुधबार आयव्यय सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

सरकारी, व्यक्तिगत तथा विभिन्न निकायबाट गरी कुल १८ लाख ५० हजार आम्दानी भएकोमा १६ लाख ६४ हजार खर्च भई उक्त रकम बचत भएको मञ्च कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तीमगरले जानकारी दिइन् । यस अलावा मञ्चलाई विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानबाट ३ लाख ६२ हजार बराबरको सहयोग प्राप्त भएको बताइएको छ ।

गत २८ वैशाखमा मञ्चले आयोजना गरेको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ल सम्मानित भएकी थिइन् । वर्ष खेलाडी (पुरुषतर्फ) क्रिकेटका अर्जुन कुमाल र (महिलातर्फ) आईटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर भएका थिए । उनीहरुलाई मञ्चले योमा माई मोर्टस्को टेल्जी स्कुटर प्रदान गरेको थियो । उदीयमान खेलाडी ब्याडमिन्टनकी दिलासा राना, प्रशिक्षक रमेश केसी (भलिबल), पत्रकार रोहितराज पराजुली र क्लबतर्फ सहारा क्लब पोखराले नगद ३५ हजारसहित अवार्ड प्राप्त गरेका थिए । मञ्चले ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसका अन्तर्राष्ट्रिय वरियताप्राप्त खेलाडी अभिषेक बास्तोलालाई स्पेसल अवार्ड दिएको थियो ।

२०७२ सालदेखि आयोजना गर्दै आएको उक्त अवार्ड यस क्षेत्रकै ब्रान्ड बनिसकेको मञ्च अध्यक्ष एवं अवार्ड मूल समिति संयोजक दीननाथ बरालले बताए । उनले सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि हातेमालो गर्दै अगाडि बढ्ने बताए ।

सो अवसरमा अवार्ड कार्यक्रमको समीक्षासमेत भयो । अवार्डलाई आगामी दिनमा थप परिष्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले सुझाव दिए । मञ्चका निवर्तमान महासचिव विजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, धनबहादुर गुरुङ, विजय नेपाली, रूपनारायण ढकाल, बालकुमारी पौडेल (तारा) लगायतले पोखरा स्पोर्ट्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।

सो अवसरमा निवर्तमान महासचिव विजय नेपालले मञ्चको पत्रकार कल्याणकारी अक्षयकोषमा ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरे ।

मञ्च संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अक्षयकोषको छुट्टै बैंक खाता स्थापना गर्न सुझाव दिँदै उक्त अभियान सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मञ्च अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस युनियन गण्डकी उपाध्यक्ष माधवप्रसाद रेग्मी, प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडीलगायत बोलेका थिए । मञ्च महासचिव राजाराम पौडेलले संचालन र उपाध्यक्ष सुरज श्रेष्ठले धन्यवाद ज्ञापन गरे ।

मञ्च पूर्व अध्यक्ष एवं सल्लाहकार विनोद लामिछाने, सल्लाहकार रञ्जन अधिकारीलगायत उपस्थित थिए । कार्यक्रममा केकसमेत काटेर सेलिब्रेसन गरिएको मञ्च सचिव शशिकुमार पौडेलले बताए।

Related News

सम्बन्धित समाचार

  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…
  • पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । पोखरामा शुक्रबार अमोडा ई५ डिलक्स र अफरोडर एसयूभी जेको जे६ सार्वजनिक गरिएको छ । पोखराका लागि ओमोडा र…

hero news full width