पोखरा । बंगलादेशमा चर्किएको आन्दोलनले सोमबार हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले सत्तामात्र त्यागिनन्, देश नै छोड्न बाध्य भएकी छन् । त्यहाँ अन्तरिम सरकार बनाउने घोषणा गरिएको छ ।
बंगलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै १ महिनाअघि ढाका विश्वविद्यालयबाट विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो । आन्दोलनका क्रममा आइतबार ९४ जनाको मृत्यु भएको थियो भने अहिलेसम्म कम्तीमा ३ सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिका, महिलासहित कैयौँ सर्वसाधारण रहेका स्थानीय मानव अधिकारवादी समूहले जनाएका छन् ।
विद्यार्थीको आन्दोलनले हिंसात्मक रुप लिँदा सोमबार परिस्थिति अनियन्त्रित बन्यो । कर्फ्यू आदेशबीच हजारौंको संख्यामा नागरिकहरू प्रधानमन्त्रीको सरकारी निवासतर्फ अघि बढ्दा ७६ वर्षीया हसिना देश छाड्ने निर्णयमा पुगेकी थिइन् । प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिएकी हुन् । उनले आफ्नो व्यक्तिगत सुरक्षालाई मध्यनजर सरकारी निवास (गणभवन) छोडेर हेलिकोप्टरमार्फत छिमेकी मुलुक भारत गएकी छन् ।
सेनाप्रमुख वाकर–उज–जमानले प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएको बताएका हुन् । ‘प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ । अब सेनाको पहलमा अन्तरिम सरकार बन्नेछ,’ जमानले भनेका छन् । कामचलाउ सरकारको नेतृत्व सेनाप्रमुख जमानले आफैँ गर्ने वा अन्य कसैलाई जिम्मेवारी दिइनेछ भन्ने विषयमा उनले केही बताएका छैनन् । बंगलादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको कार्यक्रममा सेना प्रमुख जमानले भनेका छन्, ‘देशले धेरै क्षति व्यहोरेको छ, अर्थतन्त्र प्रभावित भएको छ, धेरै मानिस मारिएका छन् । अब, यो हिंसा रोक्ने समय हो,’ वाकरले भनेका छन्, ‘मलाई आशा छ, यो सम्बोधनपछि स्थितिमा सुधार आउनेछ ।’
आन्दोलनप्रति नागरिक सहभागिता बढेसँगै मोबाइल इन्टरनेटलाई देशव्यापी रूपमा कडाइका साथ प्रतिबन्धित गरिएको थियो । कार्यालयहरू बन्द गरिएको थियो र देशका आर्थिक रूपले महत्वपूर्ण ३ हजार ५ सय भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द गरिएको थियो । विद्यार्थीद्वारा अवज्ञा आन्दोलनको घोषणा गरेकै दिन राजधानी ढाकालगायतका स्थानमा स्थिति थप तनावपूर्ण बनेको हो । आइतबार उत्तरपूर्वी शहर इनायतपुरको एक स्टेसनमा प्रदर्शनकारीले आक्रमण गर्दा १४ जना प्रहरी अधिकारीसहित कम्तीमा ९४ जनाको मृत्यु भएको थियो ।
बंगलादेशमा हर्षोल्लास
प्रधानमन्त्रीको बहिर्गमनसँगै प्रधानमन्त्री भवनमा हजारौँ बंगलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् । उनीहरूले फर्निचर भाँच्नुका साथै शिशाहरू तोडफोडसमेत गरे । प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुशीयाली मनाइरहेको तस्बिर स्थानीय संचारमाध्यमले प्रसारण गरेको थियो ।
हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकाबाट प्रदर्शनकारीले हर्षोल्लास गर्दै विरोध प्रदर्शन र खुशीयाली मनाएका छन् । प्रदर्शनकारीहरूले ३२ धानमन्डीमा बंगबन्धु शेख मुजिबर रहमान स्मृति संग्रहालयमा आगजनी गरेका छन् । संग्रहालयमा भीषण आगो लागेको र प्रदर्शनकारीहरूले नाराबाजी गरेका हुन् । आन्दोलनकारीहरूले सोमबार दिउँसो करिब ४ बजे अवामी लिगको ढाका जिल्ला कार्यालयमा पनि आगो लगाइदिएका छन् । शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए । प्रदर्शनकारीहरूले गणभवनको मैदानमा हात उठाएर खुशीयाली मनाएका थिए ।
हसिना अब राजनीतिमा नफर्किने
देश छोडेर भागेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नफर्किने बताइएको छ । उनका छोरा सजिब वाजेद जोय आफ्नी आमा अत्यन्त निराश रहेको र अब उनको राजनीतिमा पुनरागमन नहुने बताएका हुन् । प्रधानमन्त्रीका सल्लाहकार समेत रहेका वाजेदले आफ्नो सबै कडा परिश्रमपछि पनि अल्पसंख्यक आफ्नो विरुद्धमा उठेकोमा उनी निराश रहेको बताएका हुन् । हसिनाले अघिल्लो दिनदेखि राजीनामा दिने विचार गरिरहेकी थिइन् । उनले परिवारले आग्रह गरेपछि आफ्नै सुरक्षाको लागि देश छाडेकी हुन् ।
उनी सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिएकी छन् । भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए । उनी नयाँ दिल्ली बस्ने वा अन्यत्र जाने भन्ने यकिन छैन । बंगलादेशका मिडिया आउटलेटहरूले उनी लन्डन जान सक्ने अनुमान गरेका छन् ।
१५ वर्ष शासन गरेकी हसिनाको बर्हिगमनलाई त्यहाँका नागरिकहरूले ‘एउटा तानाशाहको अन्त्य’ का रुपमा बुझेका छन् । हुन पनि बंगलादेशी नागरिक देशमा भएको भ्रष्टाचार र प्रधानमन्त्रीको तानाशाही व्यवहारबाट दिक्क थिए । (एजेन्सीको सहयोगमा)
Related News
सम्बन्धित समाचार
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा
लक्ष्मी विद्या पदक प्रदान
सुनास कास्कीमा सिरोज
पोखरामा अमोडा ई५ डिलक्स र जेको जे६ लन्च
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
भाद्र २७, २०८१पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
भाद्र २७, २०८१