पोखरा, १८ साउन । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनीक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ ।
महानगर मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो । महानगरका उपप्रमुख एवं मल वितरण व्यवस्थापन समिति संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
डिपोदेखि बिक्री केन्द्रको दुरीका आधारमा यूरिया मल प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको हो । डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा, पोटासको ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रतिकिलो बढिमा २ रुपैयाँ थप लिन सक्ने छन् ।
पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि गत आव २०८०/८१ मा मल बिक्रेताले बिक्रीका आधारमा कोटा निर्धारण गरिएको कडरियाले जानकारी दिए । अनुुमति नलिइकन बिक्री वितरण गर्ने, तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने र आफ्नो कार्यक्षेत्रभन्दा बाहिर बिक्री गर्ने, मूल्यसूची नराख्ने र बिलबिजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने छ ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुुदेवी गुुरुङले मल सहज र सुपथ मूल्यमा बिक्री गरे वा नगरेको अनुगमन गर्न निर्देशन दिइन् । उनले भनिन्, ‘किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गथ्र्यौ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं ।’
महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताा आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको बताउँदै अनुुदानको मल बढी मूल्यमा बिक्री गरेको पाइए कारबाही गरिने चेतावनी दिए ।
कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जनाउँछन् । यसका लागि किसानमा सचेतना अभिबृद्धि गर्नुुपर्ने आवश्यकता औंल्याए ।
सरकारले उपलब्ध गराउने अनुुदानको रासायनिक मल साल्ट ट्रेडिङ र कृषि सामग्री मार्फत बिक्री वितरण हुने गरेको छ ।
पोखरा महानगरमा गत आवमा युरिया १२२१ मेट्रिक टन, डीएपी ६४५ मेट्रिक टन र पोटास ९८.९५ मेट्रिक टन गरी १९६५.२ मेट्रिकटन खपत भएको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लि. पोखराका प्रमुख सागर शेरचनले गण्डकी प्रदेशमा रासायनिक मलको अभाव नभएको बताए । गत वर्ष यहाँबाट गण्डकीमा युरिया ४५१५.७०, डिएपी २१४२.७५ र पोटास १४५.६० मेट्रिकटन खपत भएको भएको थियो ।
कृषि सामग्री कम्पनी लि.बाट ६९३५.६५ मेट्रिक टन युरिया, २७९५.२० डिएपी र ५२३.७५ मेट्रिकटन पोटास खपत भएको कम्पनी प्रमुख ठाकुरप्रसाद बास्तोलाले बताए ।
बैठकमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत नवीन सुुवेदी, महानगर सहकारी शाखा प्रमुख अनिल कार्की, महानगर सहकारी समिति संयोजक रविरमण तिवारी, अर्घौ कृषि सहकारी संस्था लि. पोखरा २६ का अध्यक्ष तथा बिक्रेता कलाधर पाण्डे, महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामी लगायतको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
साढे ६ करोडमा भवन, कर चुक्ता नहुँदा सर्न मिलेन
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
सदस्यता नदिएकोमा कास्कीमा विरोध
भागवत् वाचन प्रतियोगिता
प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता
hero news full width
मुख्य समाचार
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
भाद्र २९, २०८१