पोखराको पर्यटन प्रवद्र्धन गर्दै ‘डुलुवा’

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८१
duluwa Main

पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि ‘डुलुवा’ टोली भारत भ्रमणमा निस्केको छ । १९ सदस्यीय टोली रक्सौल हुँदै भारतको दक्षिणी सीमामा पर्ने तामिलनाडुको कन्याकुमारीसम्म पुगेर आगामी २५ अगस्तमा मात्र फर्किनेछ ।

टोलीलाई बिहीबार बिहान पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भारतीय पेन्सन वितरण क्याम्प, पोखराका प्रमुख पिएस बेगल, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका नि. प्रमुख नवीन पोखरेल, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले बिदाइ गरेका छन् । कास्कीको कास्कीकोटदेखि भारतको कन्याकुमारीसम्मको भ्रमणलाई ‘केटुके’ नाम दिएर पर्यटन प्रवद्र्धनात्मकमा निस्किएको हो । भ्रमण रक्सौल, पटना, कोलकाता, पुरी, भाइजाग, चेन्नई, पोंडिचेरी, रामेश्वरम, कन्याकुमारी, कोची, गोवा, मुम्बई, अहमदाबाद, द्वारका, जयपुर, दिल्लीहुँदै पुनः पोखरामै आएर समापन हुने टोली संयोजक योगश भट्टराईले बताए ।

१९ सदस्यीय टोलीले ४ गाडीमा यात्रा गर्नेछन् । ‘डुलुवा’ अभियानको मुख्य उद्देश्य नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरताको प्रचार गर्दै भारतीय पर्यटकहरूलाई बढ्दो साहसिक पर्यटनका सम्भावनाबारे जानकारी गराउने संयोजक भट्टराईले बताए ।

टोलीले हरेक सहरमा पुगेर स्थानिय व्यवसायी र पत्रकारसँग छलफल तथा अन्र्तक्रिया गर्ने उनले बताए ।

टोलीलाई बिदाइ गर्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले भ्रमणले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गरे । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख बघेलले भ्रमणले भारत र नेपालबीचको सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय प्रमुख नवीन पोखरेलले पर्यटनको ठूलो बजार भारतमा गएर ‘डुलुवा’ टोलीले प्रवद्र्धन गरेपछि त्यसको प्रभाव बिस्तारै पोखरामा देखिने बताए । पोखरा पर्यटन परिषद् अध्यक्ष श्रेष्ठले ‘डुलुवा’ टोलीलगायतको भ्रमणले पोखरामा १५ लाख जना पर्यटक भित्राउन मद्दत मिल्ने बताए ।

नेपाल पर्यटन वोर्डका पूर्व सदस्य तथा अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले डुल्नु, घुम्नुको मज्जा र महत्व छुट्टै रहेको बताए । उनले भ्रमणबाट केही न केही नयाँ कुरा सिकिने बताए । नेपाली संस्कृतिमा प्रचलित ‘डुलुवा’लाई युवालक्षित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००८ मा यो स्थापना भएको हो । ‘डुलुवा’ नेपालका ७० जिल्ला भ्रमण गरिसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width