स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु, विद्यार्थीसहित २८ घाइते

विजय नेपाल
श्रावण १५, २०८१
Bus accident (2)

पोखरा । विद्यार्थी बोकेको बस दुर्घटना हुँदा पोखरामा सोमबार आमाछोराको मृत्यु भएको छ । अधिकांश सानो उमेरका विद्यार्थीसहित २८ जना घाइते भएका छन् । पोखरा क्षेत्रमा स्कुल बस दुर्घटनामा यति ठूलो मानवीय क्षति सम्भवतः पहिलो हो ।

पोखरा–१७, बिरौटास्थित एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको ग१क ६२१९ नं. को बस पोखरा २१, रामदीबाट विद्यालय फर्किनेक्रममा गुड्कुस्थित भित्रीसकडखण्डमा सोमबार बिहान ८ बजेर ५५ मिनेटमा दुर्घटना भएको हो । बस सडकदेखि करिब ५० मिटर तल खसेको छ ।

बसमा सवार ३० जनामध्ये दुर्घटनामा विद्यालयका कार्यालय सहयोगी पोखरा २१ निवासी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो । आरतीका अर्का ९ वर्षीय छोरा अनमोल घाइते छन् । प्रिन्सले एलकेजीमा पढ्थे । जेठा छोरा अनमोल कक्षा ३ मा पढ्छन् । दुर्घटनापछि स्थानीय र प्रहरी सहयोगमा उद्धार गरी घाइतेलाई अस्पतालमा पठाइएको थियो । घाइते अधिकांशको टाउको, अनुहार, हातखुट्टा, ढाड लगायत शरीरका विभिन्न भागमा चोट लागेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक मोहनकुमार थापाको कमाण्डमा ५५ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी मेडिकल अस्पतालमा पुर्‍याइएकी आरतीलाई चिकित्सकले बिहान पौने १० बजे मृत घोषित गरेका हुन् । यस्तै उपचारका क्रममा उनका छोरा प्रिन्सको १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

आरती दुई छोरासँगै स्कुलमा दिनहुँजसो सोही गाडीमा चढेर आउजाउ गर्थिन् । उनी कार्यालय सहयोगी भएकोले विभिन्न काममा सघाउँथिन् । बस यात्रा गर्दा आरतीले सधैँझैं कान्छो छोरालाई काखमा लिएकी थिइन् । गण्डकी मेडिकलमै उनका जेठा छोरा अनमोलको उपचार भइरहेको छ । उनको खुट्टामा सामान्य चोट लागेको छ । अवस्था मध्यम रहेका उनी सहजै बोल्न सक्छन् । तर उनलाई आमा र भाइको मृत्यु भएको कहालीलाग्दो घटनाबारे बताइसकिएको छैन । दुर्घटनामा ज्यान गुमाएका उनका भाइ प्रिन्स एलकेजीमा पढ्थे । गत वर्षमात्र उनी नर्सरीमा भर्ना भएका थिए । उनका बाबु रोजगारीका लागि विदेश जाउजाउ गर्छन् । श्रीमती र कान्छा छोराको मृत्युले उनी बेहोस रहेको पोखरा २१ का वडाध्यक्ष दीपक सुवेदीले बताए ।

पहिले ग्राभेल फुस्रेखोला–रामदी–मट्टीखान सडकमा भसर्खरैमात्र कालोपत्रे भएको हो । कालोपत्रे भएकोले विभिन्न गाडीका चालकले गाडी पनि स्पिडमा कुदाउँदैआएका थिए । यसअघि पनि उक्त बसका चालकलाई स्पीड नकुदाउन सचेत गराइएको फुस्रेखोला–रामदी–मट्टीखान सडक निर्माण उपभोक्ता समिति सदस्य समन गुरुङले बताए । गाडी माथिल्लो घुम्दीदेखि सिधा अगाडि घर्सिंदै तल्लो सडकमा बजारिएको घाइतेले बताए ।

एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस तीव्र गतिका कारण सडकदेखि ५० मिटर तल खसेर दुर्घटना भएको हो

गाडी उत्तानो परेर सिधैँ बजारिएको भए अझै धेरै मानवीय क्षति हुन सक्ने उद्धारमा खटिएका स्थानीय शिव बरालले बताए । शिव पोखराको सवलाइम स्कुलका शिक्षक हुन् । खाना खाएर स्कुल जाने तयारी गर्दा घर छेवैमा स्कुल बस पल्टिएको देखेपछि हतारिँदै उनी दुर्घटनास्थल पुगेका थिए । उनैले कास्की प्रहरीलाई दुर्घटनाबारे पहिलो खबर दिएको बताउँछन् । उनले भने, ‘स्कुल जाने तयारी गरेको थिएँ, हेर्दाहेर्दै घर नजिकै बस पल्टिएको देखेपछि तुरुन्तै दुर्घटनास्थल गएर उद्धार गरेका हौं । उद्धार कार्य सकेर गाडीमा घाइते अस्पताल पठाएपछि मात्र प्रहरी आएको थियो ।’ ओभरस्पिडका कारण बस चालकले नियन्त्रण गुमाउँदा यति ठूलो मानवीय क्षति व्यहोर्नुपरेको उनले बताए । घाइते विद्यार्थीलेपनि बस दुर्घटनामा मुख्य कारण अत्यधिक गति भएको बताउँछन् । चालकले अरु बेलाभन्दा बढी नै स्पिडमा गाडी कुदाएको बताए । तर बसचालक पोखरा १७ बिरौटा निवासी ५५ वर्षीय टेकबहादुर भुजेल भने ‘ब्रेक फेल’ भई दुर्घटना भएको प्रहरीलाई प्रारम्भिक बयान दिएको बताइएको छ । ढाडमा चोट लागेका ती चालकको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा २८ जना घाइतेमध्ये गण्डकी मेडिकल कलेजमा ९ वर्षीय अनमोलसहित ५ वर्षीय रोशन बराल, १४ वर्षीय दीप्सन कार्की, ६ वर्षीया योजना गुरुङ, १३ वर्षीया डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा बिक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विसिका पौडेल, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षीया सिम्रन बिक र ११ वर्षीय विवश खत्रीको उपचार भइरहेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत् रहेकामा पोखरा २१ निवासी ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीय सिमन मगर, ३ वर्षीय न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी बिक (छोरेपाटन स्कुलकी विद्यार्थी), ७ वषीय अस्मित बिक, ३० वर्षीया सुमित्रा सुनार (बच्चाको फि तिर्न आएकी अभिभावक), २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले, ११ वर्षीय निश्चल सुुनार छन् ।

मणिपालमा बसचालक भुजेलसहित ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको उपचार भइरहेको छ । मृतक परिवारलाई भेट्न तथा घाइतेको स्वास्थ्य अवस्था बुझ्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य विभिन्न अस्पताल पुगेका थिए ।

विद्यार्थी बोक्न विद्यालयका ३ बस र १ भ्यान छन् । सोमबार दुर्घटनामा परेको बसले पोखरा २१, रामदी र एकहातेका ठाउँबाट विद्यार्थी बोक्दै आएको थियो । बसको सिट क्षमता २० जनाको भए पनि क्षमताबढी यात्रु राख्दै आएको बताइएको छ । सो विद्यालयमा करिब ४ सय ६० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

Related News

सम्बन्धित समाचार

  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…
  • पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन अन्तर्गत शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । शुक्रबार पोखराका मेयर…
  • डेभिज फल सहकारीको १३ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा, २८ भदौ । डेभिज फल बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१७ को १३ आौं वार्षिक साधारण सभा शुक्रबार…
  • लक्ष्मी विद्या पदक प्रदान

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । कास्कीका विभिन्न क्याम्पसबाट व्यवस्थापन संकायअन्तर्गत विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीलाई ‘लक्ष्मी विद्या पदक’ द्वारा सम्मान गरिएको छ ।…
  • सुनास कास्कीमा सिरोज

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०८१
    पोखरा । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीमा सिरोज कोइराला अध्यक्षमा निर्विरोध निर्वाचित भए । शुक्रबार संस्थाको १८ औं वार्षिक…

hero news full width