पोखरा महानगरको अनियमिताप्रति राप्रपाको ध्यानाकर्षण

आदर्श समाज सम्वाददाता
असार १२, २०८१
Pokhara metro

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा अनियमितता र बेथिति मौलाउँदै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८० को महालेखा परीक्षण प्रतिवेदनका अनुसार महानगरमा देखिएको ७९ करोड २३ लाख ७५ हजारको बेरुजु, राजस्व असुलीमा २५ प्रतिशतको गिरावट, दीर्घकालीन लाभ र प्रतिफलदायी योजनाको चयनमा भएको कमजोरी लगायत महानगरमा भएका सबैखाले अनियमितताप्रति पार्टीको ध्यानाकर्षण भएको राप्रपा कास्की अध्यक्ष नारायण गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले विज्ञप्ति जारी गरी ध्यानाकर्षण गराएका हुन्

महालेखाको प्रतिवेदन अनुसार पोखरा रिठ्ठेपानी डाँडा कटानबापत प्राप्त हुने ८ करोड ४० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी महानगरमा दाखिला नभएको पाइएको, मणिपाल अस्पताललाई १९ करोड ८१ लाख ११ हजार रुपैयाँ राजस्व छुट दिई नक्सापास स्वीकृति दिएको, मनपरी १ सय २१ जना कर्मचारी भर्ना गरि नियम विपरीत ४ करोड २५ लाख ९ हजार ७ सय ४० रुपैयाँ खर्च गरेको, मापदण्ड र कार्यविधी बिना विभिन्न संघसंस्था र व्यक्तिहरुलाई आर्थिक सहायता वितरण गरेको, रामघाट क्षेत्रबाट खेर जाने स्रोत साधनको उपयोग गरि राजस्व असुल गर्न नसकेको, फेवाताल सिल्ट्रेसन ट्रामका खोलामा प्राविधिक आधार विना ५० प्रतिशत कम परिमाणमा ठेक्का सम्झौता भई २ करोड ६० लाख २१ हजार नोक्सानी भएको लगायतका अनियमिताप्रति राप्रपाले गम्भीरतापूर्वक नियालिरहेको जनाएको छ ।

साथै, कार्यतालिका बमोजिम हर्पन तथा खहरे खोलाको ड्यामको निर्माण कार्य सम्पन्न नभएको, नियमावली विपरीत विभिन्न नाममा विभिन्न मितिमा एउटै कामको लागि अलग–अलग उपभोक्ता समिति गठन गरी सीमाभन्दा बढी रकम भुक्तानी गरेको, वैदेशिक भ्रमणमा भएको लाखौंको अनियमितता, सामाजिक सुरक्षा भत्तामा भएको करोडौंको अनियमितता, प्रमाण बेगरका भुक्तानीहरु भएको, प्रगति शून्य भएका आयोजनाको संख्या सैयौं भएको, सार्वजनिक जग्गामा निर्माण भएका सटरबाट लाखौंका भाडा कर असुल नभएको, बिना प्रतिष्पर्धा सोझै खरिदमा भएको करोडौंको अनियमितता, नगर युवा परिषद्मा भएको अनियमितता, आमा सुरक्षा कार्यक्रममा भएको करोडौंको अनियमितता, करिब २ करोड बराबरको खाना खाजा खर्च लगायत महानगरका सबैखाले अनियमितताप्रति राप्रपाले प्रश्न उठाएको छ ।

आन्तरिक लेखापरीक्षणले कैफियत सहितको राय बुझाउँदा पनि पोखरा महानगरपालिकाले त्यसलाई सुधार गर्ने तर्फ वास्ता नगर्नु र सोही कैफियत महालेखा परीक्षणको क्रममा देखिनु निकै लज्जास्पद र गैरजिम्मेवारीपूर्ण रहेको राप्रपाले ठहर गरेको छ ।

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ भन्ने मानेर राष्ट्रिय राजनीतिमा अगाडि बढिरहेको पार्टीलाई भ्रष्टाचारलाई प्रश्रय दिने बेरुजु महानगरमा बढ्दै जानु, अनियमितता बढ्दै जानु पक्कै पनि सह्य लाग्ने विषय नभएको राप्रपा कास्की प्रवक्ता अरुण गिरी बताउँछन् ।

पोखरा महानगरका यसखालका अनियमितताको घोर विरोध गर्दै जनताको मतमा टेकेर भ्रष्टाचार र अनियमिततालाई जोड दिने नेतृत्वले यस विषयमा सत्यतथ्य बाहिर ल्याउन जोडदार माग गरिएको छ । महानगरपालिकालाई यथाशीघ्र त्यस्ता अनियमितता रोक्न, नियमित गर्न, अनियमितताबारे जवाफदेही हुन र आवश्यक प्रमाण पेश गरि बेरुजु फछ्र्यौट गर्न राप्रपाले माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग