रोजगारी नपाएका सूर्यप्रसादको आम्दानी वार्षिक २५ लाख 

रामबहादुर थापा, रासस
जेठ २६, २०८१
Mauri
पोखरा । कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा  १० हजारको लगानीमा २ वटा घारबाट सुरु भएको उनको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’ का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ ।
‘मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौं, हालसम्म एक करोड बढी लगानी भइसकेको छ,’ ४२ वर्षीय लामिछानेले भने, ‘उद्योगमा वार्षिक १ करोड बढीको कारोबार हुन्छ, झण्डै २४÷२५ लाख जति आम्दानी छ ।’ उद्योगमा ६ जनाले रोजगारी पाएका छन् । लामिछानेको परिवारका सदस्य पनि सोही व्यवसायमा तल्लीन छन् ।
कतै रोजगारी नपाएपछि २४ वर्षको उमेरमा मौरीपालनमा होमिएका लामिछाने अहिले आफैं रोजगारदाता बन्न सफल भएका छन् । ‘यहाँ उत्पादित मौरीघार पूर्वमा सिन्धुलीदेखि देशका विभिन्न जिल्ला र सहरमा पुग्छ, धेरैजसो खपत गण्डकी प्रदेशभित्रै छ,’ उनले भने, ‘कुनै याममा त गोलासहितको मौरीघारको माग पुर्‍याउनै धौधौ हुन्छ, मौरीपालन व्यवसायबाट म सन्तुष्ट छु, उद्योगको कामले एकछिन फुर्सद हुँदैन ।’
मौरीसहितको आधुनिक घारको बजार मूल्य १० हजार र घारको मात्र ४ हजार तोकिएको उनले जानकारी दिए । ‘गोलासहित वर्षमा १२ सय जति घार उत्पादन र बिक्री हुँदै आएको छ, किसानहरूबाट घार लिने र त्यसको सट्टा किसानलाई मौरीको गोला पनि दिने गरिएको छ,’ उनले भने । महमात्रै बेचेर वर्षमा ८ देखि १० लाखसम्म जति कमाइ हुने गरेको लामिछानेले सुनाए ।
उद्योगबाट प्रतिकिलो १ हजार ५ सयमा मह बिक्री हुने गरेको छ । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी हुने गरेको उनको भनाइ छ । उनका अनुसार उद्योगमा अहिले ३ सय ५० घार मौरी छन् । वार्षिक १२ सय देखि १५ सय किलोसम्म मह उत्पादन हुँदै आएको छ । मौसम अनुकूल पर्दा मह उत्पादन अझ बढ्ने गरेको उनको भनाइ छ । वर्षको २ याममा मह उत्पादन हुन्छ । उद्योगबाट मौरीपालनका लागि आवश्यक पञ्जा, झोला, टोपीलगायत सामग्री पनि बेच्ने गरिएको छ ।
साढे ३ सय मौरी घारबाट महमात्रै बेचेर वर्षमा ८ देखि १० लाखसम्म जति कमाइ
लामिछानेले स्थानीय सेरेना जातको मौरीपालन गर्दै आएका छन् । स्वस्थ मह उत्पादनदेखि वातावरणीय सन्तुलन कायम राख्न पनि सेरेना जातको मौरी उत्कृष्ट मानिने उनको भनाइ छ । स्याउका बिरुवामा परागसेचनका लागि मुस्ताङका स्याउ किसानले पनि सोही उद्योगबाट मौरी लगेका उनले बताए । उनले मौरीपालन गर्न चाहने किसानलाई तालिम पनि दिन्छन् । उत्कृष्ट मौरीपालक किसानका रुपमा उनी देशविदेशमा सम्मानित भएका छन् ।
विसं २०७३ मा राष्ट्रिय युवा परिषद्ले ५० हजार नगदसहित उनलाई सम्मानित गरेको थियो । ‘सम्मान ग्रहणका लागि जापान पनि पुगें,’ उनले भने, ‘महसम्बन्धी सम्मेलनमा भाग लिन अमेरिकालगायत युरोपका विभिन्न देश घुम्ने अवसर पाएँ ।’ मौरीलाई शरीरमा राखेर पनि उनले बेलाबेलामा चचार्मा आउने गरेका छन् । उनको उद्योगले गत वर्ष मह खाने प्रतियोगिता पनि आयोजना गरेको थियो ।
‘बेगनास मौरीघार उद्योग’ नमुना मौरी स्रोत केन्द्रका रुपमा विकास हुँदै गएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए । ‘महानगरले पनि किसानलाई उनकै उद्योगबाट घार उपलब्ध गराउँदै आएको छ, यहीं स्रोत केन्द्र भएपछि अन्यत्रबाट ल्याउनुपर्ने बाध्यता हटेको छ,’ उनले भने ।
प्रमुख कडरियाले मौरीपालनमा लाग्न चाहने किसानका लागि लामिछाने प्रेरणाको स्रोत रहेको बताए । ‘उहाँ धेरै ठाउँमा पुरस्कृत र सम्मानित भइसक्नुभएको छ, उहाँ मौरीपालनसम्बन्धी तालिमका लागि पनि पोख्त हुनुहुन्छ,’ प्रमुख कडरियाले भने, ‘मौरीपालन व्यवसाय प्रवद्र्धनका गतिविधिमा पनि उनको सक्रियता राम्रो छ ।’
महानगरले विभिन्न वडालाई ‘मौरी पकेट क्षेत्र’ घोषणा गरेर घारलगायत मौरीजन्य सामग्रीमा किसानलाई अनुदान सहयोग गर्दै आएको उनको भनाइ छ । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुने भएकाले मौरीपालनमा किसानको आकर्षण बढ्दै गएको प्रमुख कडरियाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width