पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आउँदो सोमबार (२८ जेठ) विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मतका लागि संसद् बैठक बोलाउन सचिवालयमा निवेदन बुझाएका छन् । निवेदन आधारमा सोमबार दिउँसो ३ बजे बैठक डाँकिएको सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएकै दिन शपथपछि उनले नीति तथा कार्यक्रम र बजेट संसदबाटै ल्याउने घोषणा गरेका थिए ।
असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिता पास हुनुपर्छ । गण्डकीमा बजेटका सिद्धान्त र प्राथमिकता छलफल भैसकेको छ । यद्यपि पास भएको छैन । पाण्डेले विश्वासको मत लिएलगत्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।
चुनौती मोल्दैछन् पाण्डे ?
पाण्डेसँग अहिले आफ्नै दलको २७ सिटमात्रै छ । विश्वासको मतका लागि ३१ सिट चाहिन्छ । सत्ता बाहिर सभामुख सहित ३३ सिट छ । एमाले र माओवादी केन्द्रीय समीकरणको एकै ठाउँमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदले पाण्डेलाई मत दिन सक्छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) क्याम्प फेर्न माहिर छन् । पाण्डेले भौतिक पूर्वाधार मन्त्री बनाएका पाण्डे पछिल्लो समीकरणमा खगराज अधिकारीतिर ढल्किए । पुनः उनी पाण्डेकै क्याम्पतिर लाग्ने सम्भावना छ ।
त्यति हुँदा पनि पाण्डेसँग ३० सिट मात्रै हुन्छ । उनले विश्वासको मत पाउन विपक्षी गठबन्धनबाट सांसद चोर्नुपर्छ अर्थात् फ्लोर क्रस । माओवादी केन्द्रको चुनाव चिन्हबाट विजयी नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटाले पाण्डेकै पक्षमा मत दिन सक्ने बुझिएको छ । विश्वासको मतको निर्णयमा पुग्नुअघि पाण्डेले काठमाडौंमा शीर्षनेतासँग छलफल गरेर फर्किएका हुन् । स्रोतका अनुसार बहुमत पुग्ने भएपछि नै उनी संसद ‘फेस’ गर्ने निर्णयमा पुगेका हुन् । ‘शीर्षनेतासँग छलफल भएपछि पोखरा आएर संसद बैठक बोलाइदिन पत्र पठाउनुभएको हो,’ उनीनिकट स्रोत भन्छ, ‘सम्भवतः बहुमत पुग्ने अवस्था छ ।’
पाण्डेले विश्वासको मतका लागि संसदमा पत्र पठाउनु अघि दलका सांसद र मन्त्रीहरुसँग संवाद गरेका थिए । उनले विश्वासको मत पाउने सम्भावना देखिएको ब्रिफिङ गरेका थिए । राप्रपाले विश्वासको मत दिने निर्णय गरिसकेको छैन । तर केन्द्रीय प्रवक्ता मोहनकुमार श्रेष्ठ ३१ सिट पुग्ने अवस्थामा राप्रपाले साथ दिने बताउँछन् । ‘उहाँले बहुमत पुग्ने सुनिश्चितता दिनुभयो भने विश्वासको मत दिन सकिन्छ,’ श्रेष्ठले भने ।
परमादेशपछि संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिने
उता, मनाङेलाई मनाउन नेताहरु लागिरहेका छन् । सांसद देवकोटा पनि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेर फर्किएका छन् । डा. भट्टराई अहिलेको गबठन्धनसँग रुष्ट छन्, खासगरी प्रधानमन्त्री प्रचण्डसँग । मुख्यमन्त्री निवासमा शुक्रबार छलफलमा देवकोटाले पनि मत दिने कांग्रेसको निष्कर्ष छ । जेहोस्, उनले विश्वासको मत नपाए सरकार ढल्छ । त्यसपछि प्रदेश प्रमुखले धारा १६८ (५) बमोजिम बहुमत पाउन सक्ने सांसदलाई मुख्यमन्त्री दाबी गर्न आह्वान गर्छन् ।
बोल्ने बेला भएको छैनः देवकोटा
देवकोटाले भने पार्टीको निर्णय आएपछि मात्रै प्रतिक्रिया दिने बताए । ‘घटनाक्रम अध्ययन गर्दैछु । पार्टीको निर्णय आएपछि बल्ल मेरा कुरा राख्छु,’ उनले भने, ‘अहिले नै मैले कुनै निर्णय लिएको छैन । बाहिर आएका कुरा सबै सत्य होइनन् ।’ यद्यपि प्रदेशलाई अप्ठेरो हुने अवस्था आए उचित निर्णय लिने उनको भनाइ छ ।
फ्लोर क्रस गरे कारबाहीः बुढा
माओवादी प्रमुख सचेतक कुसुम बुढाले दलीय पद्दतिमा फ्लोर क्रस सम्भावना नरहेको बताइन् । उनले उपधारा (३) मा दलको ह्वीप लागु हुने भन्दै कोही फरक कित्तामा उभिए कारबाही हुने चेतावनी दिइन् । ‘फ्लोर क्रस हुँदैन । जसको नाम लिनु भयो उहाँ निरन्तर संसदीय दलको बैठकमा आउनुभएको छ,’ उनले भनिन्, ‘फ्लोर क्रस गर्ने कुरा हुँदैन । त्यो अवस्था आउँदैन ।’
के देवकोटालाई कारबाही हुन्छ ?
माओवादीले भनेजस्तो सजिलो छैन, देवकोटालाई कारबाही गर्न । उनले फ्लोर क्रस गरे कारबाहीका लागि माओवादी संसदीय दलले माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी दुवैतिर पत्र पठाउनुपर्छ । माओवादीले मात्रै कारबाही गरेर देवकोटाले पद नगुमाउने नेसपा नेताहरुको तर्क छ । ‘फ्लोर क्रस गरेपछि कारबाही हुन्छ, स्वभाविक हो । तर कारबाही गर्ने कसले ?,’ एक नेताले भने, ‘माओवादीले दुवै दललाई कारबाहीका लागि सिफारिस गर्नुपर्छ । एउटा मात्रै दलले कारबाही गरेर लाग्दैन ।’
मन्त्री पाए मान्छन् मनाङे
स्वतन्त्र सांसद दीपक मनाङेको अर्को परिचय छ, ‘जता मन्त्री उतै समर्थन’ । दोस्रो निर्वाचनपछि लगभग १ वर्ष मन्त्रीबाट बाहिर रहेका उनलाई अल्पमतमा परेपछि पाण्डेले भौतिक पूर्वाधार विकास मन्त्री बनाइदिए । केही दिन उनकै क्याबिनेटमा मन्त्री बनेका मनाङे खगराज अधिकारीले सरकार बनाउँदा उतै गए । पाण्डेले ३० मत पु¥याए बहुमतका लागि आफूले मत दिने बताएको कांग्रेस नेताहरुको दाबी छ ।
Related News
सम्बन्धित समाचार
अपहरण शैलीमा ल्याइएको रविको गुनासो
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
hero news full width
मुख्य समाचार
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
मंसिर २१, २०८१पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१