पोखरामा ‘श्रमाधान रोजगार मेला’ सुरु

आदर्श समाज सम्वाददाता
जेठ २२, २०८१
Shramadhan Opening Photo

पोखरा । संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ ले बेरोजगार र रोजगारदाताबीच पुलको काम गर्ने बताएका छन् । सोमबार गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला उद्घाटन गर्दै अर्यालले मेला रोजगारीको मिलनविन्दुको रुपमा स्थापित हुने बताएका हुन् ।

‘यो देशमा धेरै रोजगारी दिन चाहने संस्थाहरु हुनुहुन्छ । पोखरामै भन्ने हो भने यति धेरै होटल व्यवसायीहरु छन्, जहाँ धेरै कर्मचारी आवश्यकता छ भनेर हामीलाई भनिराख्नुभएको छ,’ उनले भने, ‘अर्कोतिर यति ठूलो जमात छ । जसले २५ देखि ४० हजारसम्मका लागि विदेशिनुपर्ने विडम्बना छ । त्यसलाई यी दुईबीचको मिलनविन्दु, पुलको रुपमा केही काम गर्न सकिएला भनेर हामीले मेलाको कन्सेप्ट लिएर आयौं ।’ १७ गते कोशी प्रदेशबाट सुरु भएको मेला ३० गते वागमती प्रदेशमा पुगेर समापन गरिने उनले सुनाए ।

मेलाले तत्काल रोजगार प्रदान गर्नेभन्दा पनि रोजगारसम्बन्धी जनचेतना फैलाउनु मुख्य उद्देश्य रहेको उनले बताए । आगामी वर्षदेखि ३ तहका सरकारले यसलाई भव्य रुपले आयोजना गर्नुपर्नेमा उनको जोड थियो । ‘यस्तोखालको कार्यक्रम गर्न बजेट राखिदिनुहोस है भनेर हामीले सबै प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरिसकेका छौं । हामीले पनि बजेट छुट्याएका छौं,’ उनले भने, ‘तीनै तहका सरकार मिलेर आवश्यकता अनुुसार पालिकामै पुगेर कार्यक्रम गरेर बढीभन्दा बढी सूचना प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँबाट सहर र सहरबाट विदेश जाने डरलाग्दो ट्रेन्ड रोक्न मेलाले सहयोग पुग्ने बताए । युवालाई उत्पादनसँग जोड्दै रोजगार सिर्जना गर्नुपर्नेमा उनको जोड थियो । समयको उचित सदुपयोग गर्न नसक्दा बेरोजगार बन्नुपरेको उनले सुनाए । ‘संघ प्रदेश र स्थानीय तहलाई उत्तरदायी बनाएर एउटा एकीकृत कार्यक्रम ल्याउन सक्ने हो र श्रमबजारमा यो कार्यक्रम लैजान सकियो भने समस्या सम्बोधन गर्न सक्छौं कि,’ उनले भने, ‘बेराजगारीको सही समयमा सही समाधान हामीले निकाल्नैपर्छ । यो कार्यक्रमले केही न केही उपलब्धि निकाल्ने कुरामा विश्वस्त छु ।’

मेलाले बेरोजगार र रोजगारदाताको पुलको काम गर्दछ: श्रम मन्त्री अर्याल

गण्डकीका ऊर्जा, जलस्रोत तथा खानोपनी एवं सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले रोजगारीका लागि लगानी आवश्यक भएकाले सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘रोजगारमैत्री वातावरण सिर्जना गर्नका लागि सरकारबाट नीति नियम परिमार्जन गर्नेदेखि नीति तथा कार्यक्रम र बजेटमा रोजगारलाई अझ बढी महत्व दिएर बढिरहेको पाएका छौं,’ उनले भने, ‘प्रदेश सरकारले पनि रोजगारलाई महत्व दिएर अघि बढिरहको जानकारी दिन चाहान्छु ।’

पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरले पोखरा विजनेस सेन्टर स्थापना गरेर ३ हजारभन्दा बढीलाई राजगारीको सम्भावनाको खोजी गरिरहेको जानकारी दिए । आगामी दिनमा संघ, र प्रदेश सरकारसँग मिलेर रोजगारी सिर्जनाका कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाए ।

श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले रोजगारदाता र रोजगारी खोज्नेहरुबीच पुलको काम गर्ने बताए । बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सांकेतिक पहल भएको उनको भनाइ छ ।

पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको संघीय मन्त्री अर्याल र गण्डकीका मसख्यमन्त्री पाण्डेले संयुक्त उद्घाटन गरेका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था छन् ।

मेलामा ३९ स्टल छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टल राखिएका छन् । २ दिनसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • सापकोटा कल्याण केन्द्रको साधारणसभा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । सापकोटा कल्याण केन्द्र, कास्कीको आठौं साधारण सभा हेमजामा शनिबार सम्पन्न भएको छ । साधारणसभाको सापकोटा कल्याण केन्द्रका सभापति…
  • लैंगिक हिंसाविरुद्ध प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    लेखनाथ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारे प्रशिक्षण…
  • पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री

    रासस मंसिर २१, २०८१
    पोखरा । पोखराको सबैभन्दा जेठो राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव बिहीबार समापन भएको छ । विसं. २००६ मंसिर २० मा…
  • पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै

    आदर्श समाज सम्वाददाता मंसिर २१, २०८१
    पोखरा । कोरियाली टोलीले पोखराको हरित यातायात प्रणाली विकास परियोजनासम्बन्धी अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज आचार्यलाई बुझाएको छ । पोखरा…
  • सहारा बाल आधारभूतमा सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । पोखरा–९, शिवटोल बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहितको तातो–चिसो पानीको सुविधासहितको धारा सहयोग गरिएको छ । पोखरा…

hero news full width