पोखरा। मानिस कति उमेरसम्म काम गर्न सक्छ ? सजिलो र सपाट उत्तर हो–ज्यानले दिएसम्म गर्ने । त्यही ज्यानले दिएकै कारण ९० वर्षीय हंशबहादुर गुरुङ बिहानदेखि बेलकासम्म काम गरिरहेका छन् ।
खासमा यो उमेर कामै नगरी नातिनातिनासँग रमाएर बस्ने उमेर हो । तर, उनलाई त्यस्तो लाग्दैन । घरमा पुगिसरी हुँदा पनि उनी काम गरिरहेछन्, सेवा गरिरहेछन् । दिनकै १२/१३ लाखको कारोबार सम्हाल्छन् । पोखराको अमरसिंहचोकस्थित गण्डकी पेट्रोलियम कम्पनी प्रालिका उनी कार्यालय सचिव हुन् । यो कम्पनीले सञ्चालन गरेको पेट्रोल पम्प पोखराकै पुरानोमध्ये एक हो । ५ दसकअघि खुलेको यो पेट्रोल पम्प हाल अमरसिंहचोकमा छ ।
उनको मातहत १२ जना कर्मचारी छन् । सबैलाई आ–आफ्नो सुम्पिएको जिम्मेवारी खटनपटनको व्यवस्था मिलाउँछन् । कर्मचारीको मासिक तलब भत्ता खुवाउने, पेट्रोल÷डिजेल खरिद माग गर्ने, बिक्री वितरणको व्यवस्थापन गर्ने, कार्यालय व्यवस्थापनदेखि दैनिकरुपमा भैपरि आउने कामको जिम्मेवारी २५ वर्षदेखि उनकै काँधमा छ ।
कास्कीको उत्तरी तान्चोक गाउँमा विसं १९९२ मंसिर २० मा उनको जन्म भएको हो । साविक लुम्ले गाविस वडा ३ (हाल अन्नपूर्ण गाउँपालिका वडा ७) तान्चोकका बाबु सु.लालध्वज र आमा भाइखु गुरुङका ३ छोराहरुमा उनी माहिला हुन् । दिदीबहिनी छैनन् । गाउँमा त्यसबेला स्कुल कलेज नहुँदा उनले प्रारम्भिक शिक्षादीक्षा घरमै पाए । त्यसबेला बाबुले उनलाई घरमै पढाउन शिक्षकको प्रबन्ध गरेका थिए । भारतबाट ब्रिटिसको आधिपत्य नहट्दै सन् १९४४ मा उनका बाबु सुवेदारबाट रिटायर्ड भएका हुन् । हंशबहादुरले पढाइ भने बाह्रैमास हुन्थेन । चैतदेखि असारसम्म खेतीपातीमा व्यस्त हुँदा त्यसबेला पढाइ टुट्थ्यो । शिक्षकलाई बिदा दिइन्थ्यो ।
हंशबहादुर त्यस्तै १९ वर्षका थिए । उनका दाइ हर्कबहादुर भर्ती भइसकेका थिए । त्यसबेला भारतीय सेनामा भर्तीका लागि गल्ला गाउँमै आउँथे । हंशबहादुर पनि देखाउन गए । छानिए पनि । भर्तीका लागि गोरखपुर जानुपथ्र्यो । प्रारम्भिक शिक्षा आर्जन गरेका उनको योग्यता ८ कक्षा पास ठानियो । फौजमा काम गर्नेक्रममा विभिन्न ठाउँमा दुस्मनसँग लडेको उनको सम्झना अझै ताजै छ । भारतमै गृहयुद्धका कारण नागाल्याण्ड होस् वा छिमेकी चीनसँगको लडाईंमा उनी तालिया पुगे भने पाकिस्तान–भारतविरुद्धको लडाईँ पनि डटेर लडेको उनले स्मरण गरे ।
कार्यालय व्यवस्थापनदेखि दैनिकरुपमा भैपरि आउने कामको जिम्मेवारी २५ वर्षदेखि उनकै काँधमा छ ।
सेवाका क्रममा उनले साढे ४ वर्ष आर्मी स्कुलमै पढाए पनि । मेडिकल बोर्ड हुँदै करिब १४ वर्षको सेवामै उनी हवल्दार पदबाट अवकास लिए । दाइ हर्कबहादुर लेफ्टिनेन्टटबाट अवकास हुँदा भाइ पदमबहादुर लेस्नायकबाट निस्किए ।
भारतीय सेनाको नोकरीपछि घर फर्किने क्रममा सुनौलीहुँदै पोखरा आउन सिद्धार्थ राजमार्ग भर्खरै खुलेको थियो । दाइ हर्कबहादुरसहित क.प्रेमबहादुर, जिमु धीरबहादुर र डब्लुओटु इमानसिंह गुरुङ मिलेर ६४ लाखमा बस किनेका थिए । उनी त्यही बस हुँदै पोखरा फर्किंए । मट्टिखान आइसकेपछि उनले पोखरामा फाट्टफुट्ट बत्ती बलेको देखे । पोखरामा बिस्तारै विकास हुन लागेको भेउ पाए । पोखरा आउँदा उनलाई भारतीय पेन्सन क्याम्प हेर्ने रहर जाग्यो । कस्तो रैछ भनी रामजार पुगे । त्यसबेला खरले छाएका साना साना झुपडीहरु थिए । बर्सेनि जनवरीदेखि मार्च (३ महिना) पेन्सन बाँडिने भएपछि यस क्षेत्रका भारतीय पेन्सनरहरुको मेला लाग्थ्यो । उनले पेन्सन क्याम्पमा क्यान्टिन खोल्ने योजना बनाए । निवेदन दिए । स्वीकृत भयो । ८ जना कर्मचारी राखेर चिया नास्ता बेच्न थाले । यति चल्यो कि पैसा राख्न पनि भ्याइनभ्याइ हुने । उनले भने, ‘क्यान्टिन निकै चल्यो । ग्राहकको भिड बढेपछि पैसा राख्न पनि भ्याइनभ्याइ हुने । त्यसबेला १ रुपैयाँमै ४ कप चिया आउँथ्यो ।’
केही समय क्यान्टिन चलाएपछि उनी दाइहरुसँग मिलेर बसमा लगानी गरे । अर्को बस थपियो । उनी त्यही बसमै हिंडडुल गर्न थाले ।
यसैक्रममा २०२९ सालमा पोखराको पृथ्वीचोकमा हिमालय पेट्रोल पम्प खुलेको थियो । हंशबहादुरले यो देखेका थिए । उनले दाइ हर्कबहादुरसँग नयाँ योजना सुनाए, ‘कतिञ्जेल बस चलाउने । बिग्रेको बिग्र्रै गर्ने । एउटा स्थिर हुनखालको व्यवसायमा हात हाल्नु प¥यो भनी पेट्रोल पम्प खोल्नुपर्यो ।’
यो योजना दाइलाई पनि मननयोग्य लाग्यो । भारतीय पेन्सनरहरुबीच एउटा भेलामा यो योजना सुनाइयो । सबै जना सहमत भए । पेट्रोल पम्प खोल्न तत्कालीन क.प्रेमबहादुर गुरुङ, सु.कृष्णबहादुर गुरुङ र सु.पदमबहादुर गुरुङलाई जिम्मा दिने भेलाले निर्णय ग¥यो । पृथ्वीचोकमा भारतीय सेनाका ५० जना भूपूहरु मिलेर २७ भदौ, २०३१ मा कम्पनी रजिस्ट्रार कार्यालयमा ३ लाख ५० हजारमा गण्डकी पेट्रोलियम कम्पनी प्रालि नाममा पेट्रोल पम्प सञ्चालनमा ल्याए । यो नै पोखराको दोस्रो पुरानो पेट्रोल पम्प हो । हाल स्थानान्तरण भइ पोखरा १०, अमरसिंहचोकमा सञ्चालित छ । यही कम्पनीमा उनी २०५७ सालदेखि कार्यालय सचिव भइ सम्पूर्ण जिम्मेवारी सम्हालेका हुन् ।
०३९ सालमै उनले तान्चोक गाउँमै सुन्तली खेती गरे । ६ सय बोट थिए । बर्सेनि २ लाखसम्म सुन्तला बेच्थे । अहिले पोखरामै बढी बसोबास भएकाले त्यहाँ हेरालु राखेका छन् । पहिलेजस्तो रेखदेख नहुँदा सुन्तला खेतीबाट खासै फाइदा हुन नसकेको उनी बताउँछन् । उनले लुम्ले कृषि अनुसन्धान केन्द्रमा सिनियर टेक्निसियन भइ करिब २२ वर्ष काम सेवा गरे । हंशबहादुर र मनसुवा दम्पतीका २ छोरा र २ छोरी छन् । जेठा छोरा अमेरिका छन् भने कान्छा नेपालमै व्यवसाय गर्छन् । बिहेबारी भइसकेका जेठी छोरी स्पेन र कान्छी हङकङ छन् । छोरातर्फ १ नाति र १ नातिनी तथा छोरीतर्फ २ नाति छन् । हाल पोखरा मालेपाटन आफ्नै घरमा बस्ने उनी बिहानै ४ बजे नै उठ्छन् । सामान्य योगा अभ्यास गर्ने उनी विशेषगरी हिँडडुल गर्न रुचाउँछन् । कहिलेकाही बुहारीले गाडीमा कार्यालय ड्रप गर्छिन् । नभए उनी कहिले सार्वजनिक गाडी चढ्छन् भने कहिले हिडेरै घर कार्यालय आउजाउ गर्छन् । उच्च रक्तचाप मेन्टेन गर्न औषधी चलाए पनि अन्य रोगव्याधले छोइसकेको छैन । आँखा प्रस्टै देख्छन् । कान ट्वाक्कै सुन्छन् । गत वर्ष उनलाई पोखरा ५ वडा कार्यालयले ज्येष्ठ नागरिकको रुपमा सम्मान गरेको थियो ।
बुढ्यौलीमा पनि हंशबहादुरको यो फूर्ति देखेर कम्पनी अध्यक्ष सुवेदार गणेशबहादुर गुरुङ पनि छक्क पर्छन् । कम्पनी सञ्चालक समिति सदस्य समेत रहेका नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ भन्छन्, ‘उहाँ (हंशबहादुर) हाम्रो लागि प्रेरणाको स्रोत हो । उहाँलाई देखेर पनि हामीलाई अल्छी गर्ने छुट छैन । उहाँको इमानदारीसँगै कार्यालयको सहज व्यवस्थापनकै कारण २५ वर्षदेखि अनवरत् चलाइरहनु भएको छ ।’
Related News
सम्बन्धित समाचार
चिनियाँ हाइनुओ र भारतीय माहिका विजयी
पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन
आदर्श कपमा आयोजकको विजयी सुरुआत
१० औं राष्ट्रिय खेलकुद चैत २३–३० सम्म
‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँः मुख्यमन्त्री पाण्डे
hero news full width
मुख्य समाचार
प्याब्सन स्पोर्टस् मिटमा कसलाई मिल्यो सफलता ?
पाठ्यक्रम समयसापेक्ष बनाउन जरुरी : शिक्षा मन्त्री
मंसिर २१, २०८१पोखराको यातायात प्रविधिमैत्री र स्मार्ट बन्दै
मंसिर २१, २०८१शिक्षामन्त्री कोटिहोममा
मंसिर २०, २०८१प्याब्सन स्पोर्टस् मिटमा ४ हजार ५ सय खेलाडी प्रतिस्पर्धामा
मंसिर २०, २०८१पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग
मंसिर २०, २०८१