इन्स्योरका लागि विद्यालय अनुगमन

आदर्श समाज सम्वाददाता
जेठ १८, २०८१
insure Project Photo 1

पोखरा । दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर) परियोजना अन्तर्गत आगामी आर्थिक वर्षमा गण्डकी प्रदेशका ४ सय जनाले प्राविधिक विषय निशुल्क पढ्दैछन् । स्वीस सरकार अनुदानमा गण्डकी सरकारद्वारा सञ्चालन हुने उक्त परियोजनामा मनाङ र पर्वत बाहेक ९ जिल्लाका प्राविधिक विषय पढाइ हुने विद्यालयमा सोको अध्ययन अध्यापन हुँदैछ ।

हेल्भेटास नेपालको प्राविधिक सहयोग रहने उक्त परियोजनामा गण्डकीका ३३ विद्यालय प्रारम्भिक छनोटमा परेका छन् । जसअन्तर्गत स्याङ्जाका ९ वटा छन् । छनोट विद्यालयको वस्तुस्थिति बुझ्न सरोकारवालाले अनुगमन गरेको छ ।

अनुगमन टोलीले स्याङ्जामा प्राविधिक विषय पढाइ हुने र प्रारम्भिक छनोटमा परेका सबै विद्यालयको अनुगमन गरेको प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत उच्च शिक्षा तथा संस्कृति महाशाखा प्रमुख भोजराज न्यौपानेले बताए । जसमा फेदीखोलाको सिद्धार्थ मावि, पुतलीबजारको त्रिभुवन आदर्श नमुना मावि, वालिङको रणवीर जनहित मावि र वालिङकै आँधिखोला बहुप्राविधिक शिक्षालयको अनुगमन गरिएको उनले बताए । यस्तै, गल्याङको महेन्द्र दर्शन मावि, कालीगण्डकीको आलमदेवी बहुप्राविधिक शिक्षालय, कालीगण्डकीकै वीरेन्द्र मावि, चापाकोटको किसान बहुप्राविधिक शिक्षालय र बिरुवाको भुरुङ चौकी मावि अनुगमन गरिएको हो ।

अनुगमनमा विद्यालयमा ल्याब अवस्था, शैक्षिक गतिविधि, अध्यापन गराउने शिक्षकको अवस्थासँगै इन्स्योरको मर्म अनुसार प्राक्टिकलका लागि सम्भाव्य औद्योगिक क्षेत्रबारे जानकारी लिइएको उनले बताए । प्राप्त सूचना आधारमा जेठ अन्तिम साता विद्यालयका प्रतिनिधिलाई पोखरा बोलाएर छलफल गरिने छ ।

यो परियोजना अन्तर्गत आगामी आवमा गण्डकीका ४ सय जनाले निशुल्क प्राविधिक विषय पढ्दै

अनुगमन टोलीका सहभागी हेल्भेटास नेपाल, इन्स्योर परियोजनाका गण्डकी प्रदेश व्यवस्थापक सुशील लिंखाले आगामी वर्षदेखि सुरु हुने २४ महिने कोर्स सम्भाव्यता कोर्न अनुगमनले सहज बनाएको बताए । उनका अनुसार स्वीस सरकार सहयोगमा हुने परियोजना यो दोस्रो कार्यकाल हो । योभन्दा अघि २०१६ सालमा यस्तै परियोजना भएको थियो । सम्झौतामा ३ परियोजना सञ्चालन हुनेछ । यसमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप (इन्स्योर), युवाका लागि गुणस्तरीय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (क्वालिटी) र राष्ट्रिय व्यावसायिक योग्यता प्रणाली (एपिटिएस) परियोजना छन् ।

यी ३ मध्ये आगामी साउनदेखि सुरु हुने परियोजनाअन्तर्गत साढे ३ वा ४ महिना स्कुलमा अध्ययन, त्यसपछि साढे १९ महिना उद्योगमा पढ्दै, सिक्दै कमाउँदै गर्ने व्यवस्थापक लिंखाले बताए । बाँकी १ महिना विद्यालयमै पुगेर अन्तिम परीक्षाको तयारीमा रहनेछ । साढे १९ महिना फिल्डमा जाँदासमेत सातामा एक दिन विद्यालयमा पढाइ हुने उनले बताए ।

प्रि–डिप्लोमा इलेक्ट्रिक, मेकानिकल, अटोमोबाइल, आइटी, होटल म्यानेटमेन्ट, विल्डिङ कन्स्ट्रकसन, अर्ली चाइल्डहुड डेभलपमेन्ट फ्यासिलिटेसन र टी टेक्नोलोजीको पढाइ हुनेछ । सबै विषय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को पाठ्यक्रम अनुसार पढाइ हुने सिटिइभिटी गण्डकी प्रदेश प्राविधिक अधिकृत सूर्य पाण्डेले बताए । ‘सिटिइभिटीको तालिका अनुसार नै पढाइ हुनेछ । हाम्रै पाठ्यक्रम लागू हुनेछ,’ अधिकृत पाण्डेले भने, ‘प्रवेश परीक्षादेखि अन्तिम परीक्षा सबै सिटिइभिटीले नै लिनेछ ।’

अनुगमनमा महाशाखा प्रमुख न्यौपाने, हेल्भेटास गण्डकी व्यवस्थापक लिंखा, प्राविधिक अधिकृत पाण्डेसहित प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमका ट्रेनी अफिसर तृप्ति ओली र रोशनी ताम्राकार र पत्रकार संलग्न थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा हार्डवयर एसोसिएसनमा अर्जुन

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८१
    पोखरा । पोखरा हार्डवयर एसोसिएसन, कास्कीको शनिबार सम्पन्न ३१ औं साधारणसभा तथा १६ औं अधिवेशनबाट अर्जुनबहादुर थापा अध्यक्षमा निर्वाचित भएका…
  • पालिका हाकिम र प्रदेश सचिव चलाउने अधिकार प्रदेशलाई दिन माग

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । संविधानअनुसार पालिका र प्रदेशको कर्मचारी नियुक्त गर्ने पुुरापुर अधिकार प्रदेश लोक सेवा आयोगलाई छ । सातै प्रदेशमा आयोग…
  • ओली चीन भ्रमण जाँदै

    रासस मंसिर १७, २०८१
    काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्दैछन् । चीनका प्रधानमन्त्री…
  • घार्मीमा बालाचतुर्दशी रौनक

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    पोखरा । धार्मिक पर्यटकीयस्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामसाथ मनाइएको छ । पोखरा १९, घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा…
  • भवन निर्माण आचारसंहिता प्रशिक्षण

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८१
    लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको आयोजनामा भवन निर्माण आचारसंहितासम्बन्धी प्रशिक्षण शनिबार सम्पन्न भयो । प्रशिक्षण उद्घाटन गर्दै लेखनाथ निर्माण…

hero news full width