पोखरा । माछापुच्छ्रे गाउँपालिका ३, घाचोकमा गत वर्ष २५ वटा टनेल वितरण भयो । १६ जनाले टनेलभित्र तरकारी खेती गरेका छन् । अरुको प्लास्टिकसमेत देखिएको छैन । टनेलका प्लास्टिक बेचेको गुनासो आएपछि वडाध्यक्ष हरिश्चन्द्र लम्सालले भने, ‘केही कमजोरी भएको छ । कसैले टौवा छोपेका होलान्, कतिले कता लगे होलान् । हामीले वितरण गरेका टनेलका प्लास्टिकको खोजी गर्छौं । कसैले गलत गरेको भेटिए अनुगमन गरेर कारबाही गर्छौं ।’
यो वर्षदेखि टनेलको संरचना तयार गरेकालाई मात्रै प्लास्टिक सिफारिस गरिएको उनले बताए । घाचोकमा टनेलको प्लास्टिकमात्रै होइन, ग्याबिन जालीमा पनि मनपरी भएको गुनासो स्थानीयको छ । ‘म निर्वाचित भएर आएपछि ९० थान जाली आएको हो । तर ७१ वटा जाली मात्रै प्रयोग भएको देखेको छु,’ उनले भने, ‘१९ वटा जाली कहाँ राखेका छन्, पत्तो छैन । खोजतलास गर्छु ।’
सरकारले दिने अनुदानमा भएको दुरुपयोगको केही उदाहरण मात्रै हुन् यी । यहाँका सेवाग्राहीले अनुदानका कार्यक्रममा पालिकाले अनुगमन नगरेको गुनासो गरेका छन् । साथै, आवश्यक नै नभएका मान्छेलाई अनुदान वितरण गरिएकोमा रोष प्रकट गरे । उनीहरुले पालिकाबाट वितरण गरिएको हाते ट्याक्टर समूहलाई दिइएको भए पनि व्यक्तिले मात्रै प्रयोग गरेको गुनासो गरे ।
वडाध्यक्ष लम्साल पनि सामूहिक ट्याक्टर व्यक्तिले प्रयोग गरिरहेको स्वीकार्छन् । ‘व्यक्तिलाई दिएको होइन, समूहलाई दिएको हो तर जसले लग्यो, उसैले चलाएको छ । व्यक्तिगत जस्तो बनाएको छ,’ उनले भने, ‘ट्याक्टर सामूहिक हो ।’
घाचोकमा हालै आयोजित सार्वजनिक सुनुवाइमा राजन लम्सालले सरकारी रकम व्यक्तिगत लाभमा खर्च भएको बताए । ‘१ नम्बर र ९ नम्बर वडाका पर्यटकीय ठाउँहरुमा सरकारले बजेट खर्च गरेर संरचना बनाइदिएको छ । त्यसको लाभ सीमित व्यक्तिले मात्रै पाएका छन्,’ उनले भने, ‘सरकारी बजेट व्यक्तिगत रुपमा खर्च भएको छ । यसको नियन्त्रण गरिनुप¥यो ।’ उनले कृषिका लागि पालिकाको सम्भावना राम्रो भए पनि बजार व्यवस्था हुन नसकेको गुनासो गरे । ‘कृषिको भाषणले कान खाइसक्यो तर सुधार केही भएको छैन,’ उनले भने, ‘कृषिबाट आम्दानी गरेको मान्छे छैन । त्यसको मुख्य कारण बजार व्यवस्था नहुनु हो ।’ पालिकाले किसानबाट फसल खरिद गरेर बेचिदिए किसानहरु कृषिमा आकर्षित हुने उनको सुझाव छ ।
सेवाग्राहीले अनुदानका कार्यक्रममा पालिकाले अनुगमन नगरेको गुनासो गरेका छन्
स्थानीय पदम नेपाल बिजुलीका पोलले गाउँलेलाई समस्या परेको गुनासो गरे । ‘हिजो बाटो बन्नुभन्दा पहिले बिजुलीका पोल आए । खासै चासो थिएन । अहिले न घर बनाउन पाइन्छ, न भत्काउन सकिन्छ,’ उनले भने, ‘पोल स्थानान्तरण गर्नुपर्यो । पालिकाले एकमुष्ट स्थानान्तरण गरिदियोस् ।’ उनले ३ तहको सरकारलाई एउटै व्यवसायबाट छुट्टाछुट्टै कर तिर्नुपरेकोमा गुनासो गरेका छन् । जवाफमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले सरकारको कार्यक्षेत्र फरक भएकोले कर तीनतिर तिर्नुपरेको बताइन् । ‘हाम्रो कार्यक्षेत्र फरक छ । हामीले आयकर लिएका छैनौं, नवीकरण शुल्क मात्रै हो,’ उनले भनिन् । पोलबारे पालिकाभरि समस्या आएको भन्दै उनले विद्युत् प्राधिकरणसँग समन्वय गर्ने बताएकी छिन् । ‘विद्युत्ले एकचरण टेन्डर निकालिसकेको छ । टेन्डर गएन, फेरि निकाल्ने तयारी गरेको छ,’ उनले भनिन्, ‘हाम्रो पालिकाको समस्या हामीले सुनाएका छौं । छिटो सम्बोधन गर्न पहल गर्छौं ।’
सहभागीहरुले नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् गरिएको, बाँदर नियन्त्रणमा पहल नगरिएको, खानेपानीको वितरण राम्रो नभएको लगायत गुनासो गरे । यस्तै, पालिकामा दर्ताबिना पसल चले पनि पालिकाले वास्ता नगरेको गुनासो छ, टेकबहादुर केसीको छ । ‘हामी चाहिँ दर्ता गरेर चलेका छौं । दर्ता नगरी चलेका धेरै पसलहरु छन्, अनुगमन कहिले हुन्छ ?,’ उनले प्रश्न गरे । उपाध्यक्ष अधिकारीले अनुगमन गरेर दर्ताबिना चलेका पसललाई दर्ताको दायरामा ल्याउने बताइन् । उपभोक्ता समिति गठन गर्दा आफ्ना दलका कार्यकर्ता राखिएको, करारका कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता नदिइएको लगायत गुनासो पनि राखे । जवाफ दिँदै अधिकारीले करार कर्मचारीमा स्थानीयलाई प्रोत्साहन स्वरुप ५ अंक दिँदा पनि नाम निकाल्न नसकेका बताइन् । उपभोक्ता समिति गठन गर्दा जनप्रतिनिधिले कुनै हस्तक्षेप नगरेको उनको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले पहिलो चौमासिकमा सम्पन्न भएका विकास आयोजना र सेवा प्रवाह विषयमा जानकारी गराएका थिए । सामाजिक विकास मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले गलत काम हुँदा फिल्डमै सुझाव दिन स्थानीयलाई आग्रह गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप ल्वाङका प्रमुख लेखनाथ गौतमले पालिकाको विकासमा एक्याप सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाए । कांग्रेसका सभापति वीरेन्द्र गुरुङले कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्न सुझाव दिए भने एमालेका प्रतिनिधि राजेन्द्र गौतमले अघिल्ला सरकारले थालनी गरेका काम अधुरा छोडेर नयाँ योजना नथाल्न पालिकाको ध्यानाकर्षण गराए ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा
सुजल डेरी र सेलवेजलाई अवार्ड
डिएलए कास्कीमा शर्मा
पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
hero news full width
मुख्य समाचार
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१ढाकाकुमार पक्राउ
भाद्र २७, २०८१