हिमाल किन कालो हुँदैछ ?

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८०
imm

पोखरा । दन्तलहरजस्ता हिमालमा पनि हिउँ देखिँदैन । पानी पर्ने समयको ठेगान छैन । उच्च हिमाली क्षेत्रमा बाढी जान थालिसक्यो । बालीको उत्पादन प्रणाली पनि फेरियो । अतिवृष्टि र अनावृष्टि उस्तै छ । गएको बर्खामा मुस्ताङको कागबेनीमा अनपेक्षित क्षति भयो । अचम्मैको वर्षा भयो, खोलाको पुलले भेल रोकिदियो, पुलले नथामेको भेल बस्तीमा पस्यो । कागबेनी बजारका धेरैजसो घरमा क्षति पु¥यायो । आखिर किन यसो भइरहेको छ ? उत्तर सहज छ, पृथ्वीको तापक्रम बढ्दो छ ।

जसका कारण हिमालमा हिउँ कम पर्छ, भएको पनि छिटो पग्लिन्छ । पृथ्वीको तापक्रम घटाउन सजिलो छैन । बरु हामी यही परिवर्तित अवस्थामा अनुकुलन हुनैपर्छ ।

पोखरामा जारी आठौं पर्वतीय महोत्सवको चौंथो दिन सोमबार ‘हिमाल किन कालो हुँदैछ ? के यो परिवर्तन हाम्रो जीवनसँग सम्बन्धित छ ?’ विषयमा बहस भयो । बहसमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन र पत्रकार कुन्द दीक्षितसँगै जलवायुसम्बन्धी अध्येता जगन्नाथ अधिकारी वक्ता थिए ।

कागबेनीका बासिन्दा गोम्बो गुरुङले हिउँ पर्न छाडेपछि खेतीबाली कम भएको र सधैंभन्दा बढी पानिले बारीको माटो बगाउँदा ठूलो क्षति भएको सुनाए । बजार नजिकैको निर्माणाधील पुलका कारण पनि क्षति बढी भएको उनको भनाइ थियो । उनले भने, ‘कागबेनीमा मेरा ३ वटा घर थिए, अहिले मुस्ताङ गएर बस्ने ठाउँ छैन, पोखरै बसेको छु ।’

पत्रकार कुन्द दीक्षितले पछिल्लो समय जलवायु परिवर्तनका नाममा हिउँँ र बरफमा मात्रै विषय केन्द्रित भएको बताए । उनले हिउँ र बरफ पग्लिँदै जाँदा छिटै पानीको ठूलो संकट देखिन सक्ने सुनाए ।

‘यसलाई जलवायु परिवर्तन नभनौं, संकट भनौं । यो संकट पानीको हो,’ दीक्षितले भने, ‘पानीमै हाम्रो मानव जीवन र सभ्यता आश्रित छ । हिमालमा हिउँ पग्लिनेबित्तिकै तल्तिरका भेगमा ठूलो असर पार्छ ।’ उनले जलवायु परिवर्तनको असरलाई कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग बढाउँदै लैजानुपर्ने सुनाए ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का नेपालका आवासीय प्रतिनिधि डा. घनश्याम गुरुङले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै जाँदा हिमाल कालो हुँदै गएको बताए । ‘अहिले हामीले तलबाट माथि धुवाधुलो पठाउँदैछौं । यसले पनि हिउँ पग्लिने क्रम एकदमै बढेको देखिन्छ,’ उनले भने, ‘त्यसमाथि माथिल्लो भेगसम्म पानी पर्न थालेको छ । पानी परेपछि हिउँ झनै छिटो पग्लिन्छ ।’

डा. जगन्नाथ अधिकारीले जलवायु परिवर्तनका कारण पछिल्लो समय मौसम पूर्वानुमान गर्नै मुस्किल रहेको सुनाए । उनले जलवायु परिवर्तनले गर्दा जनजीवन नै असर गरिरहेको बताए । नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनले अवसर पनि थपेको उनको भनाइ थियो । हिमाली क्षेत्रमा तरकारी उत्पादन हुनुका साथै उत्पादन अवधि पनि घटेको अधिकारीले बताए ।

अर्का वक्ता डा. अमिना महर्जनले जलवायु परिवर्तनले गर्दा हिमाली जनजीवनमात्रै नभएर कृषि उत्पादनै समस्या पार्न थालेको बताइन् । पछिल्लो समय बाली भित्राउनेबेला पर्ने बेमौसमी पानीले किसानलाई ठूलो मर्कामा पारिरहेको सुनाइन् ।

‘जलवायु परिवर्तनले कृषि, पर्यटन र स्वास्थ्यमा ठूलो च्यालेन्ज छ । नेपालका हिमाल हेर्न आएका विदेशी पर्यटकहरु मौसममा पनि हिमाल देख्न पाउँदैनन्,’ डा महर्जनले भनिन्, ‘यो प्रभाव बढ्नेबाहेक घट्नेवाला छैन । सरकारले यो विषयमा आवाज उठाएकै छैन ।’

वक्ता डा. घनश्याम गुरुङले भने पानीका स्रोत नबचाई हाइड्रो ऊर्जालाई मात्रै महत्व दिन नसकिने बताए । पानीको अत्याधिक प्रयोग गर्ने तर, पुनःसिञ्चित नगर्दा केही दशकपछि नै पानीको हाहाकार हुन सक्ने दाबी गरे ।

कार्यक्रममा सहभागी वक्ताले पछिल्लो समय घटिरहेका घटनालाई जलवायु परिवर्तनलाई देखाएर राज्य उम्किन नमिल्ने भनाइ राखे । जलवायु परिवर्तन अहिले विश्वभरकै प्रमुख समस्या भएकाले अब जलवायुअनुकूल जीवनशैलीबारे बहस हुनुपर्ने सुझाव दिए ।

आयोजक नेपाल पर्वतारोहण संघ अध्यक्ष निमानुरु शेर्पाले हिमाली भेगसँग पर्वतीय पर्यटनको जीवन पनि जोडिएकाले वातावरण संरक्षणमा अब अरुको मुख ताकेर बस्ने अवस्था नरहेको बताए । उनले पर्वतीय क्षेत्रमा फोहोर हुन नदिन संस्थाका तर्फबाट अभियान र तालिमहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

शुक्रबारबाट सुरु महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सव सदस्य सचिव निर्मला न्यौपानेले जानकारी दिइन् । महोत्सवका अवसरमा ३ दिनसम्म आर्चरी, जिपलाइन खेलसमेत समावेश गरिएको थियो । महोत्सवमै नेपाल पंक्षी संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको छ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रिय बहुउद्देश्यीय सहकारीको २२ औं वार्षिक साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा १०, रामबजारस्थित राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लि.को शनिबार २२ औं वार्षिक साधारणसभा सम्पन्न भयो । संस्थाका संरक्षकसमेत…
  • सुजल डेरी र सेलवेजलाई अवार्ड

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघले लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालि र सेलवेज डिपार्टमेन्टल स्टोर गरी २ संस्थालाई सर्वोत्कृष्ट व्यवसायी…
  • डिएलए कास्कीमा शर्मा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) कास्की अध्यक्षमा कमलपति शर्मा निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा…
  • पोउवा संघमा २२५१ मत खस्यो, मतगणना आइतबारदेखि

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि शनिबार मतदान भएको छ । पोखराको सबैभन्दा जेठो संस्थाको ३५ औं…
  • पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०८१
    पाेखरा, २९ भदौ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि.को छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार पोखरा न्यूरोडस्थित पाल्पा…

hero news full width