२३ पालिकाले बुझाएनन् बजेट विवरण   

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
local-level-taha_20181106010007

सांकेतिक तस्बिर : अन्नपूर्णबाट साभार

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।

यसरी गाउँसभा तथा नगरसभामा पेस भएको तथा पारित भएको विवरण सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा अद्यावधिक गराउनुपर्ने हुन्छ । तर हालसम्म मधेश प्रदेशका २१ सहित २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण मन्त्रालयलाई बुझाएका छैनन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार हालसम्म सात सय ३० पालिकाले मात्रै आफ्नो वार्षिक बजेट ल्याएको विवरण बुझाएका छन् । मन्त्रालयको विवरणअनुसार सबैभन्दा धेरै मधेश प्रदेशमा २१ पालिकाले बजेट ल्याएको विवरण बुझाएका छैनन् । त्यस्तै, कोशी प्रदेशको एउटा र बागमती प्रदेशको एउटा पालिकाले यस्तो जानकारी मन्त्रालयलाई गराएका छैनन् ।

बजेटको विवरण प्रविष्ट नगरेका पालिकालाई त्यस्तो विवरण बुझाउन मन्त्रालयले पटक–पटक परिपत्रसमेत गरेको छ । सङ्घीय मामिला मन्त्रालयले पहिलो पटक गत असार ३० गतै सबै पालिका तथा जिल्ला समन्वय समितिलाई पत्र पठाउँदै चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पेस भई सम्बन्धित नगरसभा तथा गाउँसभाबाट स्वीकृत भएको विवरण अद्यावधिक गर्न भनेको थियो । केही पालिकाले बजेट पारित गरिसकेर पनि विवरण बुझाउन बाँकी रहेको, केही पालिकामा बजेट पेस भएको तर गाउँसभा तथा नगरसभाबाट पारित हुन नसकेकोलगायत कारण हालसम्म सबै पालिकाको विवरण अद्यावधिक हुन सकेको छैन ।

चितवनको राप्ती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेले नगरसभाबाट बजेट पारित भइरकेको तर बजेट स्वीकृत भएको विवरण मन्त्रालयको पोर्टलमा प्रविष्ट हुन नसकेको बताउनुभयो । त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नीराज शर्माले बजेट ल्याइसकेको भए पनि मन्त्रालयको वेभसाइटमा विवरण प्रविष्ट नभएको बताउनुभयो ।

मन्त्रालयको विवरणअनुसार हालसम्म सप्तरीको कञ्चनरुप नगरपालिका, छिन्नमस्ता गाउँपालिका, महादेवा गाउँपालिका, रुपनी गाउँपालिका, औरही गाउँपालिका र भगवानपुर गाउँपालिकाले आफ्नो वार्षिक बजेट पेस गरेको विवरण बुझाएका छैनन् । धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको बलरा नगरपालिका, हरिपुर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका र मौलापुर नगरपालिका, यमुनामाई गाउँपालिकाको बजेट पेस गरेको विवरण मन्त्रालयको पोर्टलमा देखिँदैन । बाराको सिम्रौनगढ नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र पर्साको सखुवा प्रसौनी गाउँपालिले पनि बजेट पेस गरेको विवरण बुझाउन सकेका छै्रनन् ।  रासस

Related News

सम्बन्धित समाचार

  • नेपालमा पहिलो पल्ट समलिंगी विवाह

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । नेपालमा पहिलो पल्ट समलिंगी विवाह दर्ता भएको छ । बुधबार माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी…
  • राष्ट्रियसभा निर्वाचन माघ ११ गते

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित…
  • लम्पी स्किनबाट पीडित किसानलाई राहत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    दमौली । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको संक्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीरूपमा…
  • बुद्ध एयरको जहाज  ‘ओभरसुट’

    रासस मंसिर १२, २०८०
    काठमाडौं । बुद्ध एयरको जहाजले झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा ‘ओभरसुट’ गरेको छ । काठमाडौँबाट यात्रु बोकेर उडेको जहाजले आज साँझ…
  • जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

    रासस मंसिर १२, २०८०
    जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा…

hero news full width