पोखरामा अन्तर्राष्ट्रिय क्रस कन्ट्री, चार्टर्ड जहाजमा आउँदैछन् चिनियाँ खेलाडी

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०८०
cross country

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । विभिन्न ३ इभेण्टमा प्रतियोगिता हुन लागेको हो । यसअघि सन् २०१९ मा पहिलो क्रस कन्ट्री दौड भएको थियो । कोरोना संक्रमणका कारण स्थगीत रहेको उक्त प्रतियोगिता नाम फेरेर पुनः सन्चालन हुन लागेको हो । खेलकुदका माध्यमबाट पोखरामा पर्यटन विकास गर्न प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएको छ । समूह, व्यक्तिगत र विद्यार्थीको छुट्टाछुट्टै स्पर्धा हुनेछ । समूहको प्रतिश्पर्धामा २२ किलोमिटर दौड, १७ किलोमिटर साइक्लिङ र १ किलोमिटर डुंगा दौड हुनेछ । व्यक्तिगत तर्फ ३८ किलोमिटरको दौड हुनेछ भने विद्यार्थीको प्रतिश्पर्धामा ५ किलोमिटर दौड हुने संयोजक विश्व शंकर पालिखेले जानकारी दिए ।

मंसिर ९ गते हुने प्रतियोगितामा १० चिनियाँ र १० नेपाली समूह सहभागी हुनेछ । नेपालकामध्ये ४ वटा पोखराको र ६ वटा काठमाडौंको टीमले स्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आउनेछ । हिमालय एयरको जहाज चार्टर्ड गरेर मंसिर ७ गते उनीहरु पोखरा आइपुग्ने पालिखेले बताए । खेलाडी, अफिसियल सहित १ सय ४ जनाको टोली आउँदै छ । यसअघिको प्रतियोगिताका विजेताले नगद पुरस्कार पाएका थिएनन् । अहिले भने पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

समूह स्पर्धातर्फ पहिलो हुने टिमले ३ लाख ६० हजार र व्यक्तिगततर्फ विजेताले १ लाख ४४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । समूहतर्फका उपविजेताले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौंथोले १ लाख ४४ हजार र पाँचौ हुनेले ९ हजार पुरस्कार पाउनेछन् । व्यक्तिगत तर्फ दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रोले ५४ हजार, चौंथोदेखि सातौंसम्मले १८ हजार र आठौंदेखि दसौंसम्मका प्रतिश्पर्धीले ९ हजार पुरस्कार पाउने छन् । विद्यार्थीको प्रतिश्पर्धामा पहिलोलाई २५ हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार, चौंथोलाई १० हजार र पाँचौलाई ५ हजार पुरस्कार तोकिएको छ । व्यक्तिगत तर्फ र विद्यार्थी तर्फ महिला पुरुषलाई छुट्टाछुट्टै पुरस्कार छ । सबै प्रतिश्पर्धामा करिव २० लाख रुपैयाँ पुरस्कार वितरण हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न २२ वटा उपसमिति गठन भएको छ भने १४ वटा स्थानीय आमा समूह तथा युवा क्लवलाई जोडिएको छ । उनीहरुले खेलाडी पुगेपछि स्थानीय स्तरमा सम्मान स्वरुप बाजागाजा स्वागत गर्नेछन् । नोभेम्बर २२ सम्म दर्ता खुला हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख खर्च हुनेछ । यसबाहेक सर्वसाधारणका लागि ह्याप्पी रन समेत हुने बताइएको छ । ‘ह्याप्पी रनलाई हामी च्यारिटी रन बनाउने सोचिरहेका छौं । दौडिनेहरुबाट केही रकम संकलन गरेर भूकम्प पीडितलाई सहयोग गर्ने योजना छ,’ उनले भने, ‘सरकारसँग स्वीकृति मागेका छौं । सरकारले सहमति दिए ह्याप्पी रनलाई च्यारिटीमा बदल्नेछौं ।’

प्रतियोगिताको स्वामित्व पोखरा महानगरपालिकाले लिएको छ भने विभिन्न चिनियाँ संघ संस्थाहरुले साथ दिएका छन् । ‘यस्तो खालको कार्यक्रमले अन्तर्राष्ट्रिय बजारमा पोखराको प्रचार पुग्छ । पर्यटकहरु आउँछन् । थलिएको यहाँको पर्यटनमा सर्पोट पुग्छ,’ महानगरका प्रबक्ता मोति तिमिल्सिनाले भने, ‘आउँदा दिनहरुमा पनि यो प्रतियोगिता निरन्तर रुपमा चल्नेछ । एड्भेन्चर टुरिजमको रुपमा पोखरालाई विश्वभरी चिनाउछौं ।’ प्रतियोगिताका लागि चीनबाट प्राविधिक र स्वास्थ्यकर्मीको टोली पनि आउने छ । पोखराबाट ४ टीम र काठमाडौंबाट ६ टीम सहभागी हुनेछन् ।

खेलकुदको माध्यमबाट चिनियाँ पर्यटक पोखरा भित्र्याउन कार्यक्रम गर्न लागिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । उनका अनुसार प्रतियोगिता अवधीमा पोखराका होटलहरुको मेन्यु र कोठाको शुल्कमा केही छुट पनि हुनेछ । माउन्टेनरिङ एसोसिएसनका विज्ञहरूले झन्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गर्न सम्भव भएको हो । बाराहीघाटबाट सुरु हुने दौड फुस्रे खोलाबाट मट्टीखान रिसोर्ट हुँदै कालाबाङ, लिचिबोटबाट डुंगामा बाराही घाट आइपुग्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width