नेता पराजुलीको श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
कार्तिक १९, २०८०
ram krishna parajuli

पोखरा । नेपाली कांग्रेसका अगुवा एवं समाजसेवी रामकृष्ण पराजुलीको निधन भएको १३ औं दिनमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली कांग्रेस पोखरा महानगर ४ नम्बर वडा कार्य समिति र महानगर समितिको संयुक्त आयोजनामा जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो ।

कार्यक्रमा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पराजुलीले राजनीति र समाज सेवामा लाग्ने जोकोहीले लिन होइन दिन जान्नु पर्दछ भन्ने आदर्श बोकेर हिँडेको स्मरण गरे । पोखरेली उद्यमी व्यक्तित्व, व्यवसायी साथीहरु, दानी मन, इष्ट मित्र र शुभेच्छुकसँग हात फैलाइ संकलन गरिएको रकमबाट पोखराको चिप्लेढंगामा २ रोपनी १४ आना जमिन लिएर भवन बनाउने काममा पराजुलीको योगदान अतुलनीय रहेको उनले स्मरण गरे ।
कास्की सभापति किशोरदत्त बरालले समाजमा थोरै मानिस मात्र अजरअमर रहने भन्दै त्यसै मध्येका एक बफादार, कर्तव्यनिष्ठ, सामाजिक अभियान्ता पराजुली रहेको बताए ।

कांग्रेस पोखरामहानगर सभापति सुरेन्द्रमान विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा वडा समिति सभापति गोविन्द पराजुलीले प्रजातन्त्रको दियो प्रज्ज्वलित गर्दै निस्वार्थभावले रामकृष्ण पराजुलीले समुदाय, पोखरा क्षेत्र र कास्की जिल्लाभर पञ्चायती निरंकुश शासनका विरुद्धमा चेतना भर्न निरन्तर लागी परेको स्मरण गरे । २०४६ सालको आन्दोलनको दौरानमा पोखरामा ठूलो जनलहर उठ्नुमा पराजुलीको अग्रसरता प्रमुख रहेको उनले बताए ।

परिवारजनको तर्फबाट नारायण पराजुलीले श्रद्धाञ्जली कार्यक्रम आयोजक र उपस्थित सबैलाई धन्यवाद् ज्ञापन गरे । कार्यक्रमको सञ्चालन महानगर कार्यसमिति सचिव गणेशबहादुर थापाले गरेको प्रवक्ता धनञ्जय पौडेल बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width