मनाङ । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) मनाङका अनुसार गएको ६ महिनामा ९ हजार बढी बाह्य पर्र्यटकले मनाङ घुमे । यो तथ्यांक विदेशी पर्यटकको मात्र हो । विदेशीबाहेक आन्तरिक पर्यटक पनि मनाङ उत्तिकै संख्यामा पुगेका छन् । यहाँ आउने पर्यटकले अन्नपूर्ण पदमार्ग र नार्पाभूमिस्थित लार्केपास दुवै क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।
यी बाहेक यहाँको प्राकृतिक सुन्दरताले पनि पर्यटक मोहित हुने गरेका छन् । पछिल्लो समय सिजनका बेला पर्यटकलाई व्यवस्थापन गर्नै गाह्रो हुने मनाङका होटल व्यवसायीहरूको गुनासो छ । यहाँ पर्यटन पूर्वाधार निर्माण र वैकल्पिक पदमार्ग बनाउन व्यावसायीहरूले माग गरिरहेका छन् । उनीहरूले सरकारी निकायका कोही मनाङ भ्रमणमा जाँदा यो समस्या सुनाइहाल्छन् ।
शुक्रबार मनाङको सदरमुकाम चामे बजारमा गण्डकी प्रदेश नीति तथा योजना आयोगको टोली मनाङ पुग्दा जनप्रतिनिधिहरूको उही गुनासो थियो । गण्डकी प्रदेश सरकार दोस्रो पञ्चवर्षीय योजना निर्माणको काममा जुटेको छ । यसका लागि गण्डकी प्रदेशको नीति तथा योजना आयोगले आधारपत्र सार्वजनिक गरिसकेको छ । यसमा मुस्ताङका सरोकारवालासँग छलफल गरिसकेको आयोगको टोली मनाङ आएको हो ।
दोस्रो पञ्चवर्षीय योजना तर्जुका लागि भएको अन्तक्र्रिया कार्यक्रममा प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले मनाङको समृद्धि र विकासमा पर्यटन क्षेत्रको ठूलो भूमिका रहने बताए । ‘मनाङ विकासको मेरुदण्ड भनेकै पर्यटन क्षेत्र हो । यसका लागि प्रदेश सरकारले बनाउन लागेको पञ्चवर्षीय योजनामा यहाँको पर्यटन क्षेत्रले महŒव पाउनुपर्छ,’ उनले भने, ‘यहाँ अन्नपूर्ण राउन्ड पदमार्ग, तिलिचो ताल, हजार वर्ष पुराना गुम्बाहरू छन् यसलाई कसरी प्रचारप्रसार र प्रवद्र्धन गर्ने भन्ने कुरा पञ्चवर्षीय योजनामा समेटिनु जरुरी छ ।’
मनाङमा पर्यटनसँगै कृषि र हाइड्रोमा पनि सम्भावना रहेको उनले बताए । ‘यहाँ सम्भावना नै सम्भावना छ । कृषि, जडिबुटी हाइड्रो जता लगानी गर्दा पनि हुन्छ,’ उनले भने, ‘यसका लागि सबैभन्दा पहिला बाटो राम्रो हुनुपर्छ । डुम्रे–बेंसीसहर–चामेको बाटो बनाउन सबैले पहल गर्न जरुरी छ ।’ प्रदेशसभा सदस्य मुनिन्द्रजंग गुरुङले स्थानीय तहबाट आएको सुझावलाई आगामी पञ्चवर्षीय योजनामा समेट्न सहयोग गर्ने बताए ।
नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले पनि पर्यटन नै जिल्लाको चिनारी रहेको बताए । ‘मनाङमा पर्यटनको प्रचूर सम्भावना छ । अहिले पनि स्वदेशी र विदेशी पाहुना आइरहेको छ । यसको संख्या बढाउने विषय पञ्चवर्षीय योजनामा समेटिनुपर्छ,’ उनले भने, ‘२०७८ असारमा आएको बाढीले हाम्रो पालिकाको धेरै पूर्वाधार बगाएको छ । जसमा पदमार्ग रुट पनि छैन यसमा प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’ उनले आफ्नो पालिकामा पर्यटनसँगै कृषि, पशु र जडिबुटी पनि राम्रो सम्भावना रहेका बताए । ‘यहाँ जडीबुटी खेती र प्रशोधन केन्द्र बनाउन पनि जरुरी छ,’ उनले भने ।
हुम्डे विमानस्थल सञ्चालन, पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आग्रह
मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले पर्यटकको संख्या बढाउन आफ्नो पालिकाभित्र रहेको जिल्लाको एक मात्र हुम्डे विमानस्थल सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिए । नार्पाभूमिका प्रमुख प्रशासकीय अधिकृत भीमकान्त भण्डारीले पञ्चवर्षीय योजनामा गाउँपालिकालाई सडक सञ्जालले जाड्ने अनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना समेट्न आग्रह गरे । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले पहिलेको योजना कार्यान्वयन नभएकाले अबको योजना सफल हुने गरी बनाउन आग्रह गरे ।
कृषि ज्ञान केन्द्र मनाङका प्रमुख मदन रेग्मीले यहाँ स्याउ, आलु र अन्य तरकारी राम्रो हुने भएकाले बजारीकरणका लागि सडक सञ्जाल राम्रो हुनुपर्नेमा जोड दिए । ‘अब तलतिर तरकारीको अफ सिजन सुरु भयो । यहाँ फस्टाउने बेला हो । यही समयमा यहाँको तरकारीले बजारमा भाउ पाउँछ तर सडक सञ्जाल नै गतिलो भएन,’ उनले भने, ‘यहाँ बेंसीसहरबाट चामेसम्म आउने सडक मात्र नभएर यहाँ उत्पादिन सामानको बजारीकरणका लागि प्रत्येक पालिका जोड्ने सडक राम्रो हुनुपर्छ ।’
कार्यक्रममा जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घले, मनाङ स्वास्थ्य कार्यालयकी प्रमुख डा. भारती मेहता, एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेल, पर्यटन तथा उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेल लगायतले मनाङ जिल्लाबाट पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विषयका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले आयोगले विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीका विषयमा प्रस्तुति राखेका थिए । उनले विभिन्न २१ बुँदामा सूची तयार गरेको बताए । आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रुपान्तरण गर्दै आत्मनिर्भर, उत्पादनउन्मुख प्रदेश अर्थतन्त्रको निर्माणलाई प्रमुख सवाल र चुनौतीका रुपमा प्रदेशले पहिचान गरेको उनले सुनाए ।
यसैगरी उत्पादन क्षेत्रमा लगानीको विकर्षणलाई आकर्षणमा रुपान्तरण गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई लगानीका निम्ति प्रोत्साहित गर्नुपर्ने चुनौती प्रदेशसामु रहेका बताए । साथै आन्तरिक रोजगारीको अवसर बढाउँदै युवाशक्ति पलायन निरुत्साहित गर्नु प्रदेशको सबैभन्दा पेचिलो चुनौती भएको आफ्नो प्रस्तुतीमा राखेका थिए । अन्तक्र्रियापछि मनाङबाट प्रदेश समृद्धिका लागि धेरै राम्रा सुझाव आएकाले छलफलका विषयलाई दोस्रो पञ्चवर्षीय योजनामा समेटेर अघि बढ्ने डा. देवकोटाले बताए ।
Related News
सम्बन्धित समाचार
सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
पोखरामा हाप्किडो सेमिनार
पोखरा फेलोसिप च्याम्पियन
सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई
hero news full width
मुख्य समाचार
रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
भाद्र २४, २०८१कर्मचारीलाई मन्त्री थापाको निर्देशन
भाद्र २४, २०८१पोखरा–मुग्लिन सडक छिटो सक्न ताकेता
भाद्र २४, २०८१मिस मगरमा म्याग्दीको वर्चश्व
भाद्र २३, २०८१