ट्रेकिङ रुट शुल्क नलिन टानको आग्रह

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०८०
Trekking route_Fotor

कास्कीको मादी गाउँपालिकास्थित थाकबाट तारा हिलटपतर्फ उकालो लाग्दै टान पश्चिमाञ्चल संघ पोखराको नयाँ पदमार्ग खोजी टोली।

पोखरा । माछापुच्छ्रे गाउँपालिकाले ट्रेकिङ रुटमा आउने पर्यटकलाई शुल्क तोकेपछि ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै चिन्ता व्यक्त गरेको छ । टान गण्डकीका तर्फबाट अध्यक्ष धर्मराज पन्थीले प्रेस वक्तव्य जारी गरी गाउँपालिकाको सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै शुल्क नउठाउन आग्रह गरेका हुन् ।

गाउँपालिकाले ट्रेकिङ रुटमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि शुल्क लिने निर्णय गरेको थियो । शुक्रबार सूचना जारी गरी पालिभित्रका ट्रेकिङ रुटमा आउने विदेशी पर्यटकलाई ५ सय र नेपाली पर्यटकले १ सय रुपैयाँ तिर्नुपर्ने जनाइएको छ । यो सूचनासँगै सरोकारवाला निकायबाट सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आएको छ ।

सरकारले गत १ अप्रिलबाट लागु गरी सञ्चालनमा रहेको संशोधित पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्यान्वयन चरणमा रहेकाले गाउँपालिकाको यो निर्णयले पर्यटकलाई दोहोरो मार पर्ने टानको भनाइ छ । टिम्सबाट उठेको रकमको केही भाग सम्बन्धित गाउँपालिकालाई पनि दिने भएकाले उक्त शुल्क नउठाउन भनिएको छ ।

गाउँपालिकाको ट्रेकिङ रुटमा आउने पर्यटकलाई गाउँपालिकाले शुल्क तोकेपछि विभिन्नखाले प्रतिक्रिया

‘कोरोनाले थिलोथिलो भएको नेपालको पर्यटन व्यवसाय बामे सर्न लागेको अवस्थामा पर्यटकलाई झन्झटिलो प्रक्रियामा अल्झाउने गरी लगाइएको नियम कानुनले यस क्षेत्रमा आउने पर्यटकको संख्या अन्य गन्तव्यतर्फ मोडिने, जसले गर्दा गण्डकी प्रदेशमा पर्यटकको संख्या घट्ने निश्चितप्राय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अत यसप्रकारका प्रक्रियागत उल्झन हटाइ एकद्वार प्रणालीबाट नै एकमुष्ठ पर्यटन सेवा शुल्क उठाउन सकेमा नेपालमा पर्यटक आगमन संख्या वृद्धिका साथै विश्वसामु नेपालको छबि उच्च राख्न मद्दत पुग्नेछ ।’

यता, जनप्रतिनिधिहरु भने टानको ध्यानाकर्षणप्रति असन्तुष्ट छन् । माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले सामाजिक सञ्जालमै आक्रोश पोखेका पोख्दै टान, एक्याप लगायतले अहिलेसम्म उठाएको रकमको पारदर्शिता पेस गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘अहिलेसम्म उठाएर के गर्‍यो ? जम्मा पारेर सभा, सेमिनार अनि विदेश भ्रमणमा सिध्याउने अनि हामीले सोझै प्रभावित क्षेत्रमा सूचना केन्द्र, पद मार्ग निर्माण, सार्वजनिक शौचालय निर्माण, वेदर स्टेसन स्थापना, पदयात्रीको सुरक्षाको लागि आधुनिक सिस्टम, तथ्यांक राख्छु भन्दा यत्रो वक्तव्य । आँट छ भने अहिलेसम्म कुम्ल्याएको करको पारदर्शिता गर ।’

वडाध्यक्ष गुरुङले भने तोकिएको शुल्क एक हप्ताभित्रै लागु हुने जिकिर गरेका छन् । ‘हामीले अहिले आन्तरिक तयारी गरिरहेका छौं । अबको एक हप्ताभित्र शुल्क लिन्छौं,’ उनले भने । पालिकाभित्र मर्दी हिमाल ट्रेकिङ रुट, माछापुच्छ्रे मोडेल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेल (खुमाईं–कोर्चों डाँडा), घलेखर्क ताराहिल ट्रेक सञ्चालनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width