पाताले छाँगो ४० वर्षलाई ठेक्का, सम्झौता पुनरावलोकन गर्दै महानगर

प्रकाश ढकाल
कार्तिक १, २०८०
david fall

पोखरा । पोखराका केही महत्वपूर्ण सार्वजनिक सम्पत्तिहरु पोखरा महानगरपालिकाले लामो समयका लागि निजी क्षेत्रलाई जिम्मा दिन लागेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत सेती खोंच र पाताले छाँगो सेती क्यानोनलाई ठेक्का दिन लागिएको हो । यस्तै, रामघाट र मरेखहरे घाट बतास समूहअन्तर्गतका कम्पनीहरुलाई दिन लागिएको छ । फेवाताल सिरानमा निर्माण गरिएका चेकड्यामसमेत २४ वर्षका लागि ठेक्का गइसकेको छ । छोटो अवधिका लागि निर्वाचित जनप्रतिनिधिले आधा शताब्दीसम्म प्रभाव पार्ने ठेक्का दिँदा गलत हुने भन्दै आलोचना धेरै छ ।

२०७८ साउनमा महानगरका तत्कालीन प्रशासकीय अधिकृत महेश बराल र निजी कम्पनी सेती क्यानोनका कर्केनकुमार गुरुङ बीच सेती खोंच र पाताले छाँगोका सम्झौता भइसकेको छ । त्यसपछि पनि आलोचना र विरोध रोकिएन । जसका कारण पोखरा महानगरले सम्झौता गरे पनि डिपिआर लगायत कामका लागि स्वीकृति प्रदान गरेको छैन । स्रोतका अनुसार दसैंलगत्तै उक्त स्वीकृति प्रदान गरिनेछ र बिस्तारै निर्माण चरणमा जानेछ । बिनाप्रतिस्पर्धा लामो समय सार्वजनिक सम्पत्ति निजी क्षेत्रलाई दिन नहुने भन्दै ठेक्का सम्झौताविरुद्ध उच्च अदालत पोखरामा मुद्दा प¥यो । २०७८ कै कात्तिकमा उच्चले रिट खारेज गरिदिएको थियो ।

खासगरी पाताले छाँगोमा बढी विरोध छ । हालसम्म स्थानीय छोरेपाटन माविले स्रोत उपभोग गर्दै आएकोमा ठेक्कापछि स्रोतमा आफूले दाबी गर्न नपाउने भएपछि विरोध बढेको हो । तर महानगरपालिकाले यसअघिको कार्यपालिका बैठकबाट विद्यालयलाई दिने रोयल्टीका विषयमा पनि टुंगो लगाइसकेको बताइएको छ । मंगलबारको २३ औं बैठकले पाताले छाँगोको सम्झौता पुनरावलोकन गर्ने निर्णय गरेको छ । ‘दुईपक्षबीच सम्झौता भैसकेको छ । तर केही कुराहरु पुनः अध्ययन गरेर संशोधन गर्ने कि भन्ने आवाज उठ्यो,’ महानगर प्रवक्ता मोति तिमिल्सिनाले भने, ‘ठेक्का सम्झौताका अन्य विषयमा पुरानैअनुसार हुन्छ । मात्र रिभाइज गर्ने भन्ने निर्णय कार्यपालिकाले गरेको हो ।’
सबै सम्पदाको पूर्व अध्ययन ठेक्का पाएकै कम्पनीहरुले गरेका हुन् । सुरुमा पोखरा महानगरले आशयपत्र पेस गर्न खुला सूचना जारी गरेको थियो ।

पाताले छाँगोमा दृश्यावलोकन पार्क र सिसापुल निर्माण गर्ने योजना छ । सेती खोंचमा पूर्वाधार बनाएर पर्यटकीय चहलपहल बढाउने योजना छ । गाईघाटदेखि दोबिल्लासम्मको ८ दशमलब ६८ किलोमिटर क्षेत्रमा क्यान्टिलिभर पुल, रेस्टुरेन्ट, उद्यान लगायत संरचना बन्नेछ । पाताले छाँगोदेखि फेवा ड्यामसम्मको डेढ किलोमिटर क्षेत्रमा क्रुज चलाउने योजना छ । तर पोखराको सेती वरपर र पाताले छाँगो भएको क्षेत्रलाई बढी जोखिमयुक्त मानिन्छ । नदीको नजिक साना संरचना बनाउनसमेत बन्देज लगाइएकामा ठुला संरचना नदीभित्रै बनाउन दिनु वैज्ञानिक र सुरक्षित नहुने विज्ञहरु बताउँछन् ।

दुवै आयोजनाबाट अवधि छुट्याएर आम्दानी तोकिएको छ । सेतीमा सुरुको ५ वर्ष ५० लाख रुपैयाँ र आम्दानीको थप ५ प्रतिशत महानगरलाई दिने भनिएको छ । ६ देखि १० वर्षसम्म ७५ लाख, ११ देखि १५ सम्म १ करोड, १६ देखि २० सम्म १ करोड २५ लाख, २१ देखि २५ सम्म १ करोड ५० लाख, २६ देखि ३० सम्म १ करोड ७५ लाख र ३० देखि ४० वर्षसम्म २ करोड रुपैयाँ वार्षिक र थप ५ प्रतिशत आम्दानी दिनुपर्छ । यहाँ पूर्वाधार बनाउन १ अर्ब ५८ करोड रुपैयाँ लगानी गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

पाताले छाँगोमा भने ५० करोड लगानी गर्ने र वार्षिक २ करोड रुपैयाँका दरले महानगरको खातामा जम्मा गर्ने कम्पनीले जनाएको छ । निर्माण कम्पनीका अध्यक्ष कर्केन गुरुङ भने सम्झौता भैसकेकोले छिटो सहमति दिन माग गर्छन् । ‘हामीले प्रक्रिया सुरु गरेकै ६ वर्ष भैसक्यो । सम्झौता गरेको साढे २ वर्ष हुन लाग्यो,’ उनले भने, ‘सहमतिपत्र कुर्दाकुर्दै हैरान भैसक्यौं । करोडौं रकम पनि खर्च भएको छ ।’ उनका अनुसार २ आयोजनाका लागि हालसम्म १० लाखभन्दा बढी खर्च भैसकेको छ ।

Related News

सम्बन्धित समाचार

  • सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८१’ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले प्रदान गर्दैआएको उक्त…
  • पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन

    आदर्श समाज सम्वाददाता भाद्र २६, २०८१
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पार्टीका नेताविरुद्ध कसैले बोल्दा नेता कार्यकर्ता डराउने गरेको…
  • पोखरामा हाप्किडो सेमिनार

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । पोखरामा सोमबारदेखि ‘दशौं राष्ट्रिय हाप्किडो सेमिनार’ सुरु भएको छ । २ दिनसम्म चल्ने सेमिनार हाप्किडोका प्रशिक्षक, रेफ्रि तथा…
  • पोखरा फेलोसिप च्याम्पियन

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । इन्टर रिकभरिङ फुटसल प्रतियोगितामा पोखरा फेलिसिप च्याम्पियन भएको छ । पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा मंगलबार फाइनलमा लमजुङ…
  • सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुरामलाई

    आदर्श समाज सम्वाददाता भाद्र २५, २०८१
    पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष…

hero news full width