ओली नआउँदा निराशा

आदर्श समाज सम्वाददाता
असाेज १५, २०८०
cpn uml gandaki (1)

पोखरा । एमाले गण्डकी अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पछि कार्यकर्ताहरु ठुलो संख्यामा उतारिएको थियो । अमरसिंहमा बिहान साढे ११ बजे सुरु हुने भनिएको अधिवेशनमा दिउँसो ४ बज्दासम्म ओलीलाई उनीहरु पर्खिरहे ।

तर अन्तिममा मात्र गण्डकी सचिव धनञ्जय दवाडीले माइकबाट फुके, ‘मौषम खराबीले ओली कमरेड आउन सक्नु भएन ।’ यति भन्दै उनले महासचिव शंकर पोखरेललाई उद्घाटनका लागि बेलुन थमाए । ओली नआउँदा अधिकांश कार्यकर्ता निराश हुँदै घर फर्केका छन् ।

दुई दिनसम्म चल्ने अधिवेशनमा प्रदेशका ११ जिल्लाबाट ९ सय ८ जना प्रतिनिधिले भाग लिएका छन् ।

अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले एमालेलाई सरकारबाट हटाएर गठबन्धन सरकारले संगठनात्मक अराजकता निम्त्याएको बताए । उनले समृद्ध नेपाल, सुखी नेपालीको लागि एमाले नेतृत्वको सरकारको विकल्प नभएको दाबी गरे । उनले भने, ‘राजनीतिक दलहरु कहिले पनि पुराना हुँदैनन् । नीति र नेतृत्वमा समयक्रमसँगै अद्यावधिक हुँदै जान्छन् । यसको विकल्प रोज्नुभयो भने अराजकता निम्त्याउनु हो,’ उनले भने ।

अहिलेको सरकार कालोबजार प्रवद्र्धन गर्ने, मूल्यवृद्धि गर्ने तथा दसैंतिहारको मुखमा पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर जनताको ढाड सेक्न उद्दत रहेको महासचिव पोखरेलको आरोप थियो । देशैभर एमालेको समानुपातिकमा पहिलो दल तथा प्रदेशका ६ वटा प्रदेशमा पहिले दल रहेको स्मरण गराउँदै उनले जनताले पार्टी एमाले हो भने । विगतमा ओली नेतृत्वको सरकारको पालामा विकास र समृद्धिका लहर सुरु भएको दाबी गर्दै अहिलेको सरकारले भने चरम आर्थिक मन्दीमा देशलाई फँसाएको बताए ।

प्रचण्डको चीन भ्रमण राजकीय भनिए पनि गेरु वस्त्र धारण गरी मन्दिरमा पूजाआजामा व्यस्त हुनु लज्जाको विषय हो भने । बाढी नियन्त्रण र सीमा सुरक्षामा प्रचण्ड छिमेकी मुलुकसँग झुकेको टिप्पणी समेत गरे ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भिजन, नीति र योजनाबिनाको पार्टीले मुलुक हाँक्न नसक्ने टिप्पणी गरे । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका नेता गुरुङले लोकप्रियतामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवालाई भ्रम छरिरहेको आरोप पनि लगाए ।

उद्घाटन समारोहमा पार्टी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट, अर्का सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोलिट्व्यूरो सदस्य खगराज अधिकारी लगायतले पनि देशको विकास र समृद्धिको लागि एमाले एकमात्र विकल्पको पार्टी भएको बताए ।

एमाले गण्डकी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनञ्जय दवाडीले गरेका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु कोडा, नौमती, झोरा, लाखे नेत्य प्रस्तुत गरिएको थियो । सो अवसरमा एमाले नेता तथा जिल्ला विकास समितिका पूर्व सभापति पुण्यप्रसाद पौडेलद्वारा लिखित ‘समाज समीक्षा’ नामक पुस्तक विमोचन गरिएको थियो ।

अधिवेशन सुरु हुनुअघि पोखराका विभिन्न भागबाट ¥याली निस्केको थियो । उद्घाटन अमरसिंह चौरमा भए पनि पोखरा सभागृह हलमा बन्दसत्र हुनेछ ।

अधिवेशनमा सबैभन्दा धेरै १ सय ४६ जना प्रतिनिधि कास्कीबाट छानिएका छन् । अधिवेशनले १ सय ६५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width