पोखरा ।
‘…पिङ माथिको माथि पनि जाँदैन नि !
तलको तलै पनि झरिरहँदैन नि !
कहिले तल, कहिले माथि
पिङ खेल्नुको मज्जा नै यही हो ।
चुपचाप झुण्डिरहेको पिङ देख्दा
मलाई आफैं झुण्डिरहेको जस्तो लाग्छ,
दिक्क लाग्छ ।’
एकताका ‘राल्फा’ आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मेघराज शर्मा नेपाल अर्थात् मञ्जुललाई पनि कविताको भावअनुसार एकै ठाउँ बसिरहन मन लाग्दैन । अनवरत साधनारत कवि मञ्जुल पोखरामा शनिबार ७८ वसन्तसम्म भोगाइका कवितामा सुनिए । प्रेम, प्रकृति, रहनसहन, संघर्ष, गरिबी, अभावका करिब २ दर्जन कविता र गीत सुनाएर उनले पोखरेलीलाई आल्हादित पारे ।
पोखरेली युवा सांस्कृतिक परिवारले नेपालको पूर्वी भोजपुर गोगनेका कवि मञ्जुलको यसरी एकल कविता वाचनको जाँचोपाँजो मिलाएको थियो । सो अवसरका लागि सबैलाई धन्यवाद दिँदै मञ्जुलले ‘गायक गात्री’ कविताबाट दैलो उघारे ।
सो अवसरमा लिंगेपिङ, ‘हामी माथिमाथि उडिरहेको चील’, ‘परेवा र तिम्रो हात’, ‘आकाश’, ‘गाउँको गोरेटो’, गर्मी र वर्षा, सङ्खेत्रो, मृत्यु, कुपी, गुच्चा, सिद्धिचरण लगायतका झण्डै २ दर्जन कविता पाठ गरे ।
विम्ब, व्यङ्ग्य, रसिक, कला भरिएका उनका कविता समग्रमा सचेतना दिनेखालका थिए । वाचनक्रममा विभिन्न समय सन्दर्भ स्मरण गर्दै उनले फुटकर र लामा गद्य कविता वाचन गर्दा पोखरेली परर्र ताली पिट्थे । कविता वाचनको अन्त्यतिर उनी ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनीमा ..’, ‘कोही त भने जहाजमा सरर, कोहीको भने पसिना तरर..’ जस्ता कालजगी गीतमा गिटारको धूनमा पनि सुनिए । पोखरा उद्योग वाणिज्य संघ करिब १ घण्टाको बसाइँमा उनले झलकमानलाई समर्पित गर्दै ‘आमाले सोध्लिन् नि, खै छोरा भन्लिन्…’ गाउँदै एकल वाचनको बिट मारे । र, हँसिलो मुहारका उनले आभार प्रकट गर्दै भने, ‘मेरो कविता कस्तो स्नेहले सुनिदिनु भो । मैले जीवनमा कहिल्यै बिर्सन्नँ ।’
विसं २०२५–०२९ ताका मञ्जुलको जीवन गायक यात्रीको जस्तो थियो । त्यसबेला उनी गाउँगाउँ डुले । बस्तीबस्ती चहारे । गीत सुनाउने, नयाँ गीत संकलन गदैं हिंडेका उनी अरुका गीत पनि चाख मानेर सुन्थे । खासमा ‘राल्फा’ आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल कालान्तरमा साहित्यिक लेखनमै रमाए र साधनारत रहेका हुन् । ५० वर्षअघि निरकुंश पञ्चायतविरुद्ध गीत र कविताका माध्यमबाट जनजागरण ल्याउन ‘राल्फा’ समूह सक्रिय थियो । पछि यो सांस्कृतिक आन्दोलनरूपमा विकास भयो । त्यही समूहमा थिए रामेश, रायनलगायत गायक तथा संस्कृतिकर्मी पनि । जनवादी गायकका रूपमा समेत प्रसिद्ध उनका कविता, गीत, निबन्ध, उपन्यासका झन्डै एक दर्जन कृति प्रकाशित छन् ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले मञ्जुलको परिचय दिँदै ‘जागरणका गायक’ भनी चिनाए । पञ्चायतको तत्कालीन सामन्ती अवशेषविरुद्ध मञ्जुलले गीत गाउँदै जागरण छर्दै गए । कतिलाई मार्गनिर्देशन गरे । कास्की, पर्वतलगायत जिल्लामा कवि मञ्जुलसँगै घुमेका किस्सा पनि श्रेष्ठले स्मरण गरे ।
कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तलगायत साहित्यिक एवं संगीतअनुरागीको बाक्लो उपस्थिति थियो । आयोजक पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेलले मञ्जुललाई पोखरामा पाउँदा खुसी व्यक्त गर्दै सहयोगी सम्पूर्णलाई धन्यवाद दिए । संस्थाका सहसचिव शिव त्रिपाठीले एकल वाचन कार्यक्रम सञ्चालनको पर्दा उघार्दै मैजारो पनि गरे ।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१