एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?

आदर्श समाज सम्वाददाता
असाेज १३, २०८०
uml gandaki photo

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनोटको काम टुंग्याएको छ । असोज १५ र १६ गते हुने निर्वाचनका लागि पालिकाबाट प्रतिनिधि चयनको काम सकिएको हो । केही क्लष्टरमा भने अझै चयन भएको छैन । सबैभन्दा धेरै कास्कीबाट १ सय ४६ प्रतिनिधि आएका छन् । स्याङ्जाबाट १ सय १३, पर्वतबाट १ सय १०, नवलपुरबाट १ सय ९ जना चयन भएका छन् ।

यस्तै, गोरखाबाट ५३, बागलुङबाट ७२, तनहुँबाट ८२, लमजुङबाट ६५, मुस्ताङबाट १६, म्याग्दीबाट ४२ र मनाङबाट १४ जना प्रतिनिधि छनोट भएका एमाले गण्डकीका सचिव धनन्जय दवाडीले जानकारी दिए । उनका अनुसार जनसंगठनबाट ८६ जना निर्वाचित भएका छन् । हालसम्म ९ सय ७ जना प्रतिनिधिको टुंगो लागिसकेको छ । त्यसमध्ये महिला २ सय ४६ जना छन् भने युवा ५४ तथा मजदुर १६ जना छन् ।

गण्डकीको अधिवेशनमा केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी पक्षधर नेता कार्यकर्ताहरु विभक्त हुने सम्भावना देखिन्छ । दुवै समूहले आफ्ना उम्मेद्वार विजयी हुने दाबी गरेका छन् । अहिले दुवै गुटको भेला ठाउँठाउँमा बसिरहेको छ । उम्मेद्वार टुंग्याउने विषयमा छलफल भैरहेको बताइन्छ । प्रारम्भिक अवस्था हेर्दा अधिकारी भन्दा गुरुङ समूह केही बलियो देखिएको छ । यद्यपि नेताहरुको ‘मुभमेण्ट’मा भर पर्छ । दुवै समूहले आफूसँग ७० प्रतिशत भन्दा बढी प्रतिनिधि रहेको दाबी गर्छन् । अधिकारी गुटबाट मायानाथ अधिकारीको नेतृत्वमा प्यानल घोषणा हुने सम्भावना छ भने गुरुङ गुटबाट नवराज शर्माको नेतृत्वमा प्यानल बन्ने लगभग निश्चित छ । तर अधिकारी गुटबाट नेतृत्वका लागि कास्कीका कृष्ण थापाको पनि बलियो दाबी छ । उता रामशरण बस्नेतले पनि अध्यक्षमा दाबी छोडेका छैनन् ।

‘मतदान हुने अवस्था आउँदा मायानाथको सट्टा रामशरण उम्मेद्वार हुने सम्भावना छ । तर मायानाथ नै उठ्न इच्छा गरे उहाँ नै उम्मेद्वार हो,’ खगराज निकट नेताले भने, ‘सकेसम्म त सर्वसम्मत गर्न प्रयास गर्ने हो । त्यो सम्भावना टर्दै गएको छ ।’ केही समयअघिसम्म पिएस नजिक रहेकी केन्द्रीय सचिव पद्या अर्याल अहिले खगराजतिर खुलेको एमाले बृत्तमा चर्चा छ । ‘खगराज, पद्या र पिएस मिल्दा गण्डकीलाई राम्रो हुन्छ । तर ध्रुवीकरण हुँदा पिएस केन्द्रित छ,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिलेका सम्भावित उम्मेद्वार हेरेर ध्रुवीकरण भएको होइन । यस्तोमा माथिका नेताहरु नमुछिए राम्रो हुन्छ ।’ खगराज निकट स्रोत भने आफूहरुसँग ७० प्रतिशत भन्दा बढी मतदाता रहेको बताउँछ । ‘कास्कीमै लगभग ७५ प्रतिशत भोट हाम्रो पक्षमा खस्छ । अन्यत्र पनि जति कमजोर भनेर हल्ला पिटिएको छ, त्यस्तो कमजोर छैन,’ उक्त स्रोतले भन्यो, ‘केही जिल्लामा हामी राम्रो अन्तरले अगाडी छौं । केहीमा बराबर जस्तो छ ।’

गोरखा, लमजुङ, म्याग्दी र मुस्ताङमा पिएस समूह अगाडि रहेको खगराज समूह नै स्वीकार्छ । पिएस समूहले चाहिँ कास्कीमा खगराज समूह केही अगाडि रहेको स्वीकारेको छ । अन्य जिल्लामा दुवैले आफ्नो पक्ष बलियो रहेको दाबी छोडेको छैन । एकपक्षले भने केन्द्रीय सदस्यहरु तल्लो तहमा झरेर चुनाव लड्नु अवसरवाद भएको तर्क गर्छ । ‘पार्टीको साखलाई जोगाउन गलत प्रबृत्ति अन्त्य हुनुपर्छ । पार्टी निर्माणमा व्यवधान खडा गर्नु हुँदैन,’ उक्त पक्षले भन्यो, ‘केन्द्रीय सदस्यहरु प्रदेशमा उठ्नु अवसरवाद हो । अधिवेसन अघि नै यसमा गम्भीर भएर नेताहरुले सोच्नुपर्छ ।’ एमालेले १ सय ६५ सदस्यीय कमिटी गठन गर्नेछ । त्यसमा ५ जना पदाधिकारी हुन्छन् ।

खगराजकै इलाकामा भएन सर्वसम्मत
गण्डकीका ८५ पालिकामध्ये रुपा गाउँपालिकामा मात्रै मतदान मार्फत प्रतिनिधि चयन भएका छन् । अन्य सबै क्लष्टरमा सर्वसम्मत भएकोमा खुला तर्फ ५ उम्मेद्वार भएपछि मतदान मार्फत प्रतिनिधि छानिएको हो । निर्वाचनबाट चारै जना खगराज अधिकारी गुटका निर्वाचित भएका छन् । पृथ्वीसुब्बा गुरुङ गुटका मानिने पुष्प अधिकारीले जम्मा ८८ मत ल्याउँदा अधिकारी गुटका उम्मेद्वारले ३ सय ८१ मतभन्दा बढी पाए । यो पालिका खगराजको सबैभन्दा बढी पकड भएको पालिका हो । मतका हिसावले पनि त्यो देखाउँछ । तर एउटा मात्रै पदमा चुनाव हुँदा राम्रो सन्देश नगएको नेताहरु बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width