गण्डकीमा बिमाको पहुँच निकै कम

आदर्श समाज सम्वाददाता
असाेज १२, २०८०
bima (1)

पोखरा । गण्डकी प्रदेशभित्र २७.४३ प्रतिशत मानिस बिमाको पहुँचमा छन् । देशभर भने ४४.३८ प्रतिशत मानिस बिमाको पहुँचमा रहेको विमा प्राधिकरणले जनाएको छ । देशभरको तुलनामा गण्डकीमा बिमाको पहुँच कम भएकाले यसमा सुधारको जरुरी देखिएको छ । बिमा प्राधिकरणका अनुसार नेपाल र गण्डकी प्रदेशमा जीवन बिमाको स्थान बढी छ ।

कृषि तथा पशुपंक्षी बिमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको व्यवस्था रहे पनि प्रभावकारी देखिएको छैन । गण्डकीका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई नेपाल बिमा प्राधिकरणका पदाधिकारीले प्रदेशमा बिमाको अवस्था र सुधार गर्न सकिने क्षेत्रका बारेमा बिहीबार जानकारी गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिमा दाबी भुक्तानीलाई सहज बनाउन सुझाव दिए ।
मुख्यमन्त्री पाण्डेले भने ‘बिमा गराउँदा कम्पनीहरुले जति सजिलो गरी गराउनुहुन्छ दाबी भुक्तानीमा त्यति सजिलो देखिँदैन, दाबी भुक्तानी भएन भनेर सर्बसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बिमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।’

बिमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुनसक्ने तर्फ ध्यान दिन उनले सुझाव दिए । मुख्यमन्त्री पाण्डेले बिमाको बारेमा अहिले पनि सर्बसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिन आग्रह गरे । कृषि, पशु, व्यवसाय बिमालाई पनि प्राथमिकता दिन उनले बिमा प्राधिकरणसँग अनुरोध गरे ।

बिमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन र त्यसका लागि गण्डकी प्रदेश सरकारले गर्नुपर्ने सहकार्य, समन्वय गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।

नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बिमा सम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे । प्रदेशमा बिमाबारे सचेतना बढाउनका लागि सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्राधिकरणका निर्देशक पुजन ढुंगेल नेपालमा बिमाको वर्तमान अवस्थाका बारेमा प्रस्तुति राखेका थिए । उनले गण्डकी प्रदेशभित्र बिमा कम्पनीहरुका १ सय १६ कार्यालयमा ४ सय ८० जना कर्मचारी कार्यरत रहेको बताए ।

उक्त अवसरमा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिव लगायत कर्मचारी सहभागी थिए । बिमा प्राधिकरण प्रदेश कार्यालय गण्डकीका प्रमुख केशव दाहाल, बिमा सर्भेयर, बिमा कम्पनीका कर्मचारीहरु समेत सहभागी थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width