बालज्योतिमा बायोमीद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज ११, २०८०
baljyoti

पोखरा । बायोमी इन्टरनेसनल युकेले अन्नपूर्ण–३, मराउँचेस्थित बालज्योति आधारभूत विद्यालयमा बुधबार विद्यार्थीलाई झोला सहयोग गरेको छ ।

कार्यक्रममा बायोमीका नेपालस्थित प्रबन्ध निर्देशक राजेन्द्र अधिकारीले आफू जन्मेको ठाउँमा केही गरौं भन्ने मनासायका साथ झोला वितरण गरिएको बताए । उनले शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीलाई संस्थागत विद्यालय जानबाट रोक्नुपर्ने बताए ।

उनले निकट भविष्यमा विद्यालयमा ट्रयाक सुट वितरण तथा आगामी वर्षदेखि विद्यालय सर्वोकृष्ट विद्यार्थीलाई पुरस्कार दिने प्रतिबद्धतासमेत जनाए । बालविकासको पढाइलाई प्रभावकारी बनाउन संस्थाले भूमिका खेल्ने उनको भनाइ छ ।

कार्यपालिका सदस्य पार्वती पौडेलले सहयोगप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन सुझाव दिइन् ।

विद्यालय अध्यक्ष डिल्लीराम पौडेलले शैक्षिक गुणस्तर वृद्धि गर्न पहल जारी राखिएको उल्लेख गर्दै त्यसका लागि शिक्षक तालिम, गुणस्तरीय शैक्षिक सामग्रीको उपलब्धता, विभिन्न छात्रबृर्ति कोष लगायतका पक्षले पनि प्रभाव पार्ने उल्लेख गरे । उनले निजी शिक्षक, खानेपानी तथा विद्यालय खाजा व्यवस्थापन पनि चुनौतीको विषय भएको जनाउँदै अन्नपूर्णकै छायामा परेको विद्यालयमा बायोमीले सहयोग गरेकोमा खुसी व्यक्त गरे ।

प्रअ राजकुमार कुँवरले सहयोगी संस्था विद्यालय छिर्दा प्रशन्न हुने गरेको अनुभव राख्दै विगतमा नेलम्बो नेपाल तथा ढिकुरपोखरी समाज पोखराबाट पनि सहयोग प्राप्त भएको बताए ।

त्यस अवसरमा बायोमीका निर्देशक भावना थापा, प्रशासक सुरेश कासुला, शिक्षकहरु शारदा पौडेल, जानुका दाहाल र सावित्री शर्मा पौडेल, अभिभावकतर्फबाट गोपी बानियाँ, पार्वती केसी, सीता अधिकारी लगायतले धारणा राखे ।
अभिभावकले बाल विकास कक्षा व्यवस्थापनका लागि कार्पेट, चिप्लेटी, पिङ लगायत संरचना अत्यावश्यक रहेको भन्दै छोराछोरीलाई बोर्डिङ नपठाउने अभियान आफूहरु प्रतिबद्ध रहेको सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width