तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
असाेज ९, २०८०
tanahu dengue

जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजनामा मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित डेंगु नियन्त्रण सम्बन्धी सर्वपक्षीय बैठकमा सहभागीहरु । तस्बिर : कृष्ण न्यौपाने/रासस

दमौली । डेंगु संक्रमणबाट तनहुँमा यस वर्ष ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ का १३ वर्षीया बालिकाको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेंगुको संक्रमण बढ्दो अवस्थामा रहेको बताए । तनहुँमा १ हजार ६ सय बिरामीमध्ये १ हजार ३ सय ५० बिरामी व्यास नगरपालिकाकै छन् ।

दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाउने तयारी गरिएको छ । अस्पतालमा जनशक्ति कम भएको जानकारीमा आएपछि नगरपालिकाले १ डाक्टर, २ जना ल्याबका कर्मचारी र २ जनालाई इमर्जेन्सीमा परिचालन गर्न लागिएको उनले जानकारी दिए ।

शाखा प्रमुख सोतीले भने, ‘अस्पतालमा दैनिक बिरामीको संख्या बढेको र अस्पतालको जनशक्तिले धान्न नसक्ने अवस्था आएको जानकारी भएपछि नगरपालिकाबाट तत्कालका लागि ५ जना कर्मचारी खटाउन लागेका छौं ।’

नगरपालिकाले टोल–टोलमा डेंगुसम्बन्धी सचेतनासमेत सुरु गरेको छ । सोतीले डेंगु नियन्त्रण रोकथामका लागि औषधि छर्कनेदेखि स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।

तनहुँमा १ हजार ६ सय बिरामीमध्ये १ हजार ३ सय ५० बिरामी व्यास नगरपालिकाकै

गत भदौ महिनाको अन्तिम सातायता डेंगुको संक्रमण फैलिँदै गएपछि स्वास्थ्यकर्मी परिचालन गरी सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए । सोतीले भने,‘ अहिले प्रत्येक वडा–वडामा स्वास्थ्य सचेतना सञ्चालन भइरहेको छ ।’

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा डेंगुको संक्रमण बढेकाले सतर्कता अपनाउन आग्रह गरे । डेंगु संक्रमित बढेसँगै स्वास्थ्य संस्थामा शड्ढयाको अभाव भएको छ । दमौली अस्पतालमा अधिकांश बिरामी डेंगुका छन् ।

एक्कासी ३ देखि ५ दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेंगुको लक्षण हुन् । दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार डेंगुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ ।

यसैबीच व्यास नगरपालिकाले दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढेपछि स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाएको छ । नगरपालिकाले मंगलबारदेखि अस्पतालमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘अहिले डेंगुका बिरामीले अस्पतालमा दैनिक बिरामीको संख्या बढेको छ, त्यहाँको जनशक्तिले धान्न नसक्ने अवस्था आएकाले तत्कालको लागि हामीले उक्त अस्पतालमा स्वास्थ्यकर्मी खटाएका हौं ।’ नगरपालिकाले १ डाक्टर, २ ल्याब कर्मचारी र २ जनालाई इमर्जेन्सीमा परिचालन गरेको उनले बताए ।

नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीलाई डेंगु सम्बन्धी सचेतना सुरु गरेको छ । पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्र पारेको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले डेंगु नियन्त्रण रोकथामका लागि विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानि गर्ने भएपछि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमलाई जोड दिएको बताए । उनले भने, ‘विभिन्न विषादी छर्कदा मानव स्वास्थ्यलाई हानी हुने देखियो, त्यसैले हामीले सचेतनामूलक कार्यक्रमलाई जोड दिएका छौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width