वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार

आदर्श समाज सम्वाददाता
असाेज ८, २०८०
durgabaral_20220812004612_AVHgNMe9sC
पोखरा । पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुले प्राप्त गरेको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय गरेबमोजिम वि.सं. २०७९ को मनुलाई दिने निर्णय भएको हो   । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
प्राप्त १ सय ८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण(विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण(सङ्क्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो ।
यसैगरी पद्मश्री साधना सम्मान बीसको दशकदेखि चित्रकला र कार्टुनकलाका क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन) लाई अर्पण गर्ने निर्णय  भएको छ । उनले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिएका छन् ।  नेपाली चित्रकलामा पनि उनको योगदान विशिष्ट रहेको छ ।
गत वर्षबाट सुरु गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाको क्षेत्रमा विशेष योगदान दिने शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ ।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ ।
तीन ओटै सम्मान तथा पुरस्कार प्रत्येक वर्षझैँ कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए  ।
वि.स. २०६३ देखि खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नुहुने विशिष्ट साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।
गत वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिनुहुने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार द्वारा सम्मान गर्ने भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width