काम गर्न खोज्छु, विरोध मात्रै हुन्छ : मेयर आचार्य

आदर्श समाज सम्वाददाता
असाेज ७, २०८०
pcci (1)

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ६९ औं वार्षिक अधिवेशन शनिबार पोखरा पोखरामा भएको छ । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय विरोधको नाममा विरोध गर्ने प्रवृत्ति बढेको गुनासो गरेका छन् । महानगरले केही रणनीतिक महत्वका परियोजनाहरु सुरु गरे पनि केही व्यक्ति र समूहले कुरै नबुझी विरोध गरेको जिकिर पनि गरे । प्रमुख आचार्यले वर्तमान समयमा निजी क्षेत्र विभिन्न कारणले आक्रान्त रहेको स्वीकार्दै सहर चलायमान नहुँदा सबै तहका सरकार पनि चलायमान नभएको बताए ।

नेपाल उद्योग वाणिज्य संघ तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जोखिम मोलेर व्यवसायमा होमिएका उद्योगी/व्यवसायीहरुलाई राज्यले उचित संरक्षण गर्न नसकेको र यसमा निजी क्षेत्रसमेत दोषी भएको बताए ।

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य तथा कृषि उद्यम समिति संयोजक डिबी बस्नेतले राज्यले उत्पादकत्व बढाउने खालका योजना अगाडि नसारेको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई केन्द्रमा राखेर सरकारले नीति तथा कार्यक्रम तय गर्नुपर्ने बताए । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले निजी क्षेत्र अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेको र समस्या समाधानको लागि छाता संस्थाले उदासिनता देखाएको आरोप लगाए ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले राज्य भन्सारबाट उठ्ने विभिन्न खालको कर उठाउनमात्र उद्यत रहेको आरोप लगाए । कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चिता, व्यवस्थित सहरीकरण र पूर्वाधार निर्माण, पोखराको अन्तर्राष्ट्रिय प्रचार, औद्योगिक क्षेत्रको स्थापना, कोरोला–त्रिवेणी तथा मध्यपहाडी राजमार्गबाट समुचित लाभ लिने अवस्थाको सिर्जना हुनुपर्ने बताए ।

‘कोभिड १९ पछि ओरालो लागेको पोखराको पर्यटन उद्योगले अझै गति लिन सकेको छैन । मुख्य पर्यटकीय सिजनमा पनि पोखरा सुनसानजस्तै छ । यसले हामीलाई निराश बनाएको छ,’ उनले थपे ।

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले व्यवसायीहरुको धैर्य गुमाउने अवस्था सिर्जना भएको बताउँदै सरकारले सडकमा ल्याउन बाध्य नपारोस् भने । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराको सञ्चार क्षेत्र निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको र निजी क्षेत्रका समस्याहरु मुखरित गरिरहेको बताइन् ।

पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष यमनाथ पौडेलले व्यवसाय मैत्री वातावरण निर्माण नहुँदा मुख्य सहरी क्षेत्रमै सटरहरु खाली हुने अवस्था सिर्जना भएको बताए । पोउवा संघका महासचिव बलराम आचार्यले पोखराको समग्र आर्थिक र सामाजिक विकासमा निजी क्षेत्रको भूमिकाबारे चर्चा गरे ।

संघको ६९ औं वार्षिक अधिवेशनले महासचिव बलराम आचार्य र कोषाध्यक्ष दीनेशचन्द्र बास्तोलको वार्षिक प्रतिवेदन पारित गरेको छ । यस्तै पोउवा संघ र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीबीच संघका सदस्यहरुलाई सो कम्पनीको बसमा यात्रा गर्दा १५ प्रतिशत भाडा छुट शनिबारबाटै कार्यान्वनयमा आएको घोषणा पनि गरिएको छ । पृथ्वीले हाल पोखराबाट देशका ६५ जिल्लामा बस सेवा सञ्चालन गरिरहेको छ ।

यसैबीच, पोखरा उद्योग वाणिज्य संघले हरेक २ वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ उत्कृष्ट वस्तुगत संघ सम्मान २०८० बाट थोक बिक्रेता व्यवसायी संघ, कास्की सम्मानित भएको छ । पोखराका मेयर धनराज आचार्यले थोक व्यवसायी संघ कास्कीका अध्यक्ष टीकाराम सुवेदीलाई सम्मान गरे । संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचन संयोजक तथा संघका पूर्वउपाध्यक्ष मीनराज काफ्ले र ईश्वर कर्माचार्य, पूर्वउपमहासचिव प्रकाशदेव पालिखे र साधारण सदस्य पुरुषोत्तम श्रेष्ठ रहेको छनोट समितिको सिफारिसमा सम्मान प्रदान गरिएको हो ।

पत्रकार मिश्र पुरस्कृत

पोखरा उद्योेग वाणिज्य संघले हरेक दुई वर्षमा प्रदान गर्दै आइरहेको पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार २०८० बाट पत्रकार वाशुदेव मिश्र पुरस्कृत भएका छन् । पोखरालाई कर्मक्षेत्र बनाइ विगत २४ वर्षदेखि निरन्तर कार्यरत मिश्रलाई संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठ संयोजक रहेको छनोट समितिले आर्थिक पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरेको थियो । छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका वर्तमान अध्यक्ष विमला भण्डारी, पूर्वअध्यक्ष पुण्य पौडेल, पोउवा संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य र कार्यसमिति सदस्य माधव बस्ताकोटी सदस्य थिए । पुरस्कारमा सम्मानपत्रसहित नगद २५ हजार रुपैयाँ पनि समावेश छ । सो पुरस्कारबाट यसअघि पत्रकार भरत कोइराला, सन्तोष पोखरेल, रुपनारायण ढकाल र लालप्रसाद शर्मा सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post