पोखरा । फिर्के खोला अध्ययन टोलीले अन्तिम प्रतिवेदन पोखरा महानगर पालिकालाई बुझाएको छ । शनिबार टोलीका संयोजक वासुदेव पौडेलले मेयर धनराज आचार्यलाई प्रतिवेदन हस्तान्तरण गरे ।
अध्ययन टोलीको प्रतिवेदनअनुसार फिर्केको खोलाघरमा १ सय ६० संरचना निर्माण भएको छ । त्यसमध्ये १ सय ७ वटा अस्थायी छन् भने ५३ वटा स्थायी छन् । फिर्के मिच्नेमा व्यक्ति मात्रै नभएर सरकार र विभिन्न संघ संस्था समेत छन् । १ सय ३२ वटा संरचना व्यक्तिगत र बाँकी संरचना संस्थागत र सरकारी रहेको प्रतिवेदनमा उल्लेख छ । सशस्त्र प्रहरी बलको तालिम केन्द्रको दुईवटा भवन फिर्केको खोलाघरमा निर्माण भएको छ । कुवँर समाज घरका दुईवटा भवन पनि खोलाघरमै पर्छन् । बराल समाज घर, सोंपाल समाज घर र भयरथान महिला समूहको भवन फिर्के खोला बग्ने ठाउँबाटै पिलर ठड्याएर निर्माण गरिएको छ ।
‘कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । राधाकृष्ण मन्दिर र अँधेरीकुनाको सामुदायिक भवन पनि फिर्केमै बनेको छ । लिटिल स्टेप बोर्डिङ स्कूलका दुईवटा भवन, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घरको अर्को भवन, गिरी समाज घर, सोंपाल समाज घर, बगालेटोलको किरियापुत्री भवन, पोखरा फोटो ग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन र पुन मगर समाजले फिर्केमाथि पक्की भवन बनाएका छन् । अर्को किरियापुत्री भवन, बराल कल्याण मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लव भवन, इलेक्ट्रिक एसोसियसन र फिर्के तमु समाजको भवन पक्की बनेको छ ।
सरोकारवालासँगको छलफलपछि एउटा निर्णय लिन्छौं–
धनराज आचार्य
मेयर
अतिक्रमण र प्रदुषणका कारण खोलाको स्वतन्त्र वहावमा अवरोध सिर्जना भएको र अहिले पनि खोला किनारको सार्वजनिक जग्गाहरु अतिक्रमणको क्रम नरोकिएको प्रतिवेदनले जनाएको छ । ‘पाकापुस्ताको अनुभवमा केही वर्षअघिसम्म वरपरका नागरिकले फिर्केकै पानीले मही मोथेर नौनी निकाल्ने गरेका रहेछन् । नुहाउने, पौडी खेल्ने र वस्तुभाउलाई खुवाउन फिर्केको पानी पर्याप्त रहेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘अहिले जताततै फोहोर छ । कतिपय ठाउँमा खोला खोज्नै मुस्किल छ ।’ २ दशकअघिसम्म फिर्केको पानी पिउन योग्य रहेपनि तीब्र सहरीकरणसँगै फिर्के प्रदुषित र अतिक्रमित भएको रिपोर्टमा उल्लेख छ । २ महिना लगाएर टोलीले फिर्केको अध्ययन गरेको थियो । ८ किलोमिटर लामो फिर्के खोला पोखराका ८ वटा वडा छिचोलेर बग्छ ।
अध्ययन टोलीले फिर्केको पश्चिमतिर ३ सय ३ र पूर्वतिर २ सय ८५ गरी ५ सय ८८ वटा सीमा स्तम्भ गाडिदिएको छ । अँधेरी कुनाबाट पोखराको मध्यभाग भएर बग्ने फिर्के फेवातालमा मिसिन्छ । २०३२ सालको नापीलाई आधार मानेर गरिएको अध्ययन अनुसार यो खोला ४ मिटरदेखि ९ मिटरसम्म गहिरो छ भने ३.३ मिटरदेखि ४० मिटरसम्म फराकीलो छ । तर अहिले कतिपय ठाउँमा खोलाको अस्तित्व समेत भेटिँदैन । अध्ययन टोलीले फिर्के बचाउन तत्कालै भौतिक संरचना निर्माणको काम रोक्न महानगरलाई सुझाएको छ । फिर्केमा पार्कसँगै पहुँच मार्ग, चेकड्याम, पैदल तथा साइकल ट्रयाक निर्माण गर्न सकिने सुझाव दिइएको छ ।
अध्ययन टोलीले प्रतिवेदन बुझाएसँगै अतिक्रमित संरचना हटाउने र सौन्दर्यीकरणको काम गर्ने मेयर धनराज आचार्यले बताए । ‘प्रतिवेदनले खोलाघर माथिको अवस्था देखाइदिएको छ । अब प्रतिवेदन कार्यान्वयन गर्नुछ,’ उनले भने, ‘सरोकारवालासँगको छलफलपछि एउटा निर्णय लिन्छौं । प्रतिवेदनले भत्काउनुपर्छ भनेका संरचना भत्किन्छन् ।’ फिर्केको मापदण्ड १० मिटर छ । तर १० मिटर कार्यान्वयनमा चुनौती देखेपछि महानगरले उक्त मापदण्डलाई ५ मिटरमा झार्ने तयारी गरेको छ । २०७५ पुस ६ गतेको कार्यपालिका बैठकले फिर्केको मापदण्ड १० मिटर कायम गरेको थियो । मेयर आचार्यले फिर्के कोरिडोर विकास कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । महानगरका अनुसार एसियाली विकास बैंकले पोखरामा दीगो पर्यटनका लागि विभिन्न परियोजना सञ्चालन गर्दैछ । उक्त परियोजनामा फिर्केलाई समेत समावेश गरिने महानगरले जनाएको छ । एडिबीले दीगो पर्यटनका लागि ७ अर्ब लगानी गर्दैछ ।
Related News
सम्बन्धित समाचार
‘रमाउन नसक्नेले राजनीति नगर्नू’
बागलुङ उवा संघको टोलीलाई स्वागत
ढाकाकुमार पक्राउ
नारी उत्थान पुरस्कार विनालाई
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस एवं १६ औं साधारणसभा
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१