जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८०
bp

पोखरा । बिपी कोइराला २००७ सालको क्रान्ति र जनतन्त्रको एक्लो वारेस बनेर आजीवन हिँडे । लोकतन्त्रमा व्यक्तिभन्दा ठूलो लोक हो । तर प्रेरणाका लागि, आशाका लागि लोकले हेर्ने, पिछा गर्ने चिज जरुरी हुन्छ । बिपी नेपाली लोकतन्त्रको हकमा त्यस्तै ओजस्वी चिज बने । नेपाली मात्रलाई लोकतन्त्रको पाठ पठाउँदै उनको जीवन व्यतित भयो । बिपी नेपाली कांग्रेसमात्र होइन, नेपालका सबै राजनीतिक दलले उत्तिकै सम्मान र आदर गर्ने नेतामा दरिएका छन्, त्यसको कारण हो उनको विचार ।

हुन त बिपी नेपाली राजनीति मात्र होइन साहित्यमा समेत सर्वाधिक खोजिएका र पढिएका व्यक्ति हुन् । उनका बारेमा कति पढ्यो भने पूर्ण भइन्छ भन्ने नै छैन । बिपी अहिले हामीमाझ नभए पनि पढ्नका लागि हामीलाई प्रशस्त खुराक दिएर गएका छन् । साहित्यिक पुस्तकहरू त छन् नै । उनले जेल जीवनका क्रममा लेखेका दैनिकीहरू केबल दैनिकी मात्र थिएनन् । उनले आफ्ना निजी विषयमा मात्र होइन, दैनिकीमा त्यतिबेलामा सामाजिक, राजनीतिक र साहित्यिक अवस्थाको चित्रण भेटिन्छ । अनि स्वदेश र विदेशको राजनीतिक भविष्य प्रक्षेपणसमेत गरेको पाइन्छ । अनि ती प्रक्षेपण सही सावितसमेत भएका छन् ।

शिखा बुक्सले बिपीको जेल डायरीको नयाँ अंक प्रकाशन गरेको छ । जसमा सन् १९६२ देखि १९६८ सम्मको विवरण छ । त्यही जेल डायरीबारे शनिबार पोखरामा परिचर्चा गरिएको छ । परिचर्चामा सहभागी थिए : पुस्तकका सम्पादक शंकर तिवारी र युवा अध्येता त्रिवेणी । त्रिवेणी विज्ञानका विद्यार्थी हुन् । उनी पढ्न औधी रुचाउँछन् । पूर्वीय र पाश्चात्य दर्शनका कृतिहरू उनले पढेका छन् । बिपीका साहित्यक कृति उनले पढेकै थिए । त्यतिबेलासम्म बिपी उनलाई सामान्य नै लागेको थियो । जब उनले बिपीको जेल डायरी पढे, बिपीप्रतिको बुझाइ नै बदलियो । त्यतिबेलाको बन्द समाज, अनि जेल जीवनमा पनि बिपीको पढाइप्रतिको लगाव र उनको कल्पनाशीलताबाट त्रिवेणी बेस्सरी प्रभावित भएछन् । अनि उनलाई लाग्यो, यो पुस्तक र बिपीको अध्ययनशैलीका बारेमा परिचर्चा गर्नैपर्छ । पुस्तकका सम्पादक शंकरलाई पोखरा डाके । कार्यक्रमको चाँजोपाँजो मिलायो रिडर्स कर्नरले ।

कार्यक्रमको सुरुमै लेखक एवं विश्लेषक गनेस पौडेलले बिपीको अध्ययन खुबीका बारेमा चर्चा गरे । तर बिपीलाई महामानव भनिएको प्रति भने उनले असन्तुष्टि जनाए ।

त्रिवेणीले प्रश्नको पोको फुकाए । त्यसो त उनका प्रश्नमा भूमिका बढी बाँधिएको हुन्थ्यो । बिपीको पढाइप्रतिको लगाव अनि उनले डायरीमा उल्लेख गरेका विषयवस्तुले जेल जीवन कष्ठपूर्ण नभएको अनुभूति भएको उनको ठम्याइ थियो । उनले सोधे, ‘के त्यतिबेलाको जेल जीवन कष्ठपूर्ण थिएन ? शंकरको उत्तर थियो, ‘जेल लक्जरी पक्कै हुँदैन, त्यसलाई आफू अनुकूल बनाउने हो, पढाइप्रति बिपीको व्यसन भयानक थियो ।’

पश्चिमा दर्शनबाट बिपी बढी नै प्रभावित हुँदा पूर्वीय दर्शनतिर ध्यान पुग्न नसकेको प्रसंगलाई सम्पादक तिवारीले इन्कार नै गरे । बिपीका हरेकजसो विचारहरू गीतामा आएर ठोक्किने गरेको उनको तर्क थियो । फ्रायडलाई गुरु मानेका बिपी महिला अधिकारप्रति बढी नै संवेदनशील देखिनुलाई त्रिवेणीले विरोधाभाष भने । यसलाई पनि शंकरले मानवगत स्वभाव भने ।

साम्यवादलाई अधिनायकवादका रुपमा व्याख्या गर्ने विपीले नेपालमा उन्नत प्रजातन्त्रको कल्पना गरेका थिए । त्यहीअनुसारको जग पनि बसाउन खोजेका थिए । बिपीपछि उनका सच्चा अनुयायी किन भेटिएनन् ? त्रिवेणीको प्रश्नमा शंकरले बुद्धपछि अर्का बुद्ध किन जन्मेनन् होला भनी प्रश्न गरेजस्तो भनेर ठट्टा गरे । २०७३ पछिको प्रदीप गिरीलाई उनले बिपीलाई बुझ्ने व्यक्तिका रुपमा चित्रण गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post